मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

विवाह पञ्चमी महोत्सवको तयारी सुरु, विभिन्न समिति गठन

शुक्रबार, २६ कात्तिक २०७८, २० : ३२
शुक्रबार, २६ कात्तिक २०७८

प्रदेश २ को राजधानी जनकपुरधाममा विवाह पञ्चमी महोत्सवका लागि आवश्यक तयारी थालिएको छ । दुई वर्ष कोरोना महामारी र विगतमा विभिन्न आन्दोलनले थलिएको तराई मधेसमा यस वर्ष भने भव्य रुपमा विवाहपञ्चमी महोत्सव मनाउने भन्दै अहिलेदेखि नै तयारी थालिएको हो ।

आगामी मंसिर २२ मा विवाह पञ्चमी परेकाले अहिलेदेखि तयारी थालिएको जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले जानकारी दिए । साताव्यापी रुपमा मनाइने महोत्सव मंसिर १७ देखि नै सुरु हुने उनको भनाइ छ ।

यस वर्ष छठ पर्वमा निकै भिड देखिएकाले विवाह पञ्चमीमा पनि उल्लेख्य भक्तजन आउने पूर्वानुमानका साथ तयारी थालिएको जानकारी दिए । उनका अनुसार विवाह पञ्चमी भव्य रुपमा मनाउन १९ वटा समिति तथा उपसमिति गठन गरिएको छ ।

जानकी मन्दिरमा बसेको सर्वपक्षीय बैठकमा महन्त वैष्णवले विवाह पञ्चमी महोत्सवका लागि शान्ति सुरक्षा व्यवस्थापन, प्रचार प्रसार, यातायात व्यवस्थापन, बजार व्यवस्थापन, रंगभूमि मैदानमा पण्डाल एवं गेट व्यवस्थापन, भारतको अयोध्याबाट आउने जन्तीको स्वागत, विद्युत आपूर्ति सहितका समिति गठन गरिएको बताए ।

भगवान रामको जन्मभूमि अयोध्याबाट हरेक पाँच वर्षमा जनकपुरधाम विशेष जन्ती आउने परम्परा छ । यसपटक औपचारिकरुपमा जन्ती नआए पनि साधुसन्त र ठूला महन्तहरु जन्तीकै रुपमा आउने महन्त वैष्णवले बताए ।

विवाह पञ्चमीमा सहभागी हुन विभिन्न मुलुकबाट ठूलो संख्यामा सर्वसाधारणको घुइँचो लाग्ने गरेकाले बसोबासको व्यवस्थापन, सुरक्षा, कार्यक्रम स्थल र जानकी मन्दिरको सर सजावट लगायतका विषयमा बैठकमा छलफल भएको थियो ।

फोहोर र शौचालय व्यवस्थापनमा जनकपुरधाम उपमहानगरपालिका र जनकपुर बृहत्तर क्षेत्र विकास परिषद्ले समेत ध्यान नदिएको गुनासो गर्दै महन्त वैष्णवले सरोकारवालालाई गम्भीर हुन ध्यानाकर्षण गराएका थिए । उनले विवाह पञ्चमी महोत्सवलाई भव्य बनाउन आवश्यक सहयोगका लागि स्थानीय सरकार र प्रदेश सरकारलाई पनि आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप