शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

टी २० विश्वकप : अस्ट्रेलियाको टप अर्डरलाई अफ्रिदीको त्रास

बिहीबार, २५ कात्तिक २०७८, १३ : २९
बिहीबार, २५ कात्तिक २०७८

युएई र ओमानमा जारी टी २० विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज अस्ट्रेलिया र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल दुबई अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ । पाकिस्तान सन् २००९ को विजेता हो । यता, सर्वाधिक ५ पटकको एकदिवसीय विश्वकप विजेता अस्ट्रेलियाले टी २० फम्र्याटको उपाधि एकपटक पनि जित्न सकेको छैन । उसको उत्कृष्ट प्रदर्शन भनेकै २०१० को फाइनल हो, त्यतिबेला इङ्ग्ल्यान्डले अस्ट्रेलियालाई ७ विकेटले हराएको थियो । 

अस्ट्रेलियाका कप्तान आरोन फिन्च आफ्नो टिमले जित हासिल गर्नका लागि सुरुवाती ओभरमा शाहीन अफ्रिदीको चालबाट जोगिनुपर्ने बताए । ‘यदी टिमले जित्ने हो भने सुरुवाती ओभरमा फास्ट बलर साहिन अफ्रिदीको चालबाट बच्नुपर्ने हुन्छ । तबमात्रै अस्ट्रेलियाले जित्ने अवसर बन्छ,’ उनले भने ।

लिइसकेका छन् ६ विकेट  

आईसीसी टी २० विश्वकपका ५ खेलमा साहीन अफ्रिदीले केवल ६ विकेटमात्र लिएका छन् । तर पनि विपक्षी टिमका टप अर्डरका ब्याट्सम्यानहरूलाई सबैभन्दा ठूलो डर उनकै रहन्छ । यी बायाँ हाते बलरले समूह चरणको खेलमा भारतविरुद्ध १० विकेटको जीत निकाल्ने क्रममा महत्वपूर्ण भूमिका खेलेका थिए । यस खेलमा उनले ३१ रन दिएर रोहित शर्मा, विरोह कोहली र केएल राहुलको विकेट लिए ।

भारतको टप अर्डर ध्वस्त बनाएका यी बलरविरुद्ध अस्ट्रेलियाका शीर्ष क्रमका ब्याटस्म्यान आरोन फिन्च र डेभिड वार्नर कसरी उत्रन्छन् भन्ने कौतुहलता अहिले धेरैलाई छ । ‘उनको पहिलो स्पेल निर्णायक साबित हुनसक्छ । उनी निकै फर्ममा छन् । त्यसैले यो एक कडा प्रतिस्पर्धा हुनेछ, यसमा शंका छैन,’ खेलअघि आयोजित पत्रकार सम्मेलनमा फिन्चले भने । 

फिन्चले विश्वकपमा अस्ट्रेलियाका तेज बलरहरुको पनि प्रशंसा गरे । मिचेल स्टार्क, जोस हेजलउड र प्याट कमिन्सले युएईको परिस्थिति अनुकुल बलिङ गरिरहेको उनले बताए । हेजलउडले वेस्ट इन्डिजविरुद्ध ४ विकेट लिदैं अस्ट्रेलियालाई सेमिफाइनलतर्फ डोहोर्याएका थिए । स्टार्कले प्रतियोगितामा ७ विकेट लिइसकेका छन् । 

ब्याटिङ
अस्ट्रेलियाका शीर्ष क्रमका ब्याट्सम्यान निकै फर्ममा छन् । जारी प्रतियोगितामा अस्ट्रेलियाले बनाएको ६ सय ४० रनमध्ये ४ सय २ रन शीर्ष तीन नम्बरका ब्याट्सम्यानको नाममा छ । इङ्ल्यान्ड र दक्षिण अफ्रिका विरुद्धमात्रै अस्ट्रेलियाको मिडिल अर्डर सामु रन बनाउनुपर्ने दबाब थियो । र, यसका लागि मिडिल अर्डरले संघर्ष गरेको देखियो ।

त्यहीकारण यदि अफ्रिदीले फिन्च, डेभिड वार्नर र मिट्चेल मार्सलाई चाडैं पेभेलियनको बाटो देखाउन सके भने अस्ट्रेलिया पक्कै दबाबमा पर्नेछ ।  यसका बाबजुद स्टिभ स्मिथ र ग्लेन म्याक्सवेलजस्ता आक्रामक ब्याट्सम्यान पनि अस्ट्रेलियासँग छन्, तर उनीहरुको वास्तविक खेल जारी विश्वकपमा देखिएको छैन । यता, पाकिस्तानको शीर्ष क्रम पनि निकै बलियो छ । कप्तान बाबर आजम र मोहम्मद रिजवान निकै फर्ममा छन् ।

समूह चरणका ५ खेलमध्ये बाबरले ४ खेलमा अर्धशतक कटाएका छन् । मध्यक्रमका अनुभवी ब्याट्सम्यान सोयब मलिक फर्ममा छन्, उनले अफगानिस्तान र न्युजिल्यान्डविरुद्ध रन चेस गर्ने क्रममा पाकिस्तानलाई विजयी गराउन राम्रो योगदान गरेका थिए ।

स्कटल्यान्डविरुद्ध अर्धशतक प्रहार गरे । त्यसैगरी, फिनिसर आसिफ अली पनि लयमा देखिएका छन् । त्यसैगरी, अस्ट्रेलियाका मार्कस् स्टोइनिज र पाकिस्तानका मोहम्मद हाफिज कुनै पनि समय खेल परिवर्तन गर्नसक्ने क्षमता भएका खेलाडी हुन् । 

पछिल्लो प्रदर्शन 
पाकिस्तानले समूह चरणमा सबै खेल जितेर समूह विजेताका रुपमा सेमिफाइनल यात्रा गरेको हो । उसले यसक्रममा भारत, न्युजिल्यान्ड, अफगानिस्तान, स्कटल्यान्ड र नामिबियालाई हराएको थियो । यता, अस्ट्रेलियाले समूहको उपविजेताका रुपमा सेमिफाइनल यात्रा गरेको हो । दक्षिण अफ्रिका, वेस्ट इन्डिज, बंगलादेश र श्रीलंकाविरुद्ध जित निकालेको अस्ट्रेलिया इङल्यान्डसँग पराजित भएको थियो । 

सम्भावित टोली 
अस्ट्रेलिया : डेभिड वार्नर, आरोन फिन्च (कप्तान), मिचेल मार्स, स्टिभ स्मिथ, ग्लेन म्याक्सवेल, मार्कस् स्टोनिस, माथियु वाडे (विकेटकिपर), पाट कुमिन्स, मिचेल स्टार्म, एडम जाम्पा, जोस हजलउड 
पाकिस्तान : बाबर आजम (कप्तान), मोहम्मद रिजवान (विकेटकिपर), फकर जमान, मोहम्मद हाफिज, सोयब मलिक, आसिफ अली, सदाब खान, इमाद वासिम, हसन अली, ह्यारिस रौफ, साहिन शाह अफ्रिदी

​तथ्याङ्क 
आईसीसीको आयोजनामा भएका कुनै पनि प्रतियोगितामा पाकिस्तानले अस्ट्रेलियालाई नकआउट चरणमा हराउन सकेको छैन । १९८७ को एकदिवसीय विश्वकप सेमिफाइनल, १९९९ को एकदिवसिय विश्वकप फाइनल, २०१० को टी २० विश्वकप सेमिफाइनल र २०१५ को एकदिवसिय विश्वकप क्वाटरफाइनलमा अस्ट्रेलियाले पाकिस्तानलाई हराएको थियो ।

पाकिस्तानले अस्ट्रेलियाविरुद्ध तीनपटक टी २० विश्वकपमा जित निकालेको छ, तर यी तीनवटै भिडन्त समूह चरणमा भएका थिए । समग्रमा दुई देशबीच भएका टी २० भिडन्तमा भने पाकिस्तान अघि छ । कुल २२ भिडन्तमध्ये पाकिस्तानले १३ र अस्ट्रेलियाले ९ खेल जितेका छन् । यी दुई टिम युएईको मैदानमा यसअघि ७ पटक आमने–सामने भइसकेका छन् ।

त्यसमध्ये ५ खेल पाकिस्तानले जितेको छ । अस्ट्रेलियाले दुई खेलमात्रै जितेको छ । युएईमा पाकिस्तानले पछिल्ला १६ खेल लगातार जितेको छ । उनीहरु अन्तिमपटक, नोभेम्बर २०१५ मा शारजहाँमा सुपर ओभरमा इङल्यान्डसँग पराजित भएका थिए । 

अस्ट्रेलियाको इतिहासमै सर्वाधिक धेरै टी २० रन बनाउने तीन खेलाडी (फिन्च, वार्नर र म्याक्सवेल) अहिलेको टिममा छन् । त्यसैगरी, सर्वाधिक धेरै विकेटले लिने बलर (जाम्पा र स्टार्क) पनि यही टोलीमा छन् । 

पिचको अवस्था 
यसअघिका खेलहरुको नतिजा हेर्दा युएई अन्तर्राष्ट्रिय रंगशाला ब्याट्सम्यानहरुका लागि उपयुक्त हुने देखिन्छ । टस कसले जित्छ भन्ने कुराले खेलमा निकै ठूलो महत्व राख्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप