राप्रपाद्वारा ७६ जिल्लाको नेतृत्व चयन, भक्तपुरमा नेतालाई कार्यकर्ताले थुने (नामावलीसहित)
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ७६ जिल्लाको नेतृत्व चयन सकेको छ । भक्तपुरमा भने विवादका कारण नेतृत्व चयन हुन नसकेको महाधिवेशन प्रचारप्रसार विभाग सदस्य जनकराज पाठकले रातोपाटीलाई जानकारी दिए ।
राप्रपाले जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि कात्तिक २३ गतेसम्मको समय प्रदान गरेकोमा भक्तपुरमा भने कमल थापा र पशुपति शमशेर राणा–डा प्रकाशचन्द्र लोहनी पक्षबीच भागबण्डा मिल्न नसक्दा तनावको अवस्था सिर्जना भएको हो ।
भक्तपुरमा वडा तहको अधिवेशन भएपनि क्षेत्र र जिल्लामा अधिवेशन हुन नसकेको राप्रपाले जनाएको छ । पार्टी केन्द्रले दिएको समयसीमा अधिवेशन हुन नसकेपछि अब के हुने भन्नेमा अन्योलता कायमै रहेको छ । यसबारे केन्द्रीय अध्यक्षहरूबीच नै विवाद रहेकाले भक्तपुरको हकमा के हुने भन्नेबारे निर्णय हुन नसकेको एक नेताले रातोपाटीलाई जानकारी दिए ।
के हो भक्तपुरको विवाद ?
तत्कालीन राप्रपा र राप्रपा संयुक्त मिलेर राप्रपा गठन भएको हो । पार्टी एकता भएसँगै राप्रपाले देशभरका संगठन समायोजनलाई तिव्रता दियो । सोअनुसार भक्तपुरमा भने समायोजनको क्रममा विवाद रहँदै आयो । राप्रपा एकताअघि रामशरण लामिछाने राप्रपा संयुक्तको अध्यक्ष थिए भने कमल थापा निकट राप्रपाको अध्यक्ष माधव खत्री थिए ।
यी दुईमध्ये लामिछाने वरिष्ठ भएको बताइएको छ । तर, समायोजन गर्ने क्रममा उनीहरुले एकले अर्कालाई नछाड्दा समस्या भएको हो । पछिल्लो समय अधिवेशन गर्नकै लागि राप्रपा केन्द्रले रामशरणलाई अध्यक्ष दिने र माधव खत्रीलाई निर्वाचन कमिटीको प्रमुख दिने निर्णय गर्यो । तर उनीहरुले चित्त बुझाएनन् भने अधिवेशनको प्रक्रियामा जाँदा दुबैले उम्मेदवारी दर्ता गर्ने अवस्था आइलाग्यो भने दुई पक्षका कार्यकर्ताबीच हात हालाहालको अवस्था आएको एक नेताले रातोपाटीलाई बताए ।
विवाद उग्र बन्दै गएपछि समाधानका लागि केन्द्रले केन्द्रीय सचिवालयका प्रमुख भास्कर भद्रा, निमित्त प्रमुख राजेन्द्र गुरुङलाई खटाए पनि समस्या ज्यूँकात्यूँ बनेको उनको भनाइ छ । बरु विवाद मिलाउन गएका उनीहरुलाई असन्तुष्ट कार्यकर्ताले दुई नेतालाई बाहिरबाट ताल्चै लगाएर कोठामा थुनिदिएको उनले बताए ।
यस्तै विवाद मिलाउन केन्द्रीय निर्वाचन समितिका सदस्य झनक प्याकुरेल र रोशन कार्कीलाई पर्यवेक्षकको रुपमा खटाएर फेरि पहल गरियो । जति गर्दा पनि समस्या समाधान नभएपछि भक्तपुरले महाधिवेशनमा भाग लिन नपाउने अवस्था निम्तिने देखिएको छ ।
अधिवेशनको बाँकी प्रक्रियामा सामान्य हेरफेर
यसैबीच राप्रपाले सक्रिय सदस्यहरूको सदस्यता शुल्क बुझाउन कार्तिक २८ सम्मको समय दिएको छ । सो अवधिभित्र सदस्यता शुल्क नबुझाउनेको सदस्यता स्वतः खारेज गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।
यस्तै बिहीबार बसेको अध्यक्षत्रयको बैठकले कार्तिक २९ भित्र केन्द्रीय निर्वाचन समितिलाई सक्रिय सदस्यहरूको नामावली उपलब्ध गराउने निर्णय पनि गरेको छ । यस्तै केन्द्रीय निर्वाचन समितिले कार्तिक ३० गते जिल्लाहरुमा सक्रिय सदस्यहरूको नामावली पठाउने, सक्रिय सदस्यहरूको नामावलीमा दावी विरोध मंसिर १ र २ गते भित्र गर्ने भएको छ ।
यसअघि केन्द्रीय निर्वाचन समितिले कार्तिक २६ भित्र सक्रिय सदस्यहरुको नामावली जिल्लाहरुमा पठाउने गरी निर्णय गरेको थियो । यसैगरी सक्रिय सदस्यको दावी विरोध कार्तिक २७, २८ र २९ गते गर्ने तथा अन्तिम नामावली कार्तिक ३० गते प्रकाशन गर्ने निर्णय भएको थियो ।
यस्तै बैठकले सक्रिय सदस्यहरूबाट महाधिवेशन प्रतिनिधिहरूको चुनाव मंसिर ३,४ र ५ गते गर्ने निर्णय पनि गरेको छ । यसअघि मंसिर १, २ र ३ गते गर्ने निर्णय भएको थियो । राप्रपाको महाधिवेशन आगामी मंसिर ११ देखि १३ सम्म काठमाडौंमा हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघीय निजामती सेवा विधेयकको प्रस्तावना संशोधन गर्न सहमति
-
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बढुवा भएका कर्मचारीलाई ६ महिना कैद
-
मधेस सरकारको कामकाज भाषाको प्रस्तावप्रति आपत्ति
-
सिमेन्ट महँगो भएर निर्माण कार्य गर्नै नसक्ने अवस्था आएको छ : सांसद श्रेष्ठ
-
रावलको पक्षमा लाग्ने अछामका ६ जना एमाले नेताको जिम्मेवारी खोसियो
-
गृहमन्त्री लेखक र एडीबी निर्देशकबिच भेटवार्ता