बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

यी हुन् बागमती प्रदेशका नवनियुक्त दुई मन्त्री

बिहीबार, २५ कात्तिक २०७८, २० : २७
बिहीबार, २५ कात्तिक २०७८

बागमती प्रदेश सरकारमा बिहीबार दुई मन्त्री थपिएका छन् । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मन्त्रिपरिषद् विस्तार गर्दै माओवादी केन्द्रबाट शालिकराम जम्कट्टेल र नेपाली काँग्रेसबाट निमा लामा ह्योल्मोलाई मन्त्री बनाएका हुन् ।

नवनियुक्त मन्त्रीद्वयमध्ये जम्कट्टेललाई आर्थिक मामिला तथा योजना मन्त्रालय र लामालाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ । जम्कट्टेल दोस्रो पटक प्रदेश सरकारमा सामेल भएका हुन् भने लामा पहिलो पटक मन्त्री बनेका हुन् ।

यस्तो छ मन्त्रीद्वयको राजनीतिक जीवन–

शालिकराम जम्कट्टेल

२०२८ सालमा धादिङको गजुरीमा जन्मेका शालिकराम जम्कट्टेल दोस्रो पटक बागमती प्रदेशको मन्त्री नियुक्त भएका छन् । उनी यसअघि तत्कालीन नेकपाको सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री नियुक्त भएका थिए ।२०५२ सालमा ललितपुरको आइरन उद्योगमा काम गर्दै गर्दा मजदुर आन्दोलनमा सहभागी भएका उनी सोही बखत माओवादी केन्द्रमा जोडिएर जनयुद्धमा होमिए ।

उनले कानुन संकायमा स्नातक गरेका छन् । गजुरीको आदर्श माध्यमिक विद्यालयबाट एसएलसी अध्ययन गरेका उनी २०६४ सालमा माओवादी केन्द्रको तर्फबाट प्रतिनिधिसभा विधायक भए । उनी २०७३ मा माओवादी केन्द्रको धादिङ जिल्ला अध्यक्ष भए ।

देश संघीयतामा गएपछि पहिलो पटक २०७४ सालमा भएको प्रदेशसभा निर्वाचनमा धादिङको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट उनी निर्वाचित भएका हुन् । २०७४ सालमा पहिलो पटक प्रदेशको मन्त्री बनेका उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि २०७७ पुस १० गते मन्त्री पदबाट राजीनामा दिएका थिए ।

२०७७ फागुन २३ गते नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिँदै एमाले र माओवादी केन्द्रलाई साविककै अवस्थामा फर्काउने सर्वोच्च अदालतको फैसलापछि उनी नेकपा माओवादी केन्द्र बागमती प्रदेशसभाको संसदीय दलको नेतामा चयन भए ।

८ महिना संसद्मा प्रमुख प्रतिपक्षी दलको नेताका रुपमा सशक्त भूमिका निर्वाह गरेका उनले बिहीबार प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

निमा लामा ह्योल्मो

सिन्धुपाल्चोकको हेलम्बुमा जन्मेका निमा लामा विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय छन् । २०३३ सालमा बाबु चेङ्गा लामा र आमा फुर्पा लामाको कोखबाट हेलम्बु–२ शेर्माथाङ गाउँमा जन्मिएका लामा सोही क्षेत्रबाट काँग्रेसको प्रत्यक्ष निर्वाचित सांसद् हुन् । उनी अल्पसंख्यक ह्योल्मो समुदायबाट निर्वाचित पहिलो व्यक्ति हुन् ।

सिन्धुपाल्चोकको प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेशसभा क्षेत्र नम्बर (ख) बाट पहिलो पटक सांसद चुनिएका लामाले माओवादी केन्द्रका दावा लामालाई पराजित गरेका थिए ।

पहिलो पटक निर्वाचनमा होमिएका उनले माओवादीको गढ तोड्दै काँग्रेसको झण्डा फहराउन सफल भए । भौगोलिक हिसावले विकट सिन्धुपाल्चोकको पनि विकट गाउँमा जन्मेर, हुर्केका उनले बेलायतबाट इन्फरमेशन टेक्नोलोजी विषयमा डिप्लोमा र डेनमार्कबाट इन्टरनेशनल पोलिटिक्स इन डेमोक्रेसी विषयमा अध्ययन गरेका छन् ।

२०४८ सालको निर्वाचनमा पार्टीले दिएको जिम्मेवारीमा रहेका महत्वपूर्ण भूमिका निर्वाह गरेका लामा २०४९ सालदेखि नेपाली काँग्रेसमा संगठित रुपमा आवद्ध भए । २०५४ सालको निर्वाचनमा गाविस अध्यक्ष पदको दाबेदार रहेका लामालाई उम्मेदवार बन्न उमेरले छेक्यो । गाविस अध्यक्ष बन्न उमेर नपुगेपछि उनी पुनः पार्टी कै काममा सक्रिय रहे ।

संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तनसम्बन्धी सभामा समेत भाग लिएका उनले आदिवासी जनजाति महासंघको विदेश विभाग सचिव भई काम गरिसकेका छन् । आफू आवद्ध संघसंस्थाबाट उनले शिक्षा एवं स्वास्थ्य क्षेत्रमा सहयोगको नेतृत्व गरेका छन् ।

हाल उनी नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका सचिव छन् । उनी पर्यटन व्यवसायमा पनि आवद्ध छन् । बिहीबार उनलाई प्रदेश सरकारको स्वास्थ्य मन्त्री बनाइएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप