शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

हत्यामा संलग्न आरोपी दुई जना पक्राउ

शुक्रबार, २६ कात्तिक २०७८, ११ : ३०
शुक्रबार, २६ कात्तिक २०७८

 गत आईतबार दाङ जिल्लाको बेग्लाबेग्लै स्थानमा भएको हत्या काण्डमा संलग्नमध्ये दुई जनालाई प्रहरीले पक्राउ गरेको छ भने अझै दुई जना फरार छन् ।

आइतबार ३ जना मिलेर लाठी र खुकुरी प्रहार गरी तुल्सीपुरमा एक युवकको हत्या गरेका थिए । त्यस्तै जिल्लाको गढवा गाउँपालिकामा एक जना पुरुषले श्रीमतीको हत्या गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार तुल्सीपुर–४ नयाँवस्तीका २१ बर्षीय टोपबहादुर पुनको हत्यामा ३ जना संलग्न छन् । सो समूहले पुनसँगै रहेका सल्यानको कपुरकोट गाउँपालिका–४ का १७ बर्षीय शंकर डाँगीलाई गम्भीर घाईते बनाएका थिए ।

सो घटनामा संलग्न रहेका तुलसीपुर–४ का २० वर्षीय खिमबहादुर मगर, १८ वर्षीय रेशम थापा र २१ वर्षीय विनय मगरमध्ये रेशम थापालाई सल्यान र दाङको बिचमा पर्ने जंगलबाट खुकुरीसहित पक्राउ गरिएको एसपी काफ्लेले बताए ।

फरार दुई जना पनि त्यसै जंगलमा लुकेर बसेको आशंकामा प्रहरीले चौतर्फी घेराउ गरिरहेको छ ।

गम्भीर घाईते डाँगीको नेपालगञ्जमा समेत उपचार सम्भव नभएपछि लखनउ पठाईएको एसपी काफ्लेले जानकारी दिए । उनका अनुसार यी दुई समुह बिच ६ महिना अघिदेखि रिसईवी बढ्दै आइरहेको थियो ।

त्यस्तै गढवा गाउँपालिका–६ बालापुरका ६० वर्षीय दानबहादुर थापाले लाठी प्रहार गरी आफ्नी ५० वर्षीया श्रीमती सुनिता रोकाको हत्या गरेकोमा निजलाई भने घटनाको दोश्रो दिन नै पक्राउ गरिएको एसपी काफ्लेले जानकारी दिए । उनका अनुसार घरायसी विवादमा दानबहादुरले लाठीले टाउको र घाँटीमा हिर्काउँदा सुनिताको घटनास्थलमै मृत्यु भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप