बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

पाँच वर्षमा सुनको भाउ ३८ हजार रुपैयाँले बढ्यो, एक लाख तीन हजारको रेकर्ड फेरि दोहोरिएला ?

बिहीबार, २५ कात्तिक २०७८, १४ : ३६
बिहीबार, २५ कात्तिक २०७८

नेपालमा पाँच वर्षभित्रै प्रतितोला सुनको भाउ ३८ हजार रुपैयाँसम्म बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले तोक्ने गरेको दैनिक बजारभाउ केलाउँदा वि.सं. २०७४ कात्तिक २६ देखि २०७८ कात्तिक २५ भित्र सुनको मूल्य प्रतितोलामा ३८ हजार १०० रुपैयाँले बढेको हो ।

२०७४ साल कात्तिक २६ गते प्रतितोला छापावाल सुन ५५ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य पाँच वर्षपछि अर्थात् २०७८ साल कात्तिक २५ गते ९४ हजार रुपैयाँ पुगेको छ । चाँदीको भाउ पनि यो पाँच वर्षमा बढिरहेको छ । २०७४ कात्तिक २६ गते प्रतितोला ७६० रुपैयाँमा कारोबार भएकोमा आज एक हजार २७० रुपैयाँ पुगेको छ । पाँच वर्षभित्र चाँदीको मूल्य तोलामा ५१० रुपैयाँ बढेको हो ।

सुनचाँदीको मूल्य बढ्नुको कारणबारे नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल भन्छन्, ‘डलरसँग नेपाली रुपैयाँ अवमूल्यन हुँदा सुनको भाउ बढ्ने गर्छ । पछिल्लो समय अन्तरराष्ट्रिय बजारमै सुनको भाउ बढिरहेको छ । सुन, अमेरिकी डलर या तेलमध्ये उपभोक्ताले जे बढी माग गर्छन्, त्यसैको भाउ बढ्ने गर्छ । अहिले विश्वमा सुनको माग उच्च छ ।’

महामारीलगायत संकट निम्तिँदा आर्थिक सुरक्षाका लागि संसारभर नै मानिसहरूले सुनलगायत महँगा वस्तुहरू खरिद गर्न खोज्ने र माग बढ्ने हुनाले मूल्य बढ्ने ढकालले बताए । यस हिसाबले सुनको मूल्यमा पनि सन् २०१९ देखि फैलिएको कोरोना महामारी पनि कारक देखिन्छ ।

२०७४ कात्तिक २६ गते डलरको बिक्री मूल्य १०४ रुपैयाँ ५६ पैसा रहेको थियो भने अन्तिम दिन आज ११९ रुपैयाँ ३२ पैसा पुगेको छ । पाँच वर्ष अवधिमा डलरको भाउ नेपालमा कम्तिमा १४ रुपैयाँ ७६ पैसा बढिसकेको छ ।

यसैकारण पछिल्ला वर्षमा नेपाली बजारमा सुनको भाउ निरन्तर बढिरहेको हो । यो वर्ष पनि तिहारपछि सुनको मूल्य बढिरहेको छ । आज बिहीबारसम्म तोलामा तीन हजार रुपैयाँले बढिसकेको छ ।

तिहारअघि अर्थात् गत कात्तिक १८ गते नेपाली बजारमा सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको थियो । तर, तिहार लगत्तै गत कात्तिक २२ गते खुलेको बजारमा एकैदिन अधिकतम एक हजार ५०० रुपैयाँले बढ्दै ९२ हजार ५०० रुपैयाँ पुग्यो । तीन दिनपछि आज बिहीबार सुनको मूल्य थप एक हजार ५०० रुपैयाँले वृद्धि हुँदै ९४ हजार रुपैयाँ पुगेको छ ।

यसैगरी यता चाँदीको मूल्य पनि गत कात्तिक १८ गतेदेखि २४ गतेसम्म आइपुग्दा तोलामा ४५ रुपैयाँले बढ्दै एक हजार २७० रुपैयाँ पुगेको छ ।

अन्तरराष्ट्रिय बजार नै मुख्य कारक : महासंघ

नेपाल सुनचाँदी व्यवसायी महासंघ बजारमा सुनचाँदीको मूल्य बढ्नुका पछाडि अन्तरराष्ट्रिय कारण रहेको बताउँछ । पछिल्लो समय अन्तरराष्ट्रिय बजारमा नै सुनको मूल्य बढेकाले यसको प्रभाव नेपाली बजारमा समेत पर्न गएको महासंघका अध्यक्ष मणिकरत्न शाक्य बताउँछन् ।

अन्तरराष्ट्रिय बजारको मूल्य वृद्धिको असर अहिले नेपाली बजारमा पर्दैछ । यसमा विदेशी मुद्राको विनिमयदर (डलरको भाउ) बढ्नु र विप्रेषण (रेमिट्यान्स) घट्नुुले समेत उत्तिकै भूमिका खेलेको छ । अहिले अन्तरराष्ट्रिय बजारमा नै सुनको भाउ प्रतिआउन्स एक हजार ८४० अमेरिकी डलर रहेको छ । यसको प्रभाव अहिले नेपाली बजारमा पर्दैछ, शाक्यले भने ।

सुनको अन्तरराष्ट्रिय बजारभाउ गत बुधबारको तुलनामा आज करिब ५ प्रतिशतले बढेर प्रतिआउन्स एक हजार ८५३ अमेरिकी डलर पुगेको छ । यो दर अझ बढ्नसक्ने शाक्य बताउँछन् ।

एक लाख तीन हजारको इतिहास फेरि दोहोरिएला !

सुनको निरन्तर बढ्दो अन्तरराष्ट्रिय बजार भाउ, डलरको मूल्यवृद्धि र रेमिट्यान्स आप्रवाहसमेत घटेका कारण मूल्य बढ्न सक्ने महासंघले प्रक्षेपण गरेको छ । विवाहको सिजन नजिकिँदै गर्दा माग बढ्न गई सुनको मूल्य र अभाव दुबै बढ्नसक्ने देखिन्छ ।

सुनको मूल्य अझ बढ्छ या घट्छ भन्नेबारे एकिन गर्न त सकिँदैन, तर अहिलेको वस्तुस्थिति हेर्दा बढ्ने नै देखिन्छ । अन्तरराष्ट्रिय बजारमा डलरको भाउ निरन्तर बढिरहेकै छ । तेलको भाउ पनि बढेको छ । यस्तो अवस्थामा सुनको मूल्य अझ बढ्ने देखिन्छ । यता नेपाली बजारको माग र आपूर्तिको अवस्थाले पनि अबको दिनमा सुनको मूल्यमा प्रभाव पार्ने देखिन्छ, महासंघ अध्यक्ष शाक्यले भने ।

नेपाली बजारमा अब विवाहको सिजन शुरू हुनै लागेका कारण आपूर्ति तुलनामा माग बढ्दा मूल्य बढ्नसक्ने देखिन्छ । तर, गत वर्षको उच्चतम मूल्य एक लाख तीन हजार ५०० रुपैयाँको इतिहास भने पुनः दोहोरिने या नदोहोरिने भन्न नसकिने उनको तर्क छ । गत वर्ष २०७७ साउन २३ गते नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दु अर्थात प्रतितोला एक लाख तीन हजार ५०० रुपैयाँ पुगेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

श्रेष्ठ रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप