बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

जनगणना राष्ट्रिय विकासको मेरुदण्ड : मुख्यमन्त्री शाही

बिहीबार, २५ कात्तिक २०७८, १३ : ४३
बिहीबार, २५ कात्तिक २०७८

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले जनगणना राष्ट्रिय विकासको मेरुदण्ड भएको बताएका छन् । सुर्खेतस्थित कर्णाली प्रदेश जनगणना कार्यालयद्वारा वीरेन्द्रनगरमा आयोजित ‘१२ औँ राष्ट्रिय जनगणना २०७८’ शुभारम्भ तथा प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनगणना कुनैपनि देशका लागि महत्वपूर्ण विषय हुने उल्लेख गरे ।

जनगणनाको तथ्याङ्कबाट मात्र मुलुकको विकासका लागि गुरुयोजना तयार गर्न सकिने मुख्यमन्त्री शाहीले जनाए । उनले भने, “आजदेखि गणकहरु तपाईंहरुको पूर्ण विवरण लिन घर–घरमा आउनुहुन्छ । सबैले आफ्नो यथार्थ, तथ्य र सत्य विवरण टिपाउनुहोस् । यसमा व्यक्तिले संस्कृतिदेखि प्रकृतिसम्मको विवरण उपलब्ध गराउनुपर्नेछ । विवरण कसैले नलुकाउनुस्, तपाईहरुलाई सोधिने व्यक्तिगत विवरण तथ्याङ्क ऐन, २०१५ अनुसार गोप्य राखिने छ ।” 

मुलुक सङ्घीयता गएपछि पहिलो पटक आगामी मङ्सिर ९ गतेसम्म आयोजना हुने  जनगणनामा  मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश जनगणना अधिकारी पोमनारायण पौडेलसमक्ष आफ्नो पारिवारिक विवरण टिपाए । जनगणना अधिकारी पौडेलले बढी बसोबास गर्ने ठाउँबाट घरमूली मार्फत पूर्ण विवरण लिइने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप