शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिरहामा उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सकियो (तस्बिरसहित)

बिहीबार, २५ कात्तिक २०७८, ०७ : ५४
बिहीबार, २५ कात्तिक २०७८

सिरहामा उदाउँदो सूर्यलाई अर्घ्य दिँदै श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्व आजबाट विधिवत रुपमा सम्पन्न भएको छ । हिजो बेलुका जलासयहरुमा भेला भएर अस्ताउँदो सूर्यलाई अर्घ्य दिई रातभर भजन किर्तनगरी आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै विधिवत रुपमा समापन भएको हो । 

कात्तिक शुक्ल चौथी देखि सप्‍तमीसम्म विभिन्न विधिपूर्वक मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरुले व्रत सङ्कल्प गरी स्नान गरेर चोखो नितो खाएका थिए । पहिलो दिनको यो विधिलाई स्थानिय बोलीचालीको भाषामा ‘नहाय–खाय’ भनिन्छ । मूलतः सूर्य देवको उपासना गरिने छठ पर्वको दोस्रो दिन पञ्चमी तिथिमा व्रतालुले दिनभरी निराहार व्रत बसी राति सख्खरमा पकाइएको खीर मात्र खाएर ‘खरना’ विधि गरेका थिए । त्यस्तै, षष्टी तिथीको दिन अर्थात सन्ध्याकालीन र आज प्रभातकालीन सूर्यको अर्घ्य​ दिएपछि चार दिवसीय छठ पर्व ​विधिवत रुपमा समापन भएको हो ।

छठ पर्वका लागि पूजा सामग्री र नैवेद्य तयार गर्दा अत्यन्त सावधानीका साथ ख्याल गर्नु पर्छ । यस पर्वमा ढिकी–जाँतोमा परम्परागत तरिकाले कुटिएको र पिसिएको गहुँ तथा चामलको पीठोबाट बनाइएका ठकुवा, भुसुवा, मिष्टान परिकार, माटोको भाडामा जमाइएको दही, उखु, मौसम अनुसारका फलफूल, कोसिया कुरवार लगायतका पूजा सामग्रीहरूले सूर्यलाई अर्घ्य ​ दिने प्रचलन रहेको छ ।

निर्धनता, निःसन्तानबाट मुक्ति पाउन एवम् मानव जातिको उत्थान गर्न र आरोग्यका लागि यो पर्व मनाउने गरिएको जनविश्वास रहेको छ । सूर्यको आराधनाबाट चर्मरोगी निको हुने, सन्तान र धन लाभ हुने जनविश्वास छ । आरोग्य र दीर्घायुसँग जोडिएको छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यहरू पनि पाइन्छ ।

सुरुमा तराइवासीले मात्र मनाउने यो पर्व अब अन्य जाति एवम् समूदायका मानिस तथा राजधानी लगायत पहाडमा पनि मनाउन थालेका छन् । यस वर्षको छठ शान्तिपुर्ण र सौहार्दपुर्ण रुपमा सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप