शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

फाइनल प्रिभ्यू : अस्ट्रेलिया र न्युजिल्याण्डमा कसको पल्ला भारी ?

शनिबार, २७ कात्तिक २०७८, १४ : २९
शनिबार, २७ कात्तिक २०७८

टी–२० विश्वकपको फाइनलमा अस्ट्रेलिया र न्युजिल्याण्डबीच भिडन्त हुँदैछ । आइतबार साँझ नेपाली समयअनुसार ७ बजेर ४५ बजे दुबईको अन्तर्राष्ट्रिय रंगशालामा खेल सुरु हुनेछ । दुवै टोली पहिलोपटक यो उपाधि जित्ने दाउमा रहेका छन् । न्युजिल्याण्ड पहिलोपटक प्रतियोगिताको फाइनलमा पुगेको हो भने अस्ट्रेलिया दोस्रोपटक उपाधिका लागि प्रतिस्पर्धा गर्दैछ । सन् २०१० मा भएको विश्वकपमा अस्ट्रेलिया इंग्ल्याण्डसँग ७ विकेटले पराजित हुँदै उपाधि चुम्नबाट चुकेको थियो ।

फाइनलसम्मको यात्रा

अस्ट्रेलिया सुपर १२ मा समूह एकबाट दोस्रो हुँदै सेमिफाइनलमा प्रवेश गरेको थियो । ‘ग्रुप अफ डेथ’ मानिएको यो समूहमा अस्ट्रेलिया इंग्ल्याण्डसँग मात्र पराजित भएको थियो भने बाँकी चार खेलमा जीत हासिल गरेको थियो । त्यसपछि सेमिफाइनलमा यस प्रतियोगिताको प्रबल दाबेदार मानिएको समूह बीको विजेता पाकिस्तानलाई पाँच विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाउन सफल भएको हो । १७६ रन सफलतापूर्वक पछ्याउन म्याथ्यु वेडले १७ बलमा ४१ रनको विस्फोटक पारी खेलेका थिए ।

उता, न्युजिल्याण्ड पनि समूह दुईको उपविजेता बन्दै सेमिफाइनलसम्म पुगेको थियो । प्रतियोगिताको शुरुवातमा नै पाकिस्तानसँग पराजित भएको न्युजिल्याण्डले त्यसपछि भने भारत, स्कटल्याण्ड, नामिबिया र अफगानिस्तानलाई हरायो । सेमिफाइनलमा न्युजिल्याण्डले समूह एकको विजेता इंग्ल्याण्डलाई पाखा लगायो ।

प्लेयर टु वाच

फाइनलसम्म पुग्नमा अस्ट्रेलिया र न्युजिल्याण्डका मध्यक्रममा ब्याट्सम्यानको विस्फोटक ब्याटिङले ठूलो भूमिका खेलेको छ । पाकिस्तानविरुद्धको सेमिफाइनलमा वेडसँगै मार्कस स्टोइनिस नायक बनेका थिए । डेविड वार्नर पनि पछिल्लो समय निकै फर्ममा देखिएका छन् । प्रतियोगितामा सबैभन्दा धेरै रन बनाउनेमा उनी चौथो स्थानमा रहेका छन् । हालसम्म उनले २ सय ३६ रन बनाइसकेका छन् । 

उता बलिङमा अस्ट्रेलियाका लागि एडम जाम्पाले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । १२ विकेटसहित उनी प्रतियोगितामा सर्वाधिक विकेट लिने दोस्रो खेलाडी हुन् । सेमिफाइनलमा पनि उनले १ विकेट लिँदै मात्र २२ रन खर्चेर पाकिस्तानलाई १८० भन्दा कम स्कोरमा रोक्न महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

उता, न्युजिल्याण्डका लागि टप अर्डरमा रहेका मार्टिक गुप्टिल र डेरल मिचेल उत्कृष्ट लयमा छन् । मिचेलले १९७ तथा गुप्टिलले १८० रन बनाएका छन् । जिमी निसमले पनि उत्कृष्ट ब्याटिङ गरिरहेका छन् ।

हेड टु हेड

दुई टोलीबीचको खेलमा न्युजिल्याण्डमाथि अस्ट्रेलिया हाबी देखिन्छ । दुई टोलीबीच भएका १४ टी–२० खेलमा अस्ट्रेलियाले ९ तथा न्युजिल्याण्डले ५ खेल जितेको छ । विश्वकपमा भने न्युजिल्याण्डले अस्ट्रेलियलाई हराएको छ ।

अंकमा फाइनल

२५ – १० हजार रन पूरा गर्ने दोस्रो अस्ट्रेलियन र विश्वकै छैटौँ खेलाडी बन्न एरोन फिन्चलाई थप २५ रन आवश्यक रहेको छ ।

७ – फिन्चपछि टी–२० मा १ सय छक्का हिर्काउने दोस्रो खेलाडी बन्न ग्लेन म्याक्सवेललाई ७ छक्का चाहिएको छ  ।

४ – डेभिन वार्नरलाई पनि फिन्चपछि टी–२० मा १ सय छक्का हिर्काउने दोस्रो खेलाडी बन्न ४ छक्का चाहिएको छ  ।

१ – मिचेल सान्टनरलाई टी–२० मा ५० छक्का पुरा गर्न मात्र १ छक्का चाहिएको छ ।

१ – डेभिड वार्नरलाई १५० क्याच पुरा गर्न मात्र एक क्याच आवश्यक रहेको छ ।

४९ – मार्टिक गुप्टिललाई ब्रेन्डन म्याकलमको टी–२० विश्वमा सबैभन्दा धेरै रन बनाएको ६ सय ३७ रनको कीर्तिमानलाई उछिन्न ४९ रन थप चाहिएको छ ।

एजेन्सीको सहयोगमा 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप