आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्रिय जनगणना सफल पार्न ओलीको सन्देश

बुधबार, २४ कात्तिक २०७८, १९ : ३४
बुधबार, २४ कात्तिक २०७८

 पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोलि (बिहीबार) बाट सुरु हुने राष्ट्रिय जनगणना सफल पार्न सबैमा आग्रह गरेका छन् । बिहीबार कै मिति राखेर बुधबार सार्वजनिक गरिएको उनको सन्देशमा राष्ट्र विकासका लागि आवश्यक पर्ने महत्त्वपूर्ण तथ्यांक उपलब्ध गराउने जनगणना जस्तो महाअभियानको पूर्व सफलताको कामना गरिएको छ ।

‘जनगणनाले कुन ठाउँमा कति मानिसको बसोबास छ, कुन समुदायका र कुन उमेरका मानिसको बसोबास छ, शिक्षा स्वास्थ्य र मानव विकासको अवस्था के छ भन्ने देशैभरिका नागरिकको सूचना एकैपटक उपलब्ध गराउँदछ,’ सन्देशमा ओलीले भनेका छन्, ‘त्यतिमात्र होइन, देशमा रोजगार, बेरोजगार नागरिक कति छन्, वैदेशिक रोजगारीमा छन्, यी सबै जानकारी जनगणनाबाट नै प्राप्त हुन्छ ।’

केन्द्रीय तथ्याङ्क विभागले मूल तथा सहायक गरी ८० वटा प्रश्नमार्फत समाजका विभिन्न अवस्थाका बारेमा एकीकृत रुपमा जानकारी लिएका आधारमा निर्माण भएका तथ्याङ्क प्रयोग गरेर लक्षित वर्गको उत्थानका लागि यथार्थपरक योजना बनाउन सकिने उनको भनाइ छ ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो जनगणना पनि भएकाले संघीयता अवलम्बन गरिसकेपछि यसले जनतालाई राज्यले उपलब्ध गराउने सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन के कस्तो रणनीति अपनाउनु पर्छ भन्ने मार्ग निर्देशनसमेत यसबाट हुने उनले सन्देशमा उल्लेख गरेका छन् ।

आफ्नो घरमा आउने गणकलाई सही विवरण टिपाएर सहयोग गर्न आह्वान गर्दै उनले आफ्ना पार्टीका नेता, कार्यकर्ता, जनप्रतिनिधि लगायतलाई पनि यस कार्यमा सघाउन आग्रह गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप