बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानन्यायाधीशबाहेक कुनै न्यायाधीशले हेरेनन् बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दा

बिहीबार, २५ कात्तिक २०७८, १६ : २९
बिहीबार, २५ कात्तिक २०७८

 बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतमा ९ वटा इजलास गठन गर्दै १७७ वटा मुद्दाको पेसी तोके पनि न्यायाधीशहरुले बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा हेरेनन् । प्रधानन्यायाधीश जबराले आफ्नो इजलासमा भने बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामात्र राखेका थिए । उनले आफ्नो इजलासमा रहेका ६ वटै मुद्दा हेरेका छन् ।

बिहीबार प्रधानन्यायाधीश जबराले आफ्नो इजलासमा जबर्जस्ती करणी, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग, गोली प्रहार गरी ज्यान मार्ने उद्योग, कालो बजारी तथा केही अन्य सामाजिक अपराध सम्बन्धी कसूर, लागू औषध लगायतका मुद्दाको पेसी तोकेका थिए । ती सबै मुद्दामा सुनुवाइ गर्दै उनले कैफियत प्रतिवेदन माग्ने आदेश दिएका छन् ।

बाँकी ८ वटा इजलासमा भने बन्दी प्रत्यक्षीकरणका मुद्दासँगै अन्य मुद्दाका पेसी पनि तोकिएका थिए । तर बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा नहेर्ने घोषणा गरेका न्यायाधीशहरुले अन्य मुद्दा हेरेनन् ।

न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र डा. कुमार चुडालको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरणसँगै जोडिएको विविध र सवारी ज्यानसम्बन्धी मुद्दामा सुनुवाइ गरेको छ भने बन्दी प्रत्यक्षीकरणकै अन्य दुई मुद्दामा निवेदन फिर्ताको आदेश दिएको छ । सो इजलासमा तोकिएका बाँकी मुद्दा भने ‘हेर्न नभ्याइने’ सूचीमा राखियो ।

न्यायाधीश नहकुल सुवेदीको एकल इजलासमा बन्दी प्रत्यक्षीकरणको एउटा मुद्दासहित उत्प्रेषण आदेशको मागसहित दायर तीनवटा रिटको पेसी तोकिएको थियो । सो इजलासले बन्दी प्रत्यक्षीकरणको मुद्दामा मात्र सुनुवाई गर्दै अन्य मुद्दालाई ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ ।

​यस्तै, न्यायाधीशद्वय वमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासमा पनि बन्दी प्रत्यक्षीकरणका दुई मुद्दासँगै अन्य विविध मुद्दाको पेसी राखिएको थियो । तर सो इजलासले पनि बन्दी प्रत्यक्षीकरणको मुद्दामात्र हेर्दै अन्य मुद्दालाई ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ ।

न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको इजलासमा एउटा बन्दी प्रत्यक्षीकरण र अर्को एउटा उत्प्रेषण मागदाबीको रिट निवेदन राखिएको थियो । सो इजलासले पनि बन्दी प्रत्यक्षीकरणको मुद्दामात्र हेरेको छ ।

न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र नहकुल सुवेदीको संयुक्त इजलासमा बन्दी प्रत्यक्षीकरण बाहेकका विभिन्न मुद्दा राखिएको थियो । तर बेन्च नै नबसेका कारण कुनै पनि मुद्दा हेरिएन ।

न्यायाधीशहरु हरिकृष्ण कार्की, डा. आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको पूर्ण इजलासमा पनि बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा राखिएको थियो, तर बेन्च नै नबसेका कारण कुनै मुद्दा हेरिएन ।

न्यायाधीशद्वय दीपककुमार कार्की र प्रकाशमानसिंह राउत, न्यायाधीशद्वय मीरा खड्का र तेजबहादुर केसीको संयुक्त इजलासमा पनि बन्दी प्रत्यक्षीकरणका मुद्दा राखिएको थिएन । ती दुवै इजलासमा बेन्च बसेन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप