बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

उपत्यकामा दैनिक एक करोड लिटर पानी बढाइने योजना

बिहीबार, २५ कात्तिक २०७८, १४ : ३६
बिहीबार, २५ कात्तिक २०७८

काठमाडौँ उपत्यकाभित्रै दैनिक एक करोड लिटर पानी उपलब्ध हुने गरी योजना बनाइएको छ । उपत्यकामा मेलम्चीको पानी आउन समय लाग्ने देखिएकाले त्यसको विकल्प खोज्न लागिएको छ । उपत्यकामा भएका स्रोतको संरक्षण र विभिन्न स्थानमा डिप बोरिङ खन्न लागिएको हो ।

मेलम्ची नआउँदासम्म भएका खानेपानीको स्रोत परिचालन गरेर वितरण गरिने योजना बनाएको काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी निर्देशक मिलन शाक्यले बताए । उनका अनुसार अहिले भइरहेका मुहान संरक्षण गरेर त्यहीँबाट बढी पानी लिन लागिएको छ ।

पुराना ट्युबवेल संरक्षण गर्न थालिएको छ । उपलब्ध पानीको परिमाण बढेपछि तालिका हेरफेर गरेर वितरण गरिने उनले बताए । उपत्यकामा कतिपय स्थानका सेवाग्राहीले आफ्नो घरमा पानी नआएको भनी गुनासो गर्दै आएका छन् । 

उनले भने, “ती स्थानमा पनि टयाङ्करबाट सार्वजनिक ट्याङ्की भरेर सुख्खा व्यवस्थापन गरिनेछ ।” लिमिटेडले उपत्यकाभित्रै खानेपानीको क्षमता बढाउन १० स्थानमा ट्युबवेल खन्न लागेको छ । भइरहेका मुहान बढाउँदा र डिप ट्युबवेल गरी हाल भइरहेको पानीमा एक करोड लिटर थप हुनेछ ।

हाल उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग छ । वर्षामा झण्डै १७ करोड र हिउँदमा त्योभन्दा कम उपलब्ध गराउन सकिएको लिमिटेडले जनाएको छ । हिउँद लागेसँगै अहिले पानीको उपलब्धता घटेर दैनिक आठदेखि नौ करोड लिटर पानी वितरण भइरहेको छ । 

लिमिटेड अन्तर्गत सम्बन्धित शाखाले आफ्नो क्षेत्रमा कुनकुन बार र कति बजे पानी वितरण गरिने भनी फेसबुक पेजबाट तालिका राख्ने गरेको छ । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले वैकल्पिक पानीको स्रोतको पनि अध्ययन गरिरहेको छ । सिस्नेरी, कुलेखानीलगायतका पानीको स्रोतको पनि सम्भाव्यता अध्ययन भइरहेको छ ।

लिमिटेडले उपत्यकामा जग्गा उपलब्ध हुनसक्ने ठाउँमा डिप वेल निर्माण गरिरहेको छ । सानेपा–बल्खुमा एउटा निर्माण सकिएको छ भने गोकर्ण, भक्तपुरलगायतका ठाउँमा निर्माण भइरहेको छ । स्थानीय तहले सार्वजनिक जग्गा उपलब्ध गराउँदा अध्ययन गरेर सम्भावना भएमा खन्ने गरिएको छ ।

 काठमाडौँ उपत्यकामा दशकौंदेखि खानेपानीको समस्या छ । पानीको समस्या हटाउन मेलम्चीको पानी ल्याउन लागिएको थियो । मेलम्चीमा भएको दुर्घटनाका कारण पानी आउन रोकिएपछि पुनः समस्या बढेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप