बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

मौनताको फिल्म नगर्ने निर्देशक घिमिरेको घोषणा

शुक्रबार, २६ कात्तिक २०७८, १७ : ३७
शुक्रबार, २६ कात्तिक २०७८

निर्देशक मदन घिमिरेले लेखक समेत रहेका निर्माता मौनता श्रेष्ठको फिल्म अब कहिल्यै निर्देशन नगर्ने घोषणा गरेका छन् । निर्देशकको बौद्धिक सम्पत्तिमाथि हस्तक्षेप गर्ने श्रेष्ठको प्रवृतिका कारण आफुले अबदेखि उनको फिल्म कहिल्यै नगर्ने निर्णय गरेको निर्देशक घिमिरेले बताए ।

‘अबदेखि मौनता श्रेष्ठ निर्माता रहेको फिल्म म कहिल्यै गर्दिन,  उहाँको काम गर्ने शैली मलाई चित्त बुझेन’ घिमिरेले भने ‘ निर्देशकको बौद्धिक सम्पातिमाथि पटक–पटक हस्तक्षेप गर्ने उहाँको प्रवृतिबाट म आजित भए ।’
मौनताले अहिले निर्माण गरेको फिल्म ‘आँधी तुफान २’ घिमिरेले नै निर्देशन गरेका हुन् । अहिले पोष्ट प्रोडक्सनमा रहेको यो फिल्मको छायाङ्कनको समयमा पनि श्रेष्ठले पटक पटक आफुलाई नसोधी कलाकार परिवर्तन गरेको घिमिरेको आरोप छ । 

‘आँधी तुफान २’ का लागि लामो समय दुवैजना स्क्रिप्टमा बसियो । कलाकार फाइनल गरियो । तर छायाङ्कन सेटमा पुग्दा उहाँले मलाई थाहा नै नदिई कलाकार फेरेर प्रस्तुत गर्नुभयो’ घिमिरेले अगाडि थपे, ‘फ्लोरमा के झगडा गर्नु भनेर मैले काम गरे ।’ फिल्मको केही दृश्य अझै खिच्न बाँकी रहेको बताएका घिमिरेले निर्माता श्रेष्ठले फिल्मको बाँकी काममा आफुलाई क्रस गरिरहेको गुनासो पोखे ।

‘उहाँ पारिश्रमिक पनि दिन आनाकानी गर्नुहुन्छ’ घिमिरेले अगाडि थपे, ‘पारिश्रमिक माग्यो दुई महिना फोन अफ गरेर हराउनुहुन्छ । यस्तो मान्छेसँग अबको दिनमा काम गरेर के फाइदा ।’ फिल्मको एक गीत सुटिङका लागि अहिले निर्माता श्रेष्ठ केही कलाकारसहित भारतको गोवा पुगेका छन् । उक्त गीतको सिलसिलामा आफुसँग केही सल्लाह समेत नभएको घिमिरेले बताए ।

‘मैले श्रेष्ठको लेखन रहेको करिब १७ वटा फिल्म निर्देशक गरे होला । आवश्यक परे, लेखनमा उहाँसँग सहकार्य होला । तर उहाँ निर्माता रहेको फिल्मको अब कहिल्यै निर्देशन गर्दिन’ घिमिरेले थपे । दशक अगाडिको हिट फिल्म ‘आँधी तुफान’ को सिक्वेलको रुपमा यो फिल्म निर्माण भएको ‘आँधी तुफान २’ मा कनिज कोइराला, आरती आचार्य, याङ्सु श्रेष्ठ, रवि गिरी, सञ्जय खतिवडा, पुस्कर राउत, सिवन लामा, राजाराम गौतम, गोकुल सुवेदी लगायतका कलाकारको मुख्य अभिनय रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप