ad
x
साहित्य वार्ता

‘भारत सरकारले सम्मानयोग्य व्यक्ति छनोट गरेको छ’

लीलबहादुर क्षेत्रीले पाएको पद्मश्री सम्मान सबै नेपालीभाषीको गौरवको विषय हो– डा. दुर्गाबहादुर घर्ती

person explore access_timeकात्तिक २७, २०७८ chat_bubble_outline0
तस्विर : कृष्ण खड्का

नेपाली भाषाका साहित्यकार एवं चर्चित ‘बसाइँ’ उपन्यासका लेखक लीलबहादुर क्षेत्री यसैसाता भारतको पद्म–श्री पुरस्कारबाट सम्मानित भए । क्षेत्रीलाई गत सोमबार भारतका राष्ट्रपति रामनाथ कोविन्दले नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा आयोजना गरिएको कार्यक्रममा उक्त सम्मान प्रदान गरे ।


पद्म–श्री पुरस्कार भारतको चौथो सर्वोच्च सम्मान हो । लीलबहादुरले पाएको यस सम्मानबाट भारतमा रहेका नेपाली भाषीलाई मात्र नभई विश्वमा छरिएर रहेका सम्पूर्ण नेपाली भाषीले गर्व महसुस गरेका छन् । लीलबहादुर क्षेत्री नेपाली भाषी साहित्यकार भएता पनि उनी भारतीय नागरिक हुन् । उनी भारतको आसाम राज्य अन्तरगत गुवाहटीमा जन्मेका र त्यहीँ रहेर नेपाली साहित्यको साधनामा लागेका सर्जक हुन् ।  



आखिर नेपाली साहित्यमा लीलबहादुर थापाको योगदान के–कस्तो रहेको छ ? भारतमा उनले पाएको यो सम्मानलाई हामीले कसरी हेर्ने ? यिनै विषयमा त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभागका सहप्राध्यापक डा. दुर्गाबहादुर घर्तीसँग रातोपाटीले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ– 



लीलबहादुर क्षेत्री भारतको प्रतिष्ठित पद्मश्री सम्मानबाट सम्मानित भएका छन्, नेपाली भाषा साहित्यमा उल्लेखनीय योगदान गरेबापत सम्मान गरिएको भनिएको छ । यसलाई नेपाली साहित्यिक क्षेत्रले कसरी लिएको छ ?



पुरस्कार, सम्मान, मानपदवी पाउनु आफैमा खुसीको कुरा हो । त्यसबाट सन्तुष्टि, हौसला र प्रेरणा मिल्दछ । त्यो कुरा स्रष्टामा मात्र नभएर भावकमा पनि लागु हुन्छ । भावक भनेको पाठक, श्रोता वा दर्शक हुन् । लीलबहादुर क्षेत्रीलाई यस वर्ष भारत सरकारले नागरिकलाई प्रदान गर्ने चौथो उच्च सम्मान पद्मश्री पुरस्कारद्वारा सम्मानित गरेको छ । नेपाली भाषाका लागि सङ्घर्षरत भारतीय नेपालीले यस प्रकारको सम्मान पाउनु नेपाली साहित्यिक क्षेत्रमा लागेकालाई मात्र नभएर सबै नेपालीभाषीहरूका लागि खुसी र गौरवको विषय हो । भारत सरकारले सम्मानयोग्य व्यक्तिको नै छनोट गरेको छ । यसअघि क्षेत्री भारतीय साहित्यलाई प्रदान गरिने सर्वोच्च पुरस्कार साहित्य अकादमी पुरस्कार र नेपालको मदन पुरस्कार गुठीबाट प्रदान गरिने जगदम्बाश्री पुरस्कार जस्ता पुरस्कारबाट सम्मानित भइसकेका छन् ।  



लीलबहादुर क्षेत्रीलाई चर्चित बनाउने विधा उपन्यास हो । उनको ‘बसाइँ’ लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’ पछि धेरै पटक प्रकाशित हुने कृतिमा पर्दछ । यो धेरै वर्ष त्रिभुवन विश्वविद्यालय र उच्च माध्यमिक शिक्षा परिषद्को पाठ्यक्रममा रहेको थियो । त्यसैगरी उनको ‘अतृप्त’ उपन्यास पनि चर्चित रहेको छ ।



लीलबहादुर क्षेत्रीले यो पुरस्कार पाउनमा कुन पक्षको विशेष योगदान देख्नुहुन्छ ?



लीलबहादुर क्षेत्रीलाई शिक्षा र साहित्य विधामा पद्मश्री पुरस्कार प्रदान गरिएको हो । उनको आजीविकाको क्षेत्र अध्यापन र रुचिको क्षेत्र साहित्य लेखन हो । उनले शिक्षा क्षेत्रमा लामो समय सेवा गरेका छन् । उनलाई प्रसिद्धि दिलाउने काम भने साहित्यले गरेको हो । अहिले उनका कृति अन्य भाषामा समेत अनुवाद भएका छन् । उनको ‘बसाइँ’ उपन्यास लन्डन विश्वविद्यालयको प्रोफेसर माइकल हटले अनुवाद गरी कोलम्बिया युनिभर्सिटी प्रेस, न्युयोर्कबाट प्रकाशित गरेका छन् । त्यसका साथै त्यस उपन्यासको अनुवाद असमिया, हिन्दी, चिनियाँ, थारू भाषामा पनि भएको छ । त्यसले क्षेत्रीलाई अन्तर्राष्ट्रिय लेखकका रूपमा उभ्याएको छ । त्यसैले उनले यो पुरस्कार पाउनुमा साहित्य लेखनको नै मुख्य भूमिका रहेको देखिन्छ ।  

लीलबहादुरको साहित्यिक पृष्ठभूमि, उनका चर्चित कृतिबारे केही बताइदिनुस् न 

लीलबहादुर क्षेत्री सन् १९३३ मार्च १ मा भारतको आसामको गुवाहटीमा जन्मेका र त्यहीँ नै रहेर नेपाली साहित्यको साधनामा लागेका व्यक्ति हुन् । घरको वातावरणमा जान्नसुन्न पाएका संस्कृत मूलका साहित्य नै उनको साहित्यतर्फ अभिरुचि जगाउने प्रेरक तŒव हो । नेपाली, बङ्गाली, हिन्दी र अङ्ग्रेजी साहित्यको अध्ययन उनले गरेका छन् । अर्थशास्त्रमा स्नातकोत्तर र त्यसै विषयका प्राध्यापक भए पनि उनले नेपाली साहित्य सिर्जनामा नै योगदान दिएका छन् । आठ कक्षामा पढ्दा सन् १९४९ जनवरी १ मा ‘शिवस्तुति’ शीर्षकको कविता प्रकाशित गरेर साहित्ययात्राको औपचारिक यात्रा आरम्भ गरेका क्षेत्रीले विभिन्न विधामा कलम चलाएका छन् । उनका ‘बसाइँ’ (२०१४), ‘अतृप्त’ (२०२६), ‘ब्रह्मपुत्रको छेउछाउ’ (२०४३) र ‘प्रतिध्वनिहरू–विस्मृतिका’ (२०६१ उपन्यास; ‘तीन दशक बीस अभिव्यक्ति’ (सन् १९८३) र ‘लीलबहादुर क्षेत्रीका कथाहरू’ (सन् १९९७) कथासङ्ग्रह; ‘दोबाटो’ (सन् १९६७) नाटक तथा विभिन्न पत्रपत्रिकामा एकाङ्की नाटक र निबन्धहरू प्रकाशित भएका छन् ।

लीलबहादुर क्षेत्रीलाई चर्चित बनाउने विधा उपन्यास हो । उनको ‘बसाइँ’ लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’ पछि धेरै पटक प्रकाशित हुने कृतिमा पर्दछ । यो धेरै वर्ष त्रिभुवन विश्वविद्यालय र उच्च माध्यमिक शिक्षा परिषद्को पाठ्यक्रममा रहेको थियो । त्यसैगरी उनको ‘अतृप्त’ उपन्यास पनि चर्चित रहेको छ । यो गुवाहटी र भारतका अन्य विश्वविद्यालयका पाठ्यक्रममा रहेको छ । ‘ब्रह्मपुत्रको छेउछाउ’ उपन्यासले साहित्य अकादमी पुरस्कार प्राप्त गरेको हो । पाठकहरूले ‘बसाइँ’ र ‘ब्रह्मपुत्रको छेउछाउ’ उपन्यासलाई बढी रुचाएका छन्, उपन्यासकारलाई भने ‘अतृप्त’ र ‘प्रतिध्वनिहरू–विस्मृतिका’ राम्रो लागेको कुरा एउटा अन्तर्वार्तामा व्यक्त गरिएको छ ।

उनले लेखेको ‘बसाइँ’ उपन्यास सर्वाधिक चर्चित पनि भयो, यस उपन्यासका खास प्रवृत्तिहरू चाहिँ के के हुन् ?

‘बसाइँ’ सामाजिक विषयवस्तुमा आधारित उपन्यास हो । यो उपन्यास आफू केही समय आफ्नो बाबुको पुख्र्यौली थलो अर्थात् नेपालमा आएर बस्दा आफूले देखेका, सुनेका र अनुभव गरेका कुरालाई आधार बनाएर लेखेको कुरा क्षेत्रीले उल्लेख गरेका छन् । सामाजिक समस्यालाई उद्घाटन गर्नु यस उपन्यासको मूल विशेषता हो । आफू जन्मेहुर्केको ठाउँ छोडेर मुग्लानतर्फ बसाइँ सर्नुपर्ने समस्यालाई यस उपन्यासमा देखाइएको छ । नेपाली समाजमा व्याप्त समस्याको मूल जड शोषण हो र त्यो दुई प्रकारको छ— आर्थिक शोषण र सामाजिक शोषण । आर्थिक शोषणका कारण धने, मैना जस्ता सोझा र निमुखा व्यक्ति आफ्नो थातथलो छोडेर अनिश्चित दिशातर्फ हिँड्नुपरेको र सामाजिक वा यौन शोषणका कारण झुमा र मोटे कार्की जस्ता व्यक्ति आफ्नो गाउँठाउँ छोडेर भाग्नुपरेको कुरालाई देखाइएको छ । गाउँका सामन्ती वर्गको अत्याचारलाई यस उपन्यासमा यथार्थवादी ढङ्गमा देखाइएको छ । छरितो र गतिशील आख्यानरचना, ग्रामीण जीवनबाट टिपिएका पात्र, नेपाली समाजको यथार्थ प्रस्तुति, सरल र सरस भाषाशैली एवं कारुणिकता यस उपन्यासका मुख्य प्रवृत्ति हुन् । 

लीलबहादुर क्षेत्रीका उपन्यास मूलतः सामाजिक विषयवस्तुमा आधारित छन् । ‘अतृप्त’ भने मनोवैज्ञानिक विषयवस्तु भएको उपन्यास हो । ‘बसाइँ’ मा नेपालका नेपालीले भोग्नुपरेको समस्या र ‘ब्रह्मपुत्रको छेउछाउ’ र ‘प्रतिध्वनिहरू–विस्मृतिका’ मा काम र मामको खोजीमा भारतका आसाम र त्यसका आसपास पुगेका नेपालीहररूले भोग्नुपरेको समस्यालाई प्रस्तुत गरिएको छ ।

‘बसाइँ’ उपन्यास अहिलेको नेपालीहरु विदेशिने सन्दर्भ केही फरक छ कि उस्तै हो ?

‘बसाइँ’ उपन्यासमा प्रस्तुत घटनाको निष्कर्ष नेपालीहरू आफ्नो थातथलो छोडेर अन्त कतै हिँड्नुपरेको बाध्यता हो । साहुले ऋणको साँवा र ब्याज भनेर सबै सम्पत्ति हत्याएर उठीबास भएका र अर्काले दोजिया बनाएर छोडेको नारीको प्राणरक्षा गर्न र नियमकानुनबाट बच्न गाउँ छोडेर हिँड्नुपरेको घटनालाई यस उपन्यासमा प्रस्तुत गरिएको छ । उपन्यासका पात्रहरूको गन्तव्य अनिश्चित छ, त्यो पलायन हो, बसाइँ होइन । बसाइँ सर्नु भनेको एक ठाउँबाट अर्को ठाउँमा सर्नु हो, त्यसको निश्चितता हुन्छ । 

वर्तमान परिस्थितिमा नेपाली समाजमा विशेषगरी युवावर्गमा विदेशतर्फको रुचि एकदमै बढी छ । धेरैजसो गरिबी, ऋण, बेरोजगारी जस्ता समस्याले विदेश जाने गरेका भए पनि कतिपय अवसरको खोजी, अध्ययन, सुविधाजनक जीवनयापन आदिका लागि विदेशतिर लाग्नेहरू छन् । तिनीहरू पलायन भएर नफर्किने गरी गएका पनि होइनन् । निश्चय नै त्यसको बाटो ‘बसाइँ’ उपन्यासले देखाएको छ तर परिस्थिति र लक्ष्य भिन्न छ ।    

लीलबहादुर क्षत्रीले आफ्ना उपन्यासमा कस्ता कस्ता विषयको उठान गराएको पाइन्छ ?

लीलबहादुर क्षेत्रीका उपन्यास मूलतः सामाजिक विषयवस्तुमा आधारित छन् । ‘अतृप्त’ भने मनोवैज्ञानिक विषयवस्तु भएको उपन्यास हो । ‘बसाइँ’ मा नेपालका नेपालीले भोग्नुपरेको समस्या र ‘ब्रह्मपुत्रको छेउछाउ’ र ‘प्रतिध्वनिहरू–विस्मृतिका’ मा काम र मामको खोजीमा भारतका आसाम र त्यसका आसपास पुगेका नेपालीहररूले भोग्नुपरेको समस्यालाई प्रस्तुत गरिएको छ । जति काममा घोटिए पनि राम्ररी खानलाउन नपुग्ने व्यथा नेपालीहरूका लागि जहाँ पनि उस्तै हो । शोषण नेपालमा मात्र होइन, मुग्लानमा पनि छ । ‘ब्रह्मपुत्रको छेउछाउ’ उपन्यासले आफ्नो मुलुक छोडेर आसामको ब्रह्मपुत्र नदीको छेउछाउमा खेती र पशुपालन गर्न पुगे पनि तिनले भोग्नुपरेको प्राकृतिक विपत्ति, सङ्घर्ष र उत्पीडन उस्तै छ । ‘प्रतिध्वनिहरू–विस्मृतिका’ मा पनि काम र मामको खोजीमा आसाम पुगेका नेपालीको कथा छ । यो क्षेत्रीका बुबाले गरेको जीवनसङ्घर्षको कथामा आधारित छ अर्थात् यो जीवनीमा आधारित उपन्यास हो । यसले आसाम राज्यको भौगोलिक, सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक परिचय दिन्छ । ‘अतृप्त’ मानवीय मनको यथार्थको खोजी हो । सानोमा आमाको सान्निध्यमा हुर्कन नपाएको र दाजुसँग फौजी परिवेशको घेरामा रहेर हुर्किनु परेकाले पात्रमा नारीप्रतिको जुन अतृप्ति छ, त्यसको तृप्ति कुनै किसिमले पनि हुन नसकेको कुरालाई देखाइएको छ । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।