शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले दक्षिणपन्थी गुटले कब्जा गरेपछि विद्रोह : झलनाथ खनाल

शनिबार, २७ कात्तिक २०७८, १३ : ३१
शनिबार, २७ कात्तिक २०७८

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले नेकपा एमाले दक्षिणपन्थी गुटले कब्जा गरेकाले विद्रोह गरेर नयाँ पार्टी गठटन गर्नुपरेको बताएका छन् । 

शनिबारबाट सुरु भएको सो पार्टीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै नेता खनालले एमालेको नेतृत्व दक्षिणपन्थी गुटले कब्जा गरेको, गुटवादी क्रियाकलाप सञ्चालन गरेको र  पार्टीमा वैचारिक सैद्धान्तिक विचलन भएकाले आफूहरूले विद्रोह गर्नुपरेको बताएका हुन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले समाजवादी क्रान्तिको रूपान्तरणलाई समेत अस्वीकार गरेकाले विद्रोह अनिवार्य भएको दाबी गरे । 

‘दुई तिहाइको बहुमत पटक पटक लत्याएको हुनाले, एकीकृत भैसकेको पार्टीलाई उत्प्रेषणको आदेशबाट फुटाउन लगाएकाले । नेपाली क्रान्तिलाई नयाँ चरणमा नयाँ ढंगले पुनर्गठन गरेर आन्दोलनलाई शक्तिशाली बनाउनुपर्ने धारणा राख्दै खनालले ओली नेतृत्वको नेकपा एमाले दक्षिणपन्थी अवसरवादमा फसेको बताए । 

विद्रोह गर्नुपर्ने कारणहरूको व्याख्या गर्दै नेता खनालले यथास्थितिवादका विरुद्ध लड्न, नयाँ सिर्जना,खोज, अग्रगति र क्रान्तिकारी परिवर्तनका लागि नयाँ प्रणाली र पद्धतिको विकासका लागि हुने बताए । ‘यो औचित्यपूर्ण विद्रोह हो । दक्षिणपन्थी अवसरवाद, गुटवादकाविरुद्ध न्यायपूर्ण नेपाली क्रान्तिको आवश्यकता अनुसारको विद्रोह हो’, नेता खनालको भनाइ छ । उनले कहिलेकाहीँ आफैले बनाएका संगठनका विरुद्ध विद्रोह गर्नुपर्ने अवस्था अहिले मात्रै नभई मार्क्स र लेनिनका पालादेखि नै हुँदै आएको बताए । 

ओली नेतृत्वको एमालेमा कम्युनिस्ट चरित्र नै नभएको भन्दै कम्युनिस्ट समूह हुन आधारभूत कुरा हुनुपर्ने बताए । ‘पहिलो मार्क्सवाद लेनिनवाद मान्ने, दलाल पुँजीवाद र साम्राज्यवादविरुद्ध संघर्ष गर्ने, वैज्ञानिक समाजवादका लागि दृढतापूर्वक पालना गर्ने समूहहरूलाई कम्युनिस्ट समूह मान्नुपर्ने हुन्छ’, खनालको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप