बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जनगणनाको कामलाई सफलतापूर्वक सम्पन्न गराउन सभामुखको आग्रह

शनिबार, २७ कात्तिक २०७८, १२ : ५१
शनिबार, २७ कात्तिक २०७८

सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रिय आवश्यकतालाई परिपूर्ति हुनेगरी जनगणनाको कामलाई सफलतापूर्वक सम्पन्न गराउन सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन् । सभामुख सापकोटाले जनगणना मुलुकको सुशासन, समृद्धि र विकास निर्माणका लागि धेरै महत्वपूर्ण विषय भएको उल्लेख गर्दै त्यसलाई राष्ट्रिय आवश्यक्ता परिपूर्ति हुनेगरी सफलतापूर्वक सम्पन्न गराउन सबैले आ–आफ्नो ठाउँबाट संकल्प गर्नुपर्ने आवश्यक्ता समेत औंल्याए ।

शनिबार (आज) केन्द्रिय तथ्याङ्क विभागका पदाधिकारीसँग आफ्नो र परिवारको विवरण संकलन गराउँदै उनले सही तथ्याङ्क संकलनका लागि उच्च सतर्कताका साथ काम गर्न पनि सबै गणकहरुलाई अनुरोध गरे । सभामुख सापकोटाले जनगणनाको कामलाई सफल बनाउने आफूले आफ्ना ठाउँबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

उनले भने, ‘मैले भनिहाले– यो हाम्रो नेपाल राष्ट्रको यति जनसंख्या छ भनेर निकाल्ने कुरा मात्रै होइन । मैले अघि नै भने यो–सुशासनको लागि, समृद्धिका लागि, विकास निर्माणको लागि, हरेक कुराहरूका लागिचाहीं धेरै महत्वपूर्ण छ । त्यसकारण हामी सबैले संकल्प गरौं–यो सुरु भएको गणनालाई सफलतापूर्वक राष्ट्रको आवश्यकता परिपूर्ति गर्नेगरी यसलाई सफल पार्नका लागि लागौं । र म पनि आफ्नो तर्फबाट सघाउने प्रतिवद्धता व्यक्त गर्दछु ।’

राष्ट्रपति विद्या भण्डारीले गत कात्तिक २५ गतेदेखि सुरु गर्नुभएको ‘राष्ट्रिय जनगणना २०७८’ मंसिर ९ गते सम्पन्न हुनेछ । ‘मेरो गणना ः मेरो सहभागिता’ भन्ने मूल नाराका साथ सुरु भएको जनगणनाका लागि देशभर ४० हजार गणक र ८ हजार ५ सय सुपरीवेक्षक परिचालन गरिएको छ । सभामुख सापकोटाले त्यसलाई सफलतापूर्वक सम्पन्न गराउन गणकहरुको परिचालनमा उचित ध्यान दिन पनि केन्द्रिय तथ्याङ्क विभागका पदाधिकारीहरूलाई सचेत गराए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप