बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : रामकुमारी झाँक्रीको निर्णयले हलचल, सर्वोच्चमा झडप

बिहीबार, २५ कात्तिक २०७८, १९ : ३९
बिहीबार, २५ कात्तिक २०७८

आज मिति २०७८ साल कात्तिक महिनाको २५ गते बिहीबार । आज दिनभर देशभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित बुलेटिन ‘रातोपाटी ब्रिफिङमा प्रस्तुत गरिएको छ–

१. अदालतमा लफडा कायमै

बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतमा ९ वटा इजलास गठन गर्दै १७७ वटा मुद्दाको पेसी तोके पनि न्यायाधीशहरुले बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा हेरेनन् । प्रधानन्यायाधीश जबराले आफ्नो इजलासमा भने बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामात्र राखेका थिए । उनले आफ्नो इजलासमा रहेका ६ वटै मुद्दा हेरेका छन् ।

 

२ प्रहरी र वकिलहरुबीच झडप

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा नेपाल बार एसोसिएसनका वकिलहरुले धर्ना दिँदै नाराबाजी गरेका छन् । सो क्रममा प्रहरीसँग भएको झडपमा ६ वकिल घाइते भएका छन् ।

 

३. रामकुमारी झाँक्रीको निर्णयले तरंग

शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले अघिल्लो साता गरेको एक निर्णयले यतिखेर शहर मात्र होइन, गाउँ–गाउँ तरंगित बन्न पुगेको छ । सार्वजनिक खरिदका नाममा उपभोक्ता समितिले गरिरहेको अनियमितता रोक्न भन्दै मन्त्री झाँक्रीले मन्त्रिस्तरीय निर्णयबाट गरेको रोकावटपछि सबैतिर हल्लीखल्ली मच्चिएको हो । तर नगरपालिका संघले भने झाँक्रीको निर्णय मान्न नसकिने बताएको छ ।


४ राष्ट्रिय जनगणना सुरु

बाह्रौ राष्ट्रिय जनगणना बिहीबारदेखि सुरु भएको छ । जनगणना मंसिर ९ गतेसम्म जारी रहनेछ । राष्ट्रपति विद्यादेवी भण्डारीलगणनाको औपचारिक शुरुवात गरेकी हुन् । बिहीवार बिहान शितल निवासमा पुगेको गणकको टोलीलाई राष्ट्रपति भण्डारीले आफ्नो परिवारको तथ्यांक उपलब्ध गराउँदै ‘राष्ट्रिय जनगणना २०७८’ को औपचारिक शुरुवात गरेकी हुन् ।

केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठसहितको टोली बुधवार बिहान राष्ट्रपति निवासमा पुगेका थिए ।


५. देशभर कति छन् सक्रिय संक्रमित ?

पछिल्लो २४ घण्टामा देशभर ३१७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने २७९ जना निको भएका छन् । यस्तै ६ जनाको मृत्यु समेत भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर ७ हजार ५३५ जना सक्रिय संक्रमित रहेका छन् ।


६. सेयर बजार

गत मंगलबार अधिकतम ७९।७९ अंकले घटेर २७ सय ४९ दशमलव ८५ अंकमा झरेको सेयर बजार परिसूचक नेप्से बिहीबार थप ५९ अंकले घट्न पुगेको छ ।  नेपाल स्टक एक्सचेन्जका अनुसार आज बिहीबार नेप्से ५९।५७ अंकले घटेर २६ सय ९० दशमलव २९ बिन्दुमा झरेको हो ।


७. सुनको मूल्य वृद्धि

नेपालमा पाँच वर्षभित्रै प्रतितोला सुनको भाउ ३८ हजार रुपैयाँसम्म बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले तोक्ने गरेको दैनिक बजारभाउ केलाउँदा वि।सं। २०७४ कात्तिक २६ देखि २०७८ कात्तिक २५ भित्र सुनको मूल्य प्रतितोलामा ३८ हजार १०० रुपैयाँले बढेको हो ।


८. बागमतीमा मन्त्रिपरिषद् विस्तार

बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार गरिएको छ । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बिहीबार मन्त्रिपरिषदमा दुई सदस्य थप गरेका हुन् ।


९. सकियो छठ

उदाउँदो सूर्यलाई अघ्र्य दिँदै श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्व आजबाट विधिवत रुपमा सम्पन्न भएको छ । हिजो बेलुका जलासयहरुमा भेला भएर अस्ताउँदो सूर्यलाई अघ्र्य दिई रातभर भजन किर्तनगरी आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै विधिवत रुपमा समापन भएको हो ।


१०. र, यो पनि...

अर्घाखाँचीका एक युवाले विद्युतबाट चल्ने मोटरसाइकल बनाएर बिहीवार सार्वजनिक प्रदर्शन गरेका छन् । जिल्लाको सन्धिखर्क नगरपालिका–१, पाणिनीचोक निवासी १८ बर्षीय सागर पोखरेलले ४५ देखि ५० को किमी गतिमा चल्ने विद्युतीय मोटरसाइकल बनाएर विहिबार सन्धिखर्कको टुँडिखेलमा प्रदर्शन गरेका हुन् ।


नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक शुक्रबारका लागि बोलाइएको छ । पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले शुक्रबार बस्ने बैठकले कात्तिक २७ र २८ गते बस्ने केन्द्रीय कमिटीको बैठकका प्रस्तावहरू अनुमोदन गर्ने बताए ।


विज्ञापन बोर्डले मदिरा कम्पनीको विज्ञापन गर्ने र गराउनेलाई कारबाहीको चेतावनी दिएको छ ।


पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विद्यार्थीहरुले विरोध गरेका छन् । नेपाल आयल निगमले बुधबार पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गर्ने निर्णय गरेको थियो ।


नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूपक्षीय केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । शुक्रबार दिउँसो २ः३० बजे सुनधारास्थित दियालो होटलमा पौडेलले आफूपक्षीय केन्द्रीय सदस्यको बैठक बोलाएका हुन् ।


नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि ११ जनाको आवेदन परेको छ । आवेदन दिने अन्तिम म्याद अर्थात आजसम्म ११ जनाले आवेदन दिएको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप