शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

अमेरिकी पत्रकारलाई म्यानमारमा ११ वर्ष जेल सजाय

शुक्रबार, २६ कात्तिक २०७८, १५ : ०७
शुक्रबार, २६ कात्तिक २०७८

म्यान्मारको फ्रन्टियर म्यागेजिनमा कार्यरत अमेरिकी पत्रकार डेनी फेनिस्टिरमाथि त्यहाँको अदालतले ११ वर्षे जेल सजाय सुनाएको छ । ३७ वर्षका यी पत्रकारलाई यांगुन विमानस्थलबाट गत मेइमा प्रहरीले पक्राउ गरेको थियो । र, प्रहरीले उनीमाथि विभिन्न तीनवटा अभियोग लगाएको थियो ।

म्यानमारको अदालतले उनीमाथि सरकारले अवैध ठहर गरेका समूहलाई प्रोत्साहन गरेको र ती समूहहरुसँग साँठगाँठ गरेको अभियोगमा उनीविरुद्ध फैसला सुनाएको हो । यस्ता अभियोगमा कानुनअनुसार कडाभन्दा कडा सजाय हुने पनि अदालतले जनाएको छ । 

म्यानमारको अदालत सैनिकको नियन्त्रणमा रहने गरेको छ । त्यहाँ सैनिक शासन लागू छ । डेनी म्यान्मार नाऊमा काम गर्दा यी गल्तीहरु गरेको जनाइएको छ । जबकी, उनले गत वर्षको जुनमै यो अनलाईन मिडिया छाडिसकेका थिए । जुन २०२० देखि उनी फ्रन्टियर म्यागेजिनमा प्रबन्ध सम्पादक छन्  । ‘डेनीमाथि आरोप लगाउने कुनै आधार नै छैन,’ फ्रन्टियरका प्रधान सम्पादक थोमस किनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उनले गत वर्षको मध्यमै म्यान्मार नाऊ छाडिसकेका थिए र अहिले फ्रन्टियरका लागि काम गर्छन् भन्ने कुरा उनको कानूनी टोलीले अदालतमा पेश गरिसकेको छ । यो निर्णयले फ्रन्टियरका सबैलाई स्तब्ध बनाएको छ ।’

केही समयअघि मात्रै सरकारी अधिकारीहरुले डेनीमाथि आतंकवाद र देशद्रोहको अभियोग समेत थपेका थिए । यस अवधिमा अमेरिकी कुटनीतिज्ञ बिल रिचार्डसनले म्यान्मारका सैन्य नेता मिन आङ ल्हाइङलाई समेत भेटेका थिए । 
गत फेब्रुअरीमा आङ सान सुकीको जननिर्वाचित सरकारलाई अपदस्थ गरेर सेनाले सत्ता हातमा लिएयता म्यानन्मारमा मानवअधिकार र स्वतन्त्रताको अवस्था निकै खराब बनेको छ । यहाँ, विरोध प्रदर्शनका क्रममा १२ सय ५० जनाभन्दा धेरै मारिइसकेका छन् र कम्तिमा १० हजार जना हिरासतमा रहेको पर्यवेक्षक संस्था बन्दी सहायता नियोगले जनाएको छ । देशमा अस्थिरता गहिरिएको छ । 

ह्युमन राईट्स वाचका सहायक एशिया निर्देशक फिल रोबर्टसनले अदातलको फैसलालाई ‘निन्दनीय’ भनेका छन् । ‘उनीविरुद्धका आरोपहरु झुठा र आधारहिन छन् । उनले कुनै अपराध गरेका छैनन्,’ रोबर्टसनले ट्वीटरमा लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप