
जब पुरुषले गर्भवती भएको महसुस गर्छन्, के तपाईंलाई यो स्थितिबारे थाहा छ ?

आमा बन्नु संसारकै सुन्दर अनुभूतिमध्ये एक भएजस्तै पिता बन्नु पनि जीवनको एक विशेष अध्याय हो । तर पिता बन्न लागेका पुरुषले उनकी गर्भवती पार्टनरले झैं महसुस गरिरहेका छन् भने के होला ? बान्ता आउनु वा आउला जस्तो महसुस हुनु र ती सबै समस्या जुन आमा बन्न लागेकी एक महिलामा देखिन्छ । यो स्थितिबारे भारतकी स्त्रीरोग विशेषज्ञ डा. प्रगति अग्रवाल र वरिष्ठ मनोचिकित्सक डा. धर्मेन्द्र सिंहले कुराकानी गरेका छन् ।
के हो प्रेग्नेन्ट ड्याड सिन्ड्रोम ?
वास्तवमा यो स्थितिमा पुरुषले पेट फुल्ने, तनाव, पिँडुला बाउँडिने, तौल बढ्ने, ढाड दुख्ने, छाती पोल्ने, भोक कम लाग्ने, सुत्न समस्या हुने, यौनेच्छामा कमी महसुस गर्छन् । यो ती लक्षण हुन् जुन उनकी गर्भवती पार्टनरले महसुस गरिरहेकी हुन्छिन् । हुन त यस्तो भएको निकै कमै सुन्न पाइन्छ तर संसारभरी यस्ता थुप्रै घटनाबारे कुरा भइरहेका छन् । अनुसन्धानका अनुसार यो कुनै समस्या होइन जसका लागि औषधीको आवश्यकता पर्छ । यो केही समयका लागि हुने मानसिक स्थिति हो ।
के पुरुषले गर्भावस्था महसुस गर्छन् ?
हर्मोनल परिवर्तन एउटा कारणः
गर्भवती भएपछि महिलामा मात्रै नभई पुरुषमा पनि पिता बन्ने उत्सुकताका कारण हर्मोनल परिवर्तन हुन्छन् । एक शोधका अनुसार गर्भवती पार्टनरको पहिलो र अन्तिम त्रैमासिकका बेला पुरुषमा प्रोलेक्टिन र एस्ट्रोजको स्तरमा बढोत्तरी र टेस्टोस्टेरोन र कार्टिसोलमा कमी देखियो । त्यसैले उनीहरु आफू गर्भवती भएको महसुस गर्छन् ।
मनोवैज्ञानिक, सामाजिक कारणः
अनुसन्धानपछि प्राप्त जानकारीका अनुसार पुरुषलाई आफ्नो पार्टनरले बच्चा जन्माउन सक्ने तर आफूले नसक्ने भन्दै पार्टनरसँग जलन हुन्छ । त्यसैले पुरुष मातृत्वको अनुभूति गर्ने मानसिक स्थितिमा आफू गर्भवती भएको महसुस गर्न थाल्छन् ।
आफूलाई जिम्मेवार मान्नुः
थुप्रै पटक पुरुषले आफ्नो पार्टनरमा देखिएको समस्या र उनको शारीरिक परिवर्तनका लागि आफूलाई जिम्मेवार मान्छन् । यस्तोमा उनीहरुले आफूलाई दोषी महसुस गर्छन् । उनीहरु आफूलाई आफ्नो पार्टनरको दुःखसँग जोडेर हेर्ने गर्छन् तसर्थ उनीहरुलाई पनि आफू गर्भावस्थाको लक्षण महसुस हुन थाल्छ ।
बच्चासँग भावनात्मक रुपमा जोडिनुः
थुप्रै पटक पिता बन्ने खुसी पुरुषलाई यतिसम्म भावुक गरिदिन्छ कि उनीहरु बच्चाको हरेक गतिविधिसँग आफूलाई जोड्ने गर्छन् । बच्चाको क्रियाकलापले जसरी आमा बन्न लागेकी महिलालाई पीडा र समस्यामा पार्छ पुरुषले पनि आफूमाथि यस्तै भइरहेको महसुस गर्न थाल्छन् ।
कस्तो छ विज्ञको धारणा ?
यसबारे स्त्रीरोग विशेषज्ञ डा. प्रगति अग्रवालका अनुसार पुरुषमा यो समस्या त्यतिबेला देखिन्छ जब उनले आफ्नी श्रीमतीमाथि असाध्यै सहानुभूति राख्छन् । पार्टनरमा देखिने समस्या उनीहरुको दिमागमा यतिसम्म बस्छ कि उनीहरु आफैं पनि गर्भावस्थाको प्रक्रियाबाट आफू पनि गुज्रिएको महसुस गर्छन् । यस्तो महसुस भएको खण्डमा पुरुषलाई मनोचिकित्सकलाई भेट्न सल्लाह दिइन्छ किनभने यो कुनै रोग नभई मानसिक स्थिति हो ।
यो समस्याको विषयमा वरिष्ठ मनोचिकित्सक डा. धर्मेन्द्र सिंह भन्छन्, ‘यस्ता समस्या लिएर म भएठाउँ केही मानिस आएका छन् । ’
यस्तो किन हुन्छ त भनेर सोधिएको प्रश्नमा उनले भने, ‘बच्चासँग अति नै बढी अट्याच हुनु यसको सबैभन्दा ठूलो कारण हो । यद्यपि, भारतमा यस्तो केस विदेशको तुलनामा निकै कम पाइन्छ । यस्तो यसकारण किनभने यहाँको जीवनशैली भिन्न छ । मानिसहरु जन्मिन लागेका बच्चाको आवश्यकता पूरा गर्नमा यति उल्झिएका हुन्छन् कि उनीहरुले नयाँ पाहुनालाई महसुस गर्दै बाँच्ने मौका नै पाएका हुँदैनन् ।’
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ