लिम्बुवानको लिखत खोज्दा भोगेको दुःख !
मेरो जन्मथलो आठराई, तेह्रथुम हो । २०३९ सालमा लोकसेवा आयोगबाट अधिकृत स्तरमा प्रवेश गर्दा मैले नेपालको इतिहास केही अध्ययन गरेँ । त्यसबेला नै सेन तथा शाह राजाहरूबाट प्रदान गरिएका केही सरलीकृत स्याहामोहर र लालमोहरहरू पढ्न पाएको थिएँ । पल्लो किरात लिम्बुवान क्षेत्रमा प्रदान गरिएका सक्कल स्याहामोहर, लालमोहर तथा अन्य दस्तावेजहरू उचित समयमा खोजविन गर्ने सोच मनमा गढेको थियो । त्यस उप्रान्त यस्ता विभिन्न ऐतिहासिक ग्रन्थहरू अध्ययन गर्ने क्रम जारी राखेँ ।
हिजोआज राज्यले दैनन्दिन कानूनी व्यवस्था कायम राख्न संविधान अनुसार ऐन, कानून र नियमावली जारी गर्छ । मल्ल कालमा भोजपत्र, ताम्रपत्र, थ्यासफुमा लेखिन्थ्यो । सेनकालको करिब उत्तरार्ध र शाहकालबाट स्याहामोहर, लालमोहरको प्रचलन सुरू भयो । स्याहामोहर, लालमोहरमा लेखिएका विवरणबाट लिम्बुवानमा खान्गी बापत् जग्गा, सुब्बाङ्गी दिएको देखिन्छ । राज्यले लिम्बुवानका लिम्बू याक्खा, आठपहरिया, खम्बूलाई राय, राई भनी सम्बोधन गरी लालमोहर कागजात दिएको थियो । किपट पाएका लिम्बू र याक्खाहरूलाई सुब्बा, राई पगरी र मझिया भनिन्थ्यो ।
इङ्नाम लिम्बूको वंशावली अनुसार मेरो रोलक्रम ५० औँ पुस्तामा छ । मेरा हजुरबुबाका हजुरबुबा ४६ औँ पुस्ताका कृष्णध्वज र हजुरबुबाका बुबा (च्याब्जु) ४७ औँ पुस्ताका डिल्लीराम इङ्नामले सुब्बाङ्गी पाएका थिए । किपटियाले आफनो किपट क्षेत्रमा रस्ती चलाई बस्ती बसाउने (रैती बसाउने) अधिकार थियो र किपट क्षेत्रका जनतार रैतीबाट मालपोत र तिरो उठाई सरकारमा बुझाउने, वन जङ्गल संरक्षण गर्ने, विकास निर्माणको कार्य गर्ने, ठिङ्ग्र्रो मुङ्ग्रो ठोक्ने, मुद्दा(मामिला फत्ते गर्ने अधिकार पाई शान्ति–सुरक्षा कायम गर्नेसमेत अधिकार थियो । त्यस्तो सुब्बाङ्गी अधिकार सेखपछि क्रमशः उत्तराधिकारीमा सर्दै जान्थ्यो । उदाहरणका लागि मेरा हजुरबुबाका हजुरबुबाले पाएको किपटिया सुब्बाको अधिकार स्वयं मेरा पिता काजीमान इङ्नामले २०२१–२०२३ ताका उपभोग गरे ।
इतिहाससम्बन्धी पुस्तकहरू पढ्दै गएपछि मलाई लिम्बुवानका अझसम्म नलेखिएका कुरा लेख्नुपर्छ भन्ने लाग्यो । मैले बाल्यकालदेखि देख्दै र अनुभव गर्दै आएको सुब्बाङ्गी प्रथा थियो । यसबारे केही कुरा लेखिएका थिए । तर, वृहद्रूपमा सामग्री प्रकाशित भएका थिएनन् ।
रैतीले किपटिया सुब्बालाई जमिनको तिरो तिर्नु पर्थ्यो । अर्थात रैतीहरू बुबाकहाँ २०२१–२०२३ ताका तिरो तिर्न आउँथे, कहिले सुब्बा स्वयं रैतीकहाँ तिरो उठाउन जान्थे । बुबाको वारिस भई मेरो दाइ मोतिबहादुर इङ्नाम कहिलेकाहीँ तिरो उठाउन रैतीकहाँ जान्थे । म पनि दाइसँगै जान्थेँ । यसक्रममा तिरो बुझेको भरपाई रसिद लेखिदिन्थेँ । बदलामा तिरोका अतिरिक्त एक माना चामल दिन्थे । रैतीले सुब्बालाई बेठीबापत वर्षमा पाँच खेताला सघाउँथे ।
दसैँँमा रैतीहरू सुब्बाको घरमा सिसार (कोसेली) लिएर टीका लगाउन आउँथे । उनीहरूले खसी–बोकाका फिला, घिउ, दही, केरा, कुराउनी तथा मतवाली रैतीहरूले रक्सीसमेत ल्याउँथे । उजुर बाजुर पर्दा सुब्बाको घरमा कचहरी पञ्च बसी मुद्दा–मामिलाबारे न्याय निसाफ गर्थे । यसरी मैले बाल्यकालमै केही मात्रामा सुब्बाको काम कर्तव्य बुझ्ने अवसर पाएँ ।
इतिहाससम्बन्धी पुस्तकहरू पढ्दै गएपछि मलाई लिम्बुवानका अझसम्म नलेखिएका कुरा लेख्नुपर्छ भन्ने लाग्यो । मैले बाल्यकालदेखि देख्दै र अनुभव गर्दै आएको सुब्बाङ्गी प्रथा थियो । यसबारे केही कुरा लेखिएका थिए । तर, वृहद्रूपमा सामग्री प्रकाशित भएका थिएनन् ।
म र नाताले दाइ पर्ने शेरबहादुर इङ्नामले मिलेर २०७० सालमा ‘तेह्रथुम जिल्लामा सुब्बाङ्गी प्रथा’ पुस्तक लेख्यौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशन भएको उक्त पुस्तक लेख्न मालपोत कार्यालय तेह्रथुममा कैयौँ हप्ता पुराना ढड्डा हेर्थ्यौँ ।
अहिलेसम्म प्रकाशमा नआएका राजाद्वय पृथ्वीनारायण र प्रतापसिंह शाहको शंकास्पद मृत्यु टिपोट दस्तावेज पनि समावेश छ । त्यस्तै, महाराज जंगबहादुर राणाको दुर्लभ सही वा हस्ताक्षर भएको सकल इस्तिहार र सुब्बा, राई, थरीले हातहतियार लिई युद्धको बेला ओलाङ्चुङ गोला आउनू भन्ने उर्दी गरिएको आदेश पनि छ ।
मालअड्डाको ढड्डाका आधारमा तेह्रथुम जिल्लामा विसं १८६७ साल सम्ममा ७ जना सुब्बा थिए । त्यसताका सुब्बाबाट फुटी सुब्बा हुने नीति अनुसार सम्वत १९९७ सम्ममा सुब्बा, राईगिरी, फुटीसुब्बा, ठिङ्गेसुब्बा गरी जम्मा ८०४ जना सुब्बा भएको निष्कर्ष निकालेका थियौँ ।
विसं.२०७१ सालमा धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) का रूपमा काम गरेँ । त्यसबेला, धनकुटा जिल्लाका प्रायः सबैजसो सुब्बासँग भएका ऐतिहासिक कागजातको टिपोट गर्ने अवसर मिल्यो । २०७५ सालमा मेरो ‘लिम्बूजातिको इतिहास’ पुस्तक प्रकाशन भयो । उल्लिखित २ पुस्तक लेखिरहँदा मेरो मस्तिष्कमा ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह’ पुस्तकको खाका तयार हुँदै गएको थियो । सेवानिवृत्त भएपछि खोज–अनुसन्धान कार्यमा लागेँ ।
‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्र्रह’ मा १७१९–२०२० सालसम्मका जम्मा ३९५ वटा ऐतिहासिक कागजात छन् । ती कागजात जारी गरिएको आधारमा ३ भागमा विभाजन गरिएका छन् । पहिलो भागमा सक्कल स्याहामोहर, लालमोहर र कस्यरूक्काहरू छन् । दोस्रो भागमा स्याहामोहर, लालमोहर, कस्यरूक्काका नक्कल र तेस्रो भागमा इस्तिहार, भारदार र तत्कालीन सरकारी कार्यालय प्रमुखबाट प्रदान गरिएका कागजात सुब्बा र रैतीले राजा वा सरकारमा चढाएका बिन्तीपत्रहरू, रैतीहरूले न्याय निसाफ पाउन सुब्बासमक्ष चढाएका फिराद–पत्रहरूसहित सुब्बाले गरेका न्यायिक फैसलाहरू छन् ।
साथै, अहिलेसम्म प्रकाशमा नआएका राजाद्वय पृथ्वीनारायण र प्रतापसिंह शाहको शंकास्पद मृत्यु टिपोट दस्तावेज पनि समावेश छ । त्यस्तै, महाराज जंगबहादुर राणाको दुर्लभ सही वा हस्ताक्षर भएको सकल इस्तिहार र सुब्बा, राई, थरीले हातहतियार लिई युद्धको बेला ओलाङ्चुङ गोला आउनू भन्ने उर्दी गरिएको आदेश पनि छ ।
त्यस्तै, गैरलिम्बूलाई दिइएको सुब्बाङ्गी र गैरलिम्बुवान क्षेत्रको किपटभूमि व्यवस्था बारेका केही कागजात पनि तुलनात्मक अध्ययनका लागि समावेश गरिएको छ । लिम्बुवान क्षेत्रमा सुब्बाले रैतीहरूबाट तिरो उठाई सरकारमा बुझाएका रसिदसहित अन्य करहरू उठाई सरकारमा बुझाइएका कागजात पनि संग्र्रहित छन् । जस्तै– गोडधुवा बापतका करहरू (राजकुमारीको विवाहमा दिइने दाइजो बापतको रकम आदि) समावेश छन् ।
यस्ता कागजातहरू राज्यका सम्पत्ति हुन् । तर, त्यस्ता कागजात पुरानिया सुब्बा, फुटीसुब्बा, राईगिरी, मझियाका घरमा जतनबेगर मक्किँदै, सड्दै गएको अवस्थामा थिए । मेरो ब्रह्मले त्यस्ता महत्वपूर्ण कागजात तुरुन्त सङ्कलन गरी प्रकाशमा नल्याए केही दशकपछि नष्ट हुन्छ भन्ने बतायो ।
खोज अभियान
यी ऐतिहासिक दस्तावेज खोज अभियानको मुख्य अध्ययन क्षेत्र ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा, काठमाडौँ, ललितपुर र भक्तपुर लगायत हो । यी क्षेत्रका विभिन्न व्यक्ति र सरकारी कार्यालयहरूमा कागजपत्रको खोज र अध्ययन गरियो ।
तेह्रथुम क्षेत्रको कागजात खोज्ने क्रममा नाताले फुपाजू पर्ने रामबहादुर तुम्बाहाम्फेसँग सम्पर्क गरेँ । उनले मैले खोजेका कागजात काठमाडौँस्थित डिल्लीबजार मालपोत कार्यालयमा पाउन सकिने बताए । डिल्लीबजार पुगी केही ऐतिहासिक कागजातहरू सङ्कलन गरेँ । पुस्तकमा समावेश भएका कतिपय कागजातहरू यस्तै सूचनाकै आधारमा प्राप्त गर्न सकेको हुँ ।
यस्तै, ऐतिहासिक कागजात सम्बन्धित लालमोहोरिया वा पुराना सुब्बा, राईपगरी, फुटीसुब्बा, तिरुवासुब्बा र इतिहासमा रुचि राख्ने व्यक्तिहरूसँग हुन्छन् भन्ने हेक्का थियो । ‘लिम्बूजातिको इतिहास’ लेख्ने क्रममा लिम्बुवानभित्रका थुमथुमका सुब्बाहरूको नामसमेत टिपोट गरेको थिएँ । यसैका आधारमा धेरैजसो सुब्बाका सन्ततिका घर–घरमा पुग्न सजिलो भयो ।
लिम्बुवानका सबै जिल्लाका अधिकांश सुब्बाका सन्तति काठमाडौँ उपत्यका वा तराईमा बसोबास गरेका छन् । राजाबाट लिम्बूहरूलाई लालमोहरबाट सुब्बाङ्गी र राई पगरी दिइएका थिए । त्यस्ता दस्तावेजहरू पनि उनीहरूसँगै हुन सक्ने भएकाले सबै जिल्लाका प्रबुद्ध व्यक्तिहरूसँग सम्पर्क गरी सुब्बाहरू र पाएसम्म कागजात हुनसक्ने सम्भावित व्यक्तिहरूको नाम, ठेगाना र सम्पर्क नम्बर टिपोट गरेँ ।
माझ किराततर्फ भोजपुर र खोटाङ जिल्लाका मित्रहरूसँग सम्पर्क गरेँ । कागजात हुने सम्भावित सुब्बाहरू खोज्ने क्रममा उपत्यकामा रहेका लिम्बू समुदायका थरविशेष व्यक्तिहरूसँग पनि सम्पर्क गरी निजका वंशमा कागजात हुनसक्ने सुब्बाहरूको नाम टिपोट गरियो ।
कागजात खोज्दै जाँदा सोचेजस्तो सजिलो भएन । किन चाहियो, केका लागि चाहियो, के गर्नु हुन्छ, कसलाई दिनुहुन्छ, के पाउनु हुन्छ आदि प्रश्न गर्थे । काठमाडौँबाट बाटो पहिल्याउँदै बल्लतल्ल पुगेको घरमा उल्लिखित प्रश्नको जवाफ दिँदादिँदा हैरान भइन्थ्यो । धेरैले आफ्नै निजी खर्चमा घुम्दै हिँडेको पक्कै होइन होला भन्थे ।
मैले भन्ने गरेको कुराचाहिँ त्यस्ता कागजात प्रकाशित गर्नुपर्छ किनभने, यस्ता कागजात समुदाय तथा राष्ट्रकै सम्पति हुन् । खोजबिन गरी प्रकाशित नगरे निकट भविष्यमा नाशिन्छन् । राज्य र लिम्बुवान क्षेत्रबीच आदान–प्रदान भएका साना–ठूला सबै कागजातको फेहरिस्त गर्न सकियो भने इतिहास रहन्छ । यसैले, व्यक्तिगत चाहना र आफ्नै निजी खर्चमा कागजात खोज्दै हिँडेको हो भनेर बताउँथे ।
दस्तावेज खोज्ने शिलशिलामा तेह्रथुम फेदाप गाउँपालिका पोक्लाबाङ् जाँदा लप्टन लीलाबहादुर पङ्यांगु लिम्बूको घरमा तीन बोरा ऐतिहासिक कागजात थिए । धेरै कागजात उनकै सहमतिमा काठमाडौँ ल्याएँ । ती कागजात बाकस बनाई सुरक्षित राख्न भनी केही रकम दिएँ । कागजात अभिलेखालयमा अभिलेकीकरण र मर्मत गराई आफूले प्रयोग गरेँ र पूरै कागजात काठमाडौँ कोटेश्वरमा पसल गरी बस्ने निजकी छोरीलाई बुबालाई पठाइदिनू भनी हात लगाइदिएँ । पछि सुनेँ, कागजात दिने लीलाबहादुरको निधन भएछ ।
म उनीहरूलाई प्रष्टसँग अनुरोध गर्दथेँ कि विश्वास लागे सक्कलप्रति नै दिनुहोस्, काठमाडौँ लगी राष्ट्रिय अभिलेखालयमा समेत अभिलेखीकरण गरी अभिलेखालयबाटै टिकाउ हुने गरी मर्मत र स्क्यानिङ पनि गरेर प्रकाशनका लागि प्रयोग गर्छु र सक्कलप्रति जस्ताको त्यस्तै फिर्ता गर्छु । सक्कलप्रति नदिए त्यसको फोटो खिचेर लैजान्छु ।
गाउँ नजिक स्क्यानिङ गर्ने ठाउँ भए त्यहाँसम्म लगेर स्क्यान गर्दथेँ । गाउँमा नभए सदरमुकाम गई स्क्यानिङ गरी इमेल, पेनड्राइभ, क्यामेरा र मोबाइलमा गरी चार(चार ठाउँमा ब्याकअप राख्दथेँ । कतिको फोटो नै खिच्थेँ । काठमाडौँ आउनासाथ हार्ड डिक्समा सार्थें । यसरी ज–जसले सक्कल दिए, इमान्दारिताका साथ राष्ट्रिय अभिलेखालयमा अभिलेख राखी र मर्मत समेत गरेर फिर्ता गरिदिएको छु ।
माथिको आरोपित प्रश्नमा के सत्यता पनि छ भने एक ताका झुण्डका झुण्ड मानिसहरू पुराना सामग्री धेरै मोलमा बिक्री हुने भ्रममा लिम्बुवानका गाउँघर चहार्दै पुराना पैसा, स्यालको सिङ् र सि माला खोज्दै पुराना चिहानसमेत भत्काउँदै हिँड्दथे । म पनि ‘लिम्बूजातिको इतिहास’ किताब लेख्ने क्रममा पुराना ऐतिहासिक सामग्रीहरू ढाल, तरवार, खुँडा र लालमोहरहरू पनि खोज्दै चाहार्दै डुलेको थिएँ ।
पछिल्लो पटकको घुमाइमा कागजातवाला सहमत भए तुरुन्तै उपलब्ध गराउथे । केहीले भने पहिले थियो, फालियो वा सडेर गयो भन्थे । कतिले अर्कै ठाउँ बसेका तिनका दाजुभाइका परिवारले पो लगेका छन् भन्थे । फेरि, त्यतै जान्थेँ । यसरी घुम्दा गाउँमा यस्ता कागजात को–कोसँग छ भन्नेचाहिँ पत्तो पाइन्थ्यो ।
दस्तावेज खोज्ने शिलशिलामा तेह्रथुम फेदाप गाउँपालिका पोक्लाबाङ् जाँदा लप्टन लीलाबहादुर पङ्यांगु लिम्बूको घरमा तीन बोरा ऐतिहासिक कागजात थिए । धेरै कागजात उनकै सहमतिमा काठमाडौँ ल्याएँ । ती कागजात बाकस बनाई सुरक्षित राख्न भनी केही रकम दिएँ । कागजात अभिलेखालयमा अभिलेकीकरण र मर्मत गराई आफूले प्रयोग गरेँ र पूरै कागजात काठमाडौँ कोटेश्वरमा पसल गरी बस्ने निजकी छोरीलाई बुबालाई पठाइदिनू भनी हात लगाइदिएँ । पछि सुनेँ, कागजात दिने लीलाबहादुरको निधन भएछ ।
तेह्रथुम फेदाप गा.पा. ३ मेरिङ्बुङ् पङ्यांगु परिवारकहाँ केही कागजात भएको कुरा सोधीखोजी गर्दा पत्ता लाग्यो । आफू आउनाको कारण बताएँ । झपक्क साँझ परेकाले सो रात त्यहीँ बास बसी कागजात हेर्ने मनसाय पोख्दा सकारात्मक सङ्केत पाइनँ । बस्ने ठाउँ होटल देखाइदिनू, भोलि बिहान आउँछु भनेँ । तर, उनले ‘बत्ती छँदैछ, अहिले हेर्नू म मोटरसाइकलमा पुर्याइदिन्छु’ भन्दा ढुक्क भएँ ।
पुरानो डेलीमा राखेको कागज–पत्र केही काम लाग्ने थिए । ‘मलाई काम छैन, फाल्ने विचार गरेको थिएँ लैजानू’ भनेपछि मैले पनि ‘यी महत्वपूर्ण कागजात हुन्, प्रयोग गरी काठमाडौँ राष्ट्रिय अभिलेखालयमा अभिलेखीकरण गरेर मर्मत गरी पठाउँछु’ भनेँ । उनैले मोटरसाइकलमा सोही गाउँको सानो बजारमा पुर्याए । यो २०७५ साल फागुन ३ गतेको कुरा हो ।
अनायासै, ती कागज दिने व्यक्ति भोलिपल्ट बिहानै म बसेको होटलमा आए । ‘कागजात नदिनू रे’ भनी तुरून्त फिर्ता लाने कुरा गरे । उनले रातभर चिनजानसँग सम्पर्क गरेछन् । ‘अनमोल भाउमा बिक्री हुन्छ’ भनिदिए होलान् । अनि मैले प्रस्ताव राखेँ, ‘एक–डेढ घण्टामा तेह्रथुमको म्याङ्लुङ बजार पुगिन्छ । मोटरसाइकलमा तेल हालिदिन्छु । बजारमै खाना खाऊँ । स्क्यानिकङ गर्छु र कागजात फिर्ता लिनु’, तर उनले मान्दै मानेनन् ।
पुराना कागजात मिलाउन पत्रिकाभित्र राखेर हल्का आइरन गर्नुपर्छ । गाउँको होटलमा आइरन भेटिएन । मोबाइलबाट केहीको फोटो खिची उनलाई त्यहीँ फिर्ता गरेँ । यो पुस्तकमा ती कागजात पनि सङ्ग्रहित छन् ।
कागजात खोज्ने क्रममा ताप्लेजुङ फुङ्लिङ् बजारमा एक हप्ता बसेँ । पूर्वमन्त्री विष्णुकुमार मादेनका छोराहरूकहाँ कागजात हुन सक्ने जानकारी पाएँ । तर, पाउन कठिन हुन्छ कि भन्ने सूचना पनि पाएँ । उनका जेठा छोरा चन्द्र मादेन अमेरिकामा १८ वर्ष बसी स्वदेश फर्केका थिए । उनी मेरो छोरा अतीत इङ्नामसँग पहिले अमेरिकामा रूम पार्टनर रहेछन् । अहिले छोरा क्यानडामा छन् । मैले छोरालाई फोन गरेर व्यहोरा बताएँ । छोराले तुरून्तै चन्द्र मादेनलाई फोन गरिदिए । चन्द्र मादेनको घरमा गएँ । चारवटा सक्कल लालमोहर सेफमा सुरक्षित राखेका रहेछन् । निजहरूको मागबमोजिम स्रोतमा उपनामसमेत दुबै दाजुभाइको नाम उल्लेख गरेको छु ।
कागजात खोज्ने क्रममा पाँचथर फेदेन (फिदिम) बजारमा बसेको थिएँ पाँचथर याङ्नाम आकासेका बृजहाङ्पति जबेगुकहाँ धेरै कागजात हुन सक्ने कुरा सुनेको थिएँ । उनी सो भेगमा नाम चलेका राजनीतिज्ञ पनि थिए । उनी २०१३ सालमा किपट थमौतिका लागि काठमाडौँमा जाने प्रतिनिधि मण्डलका सदस्य पनि हुन् । उनी शेरबहादुर इङ्नामका मामा पर्ने भएकाले शेरबहादुर दाइलाई फोन गर्न लगाएँ । त्यसका लागि गाडीबाट आकासे गाउँ पुगें । आकासेमा सानो बजार रहेछ । त्यहाँबाट सिक्किम नजिक पर्ने ।
गोलाकार बोत्तलको सिक्किमे रम खरिद गरेँ । घर सोध्दै खोज्दै झमक्क साँझमा पुगेँ । औपचारिक चिनजान गरेँ । दाइको मामालाई मैले पनि मामा साइनो लगाएँ । उनले कुखुराको भाले र तोङ्बाले भव्य स्वागत गरे । मैले कुराकानी गर्दै आतुरसाथ आफू आउनाको योजना बताएँ । कागजात हुन सक्ने सुब्बाहरूको फेहरिस्त भन्दै भोलि बिहानै उनका छोराले पुर्याउने वचन दिए ।
योजनाअनुसार उनका छोरासँग चार जना सुब्बाहरूकहाँ गइयो । कतै कागजात पाउन सकिएन । उकालो, ओह्रालो असिन–पसिन हुँदै साँझमा आकासे पुगियो । वहाँसँग भएका कागजातको कुराकानी भयो । लाइट र लालटिन लिई वहाँ तलामा चढ्नुभयो । निकैबेरपछि वि.सं. १९७२ मा चन्द्रशमशेरबाट जारी भएको एउटा सक्कल इस्तिहार लिएर झर्नुभयो । त्यस्ता इस्तिहार लिम्बुवानभरिका सुब्बाहरूलाई जात अनुसार सेनामा भर्ती हुन आह्वान गरी जारी गरिएका थिए ।
म सबै कागजात हेर्न र आवश्यक कागजात फोटो खिच्न चाहन्थेँ । तर, घुमाउरो पारामा सबै बाकसका सबै कागजात हेर्न नदिने आसय व्यक्त गर्नुभयो । जोडबल गर्ने कुरा भएन । वहाँको एउटै कागजातमा चित्त बुझाउनु पर्यो ।
पाँचथर रानीगाउँका नरेन्द्र सम्बाहाङ्फेकहाँ लालमोहर भएको जानकारी पाएँ । पूर्वराजसभा स्थायी समिति सदस्य बमबहादुर सम्बाहाम्फेबाट घर पत्ता लगाई नरेन्द्रको घर जाँदै गर्दा बाटोमा पानी दर्कियो । बाटोमा गाउँ थिएन मुसाझैँ निथ्रुक्क भिजियो । बल्ल घर खोज्दै पुग्दा नरेन्द्र भेटिएनन् । उनकी भाइबुहारी दाउरा काट्ने खेतालाका लागि डोकोमा खाजा बोकी प्लाष्टिक ओढेर उकालो वनतिर लागिन् ।
पानी रोकिएन, घरको पालीमा ओत लाग्दै बसियो । जाडोले मुटु काम्यो । सम्झना भएसम्म जाडोले त्यतिबिघ्न लुगलुग कामेको पहिलो पटक हो । पानी रोकिएपछि पुनः वहाँको घरमा गइयो । मेरो दर्दनाक स्थिति देखेपछि वहाँले भन्नुभयो ‘आज मेरो घरमा बस्ने, भिजेको लुगा सुकाउने, मेरो लुगा फेर्ने वा बुइँगलमा आगो बाल्ने र सिरक ओढी बस्ने ।’
एक सरकारी कार्यालयमा ‘कागजात अध्ययन गर्न र प्रकाशित गर्न पाऊँ’ भनी निवेदन लिएर गएँ । महानिर्देशकले निवेदन हेरे र अर्का निर्देशक तथा सम्बन्धित फाँटवालालाई बोलाई छलफल गरे । छलफलमा निष्कर्ष निस्कियो, निवेदनमा लेखिएका कागजात प्रकाशित गर्दा जातीय सद्भाव बिथोलिन्छ । यसरी ती कागजपत्र दिन नसकिने र मन्त्रालयको स्वीकृति चाहिने जवाफ आयो ।
विकल्पहरू स–सम्मान अस्वीकार गरी वहाँलाई धन्यवाद दिँदै तुरून्तै फेदेन फिर्ता भयौँ । फेदेनबाटै बाहक समेत मोटरसाइकल भाडामा लिएको थिएँ । बाटामा घाम लाग्दै गयो । लुगा पनि अलिलि सुक्दै गए । फेदेनको होटलमा आई लुगा फेरियो ।
छथरथुम तेह्रथुम ओख्रेका प्रेमभक्त तुम्खेवाकहाँ ऐतिहासिक कागजात भएको जानकारी पाएँ । उहाँको घरमा गई आफ्नो उद्देश्य बताएँ । कागजात देखाउनुभन्दा पहिले शर्त राख्नुभयो, म झसङ्ग भएँ । उहाँले सिधै भन्नुभयो, ‘पुस्तकमा मेरो फोटो राख्ने भएमात्र दिन्छु ।’ शर्त सहज लाग्यो । पहिले उहाँको तस्बिर क्यामेरा र मोबाइलमा खिच्ने काम गरियो ।
कागजात महत्वपूर्ण रहेछन् । केही सक्कल पनि थिए । यस पुस्तकका स्रोत व्यक्ति धेरै छन् । सबैको तस्बिर राख्न सम्भव थिएन । साथै, स्रोत व्यक्ति उल्लेख गर्दा एकरूपता पनि हुनुपर्यो । कसैको फोटो राख्नु, कसैको नराख्नु अन्याय हुन्छ । यसमा एउटा जुक्ति फुर्यो । विसं. २०१३ सालमा किपट थमौती गर्न लिम्बुवानका प्रतिनिधि मण्डलमा सदस्य भई प्रेमभक्त तुम्खेवा काठमाडौं पुगेका थिए । सो समयमा लिम्बुवानबाट १७ थुमका २ जनाका दरले ३४ जना काठमाडौँ जाने निर्णय भएको तर जाँदा २९ जनामात्र भएछन् । सामूहिक फोटो खिचाउँदा २५ जनामात्र उपस्थित थिए । तीमध्ये जीवित २ जना पाँचथरका बृजहाङ्पति जबेगु र तेह्रथुमका प्रेमभक्त तुम्खेवाको फोटो पुस्तकमा समावेश गर्न सजिलो भयो । यसले, स्रोत व्यक्तिको मनोभाव बुझियो भने तथ्याङ्क प्राप्त गर्न सकिने रहेछ भन्ने ज्ञान हुन्छ ।
गाउँघरमा ऐतिहासिक सामग्री पुराना काठका बाकस, टिनका बाकस, डेली, पेटारो, बाँसको ढुंग्र्रो र कपडामा पोको पारी राखेको पाइयो । केहीले यस्ता कागजातका महत्व बुझेकाले सेफमा समेत राखेका थिए । केही कागजात सुरक्षित त केही तुरून्तै संरक्षण गर्नुपर्ने अवस्थामा थिए । कतिपय कागजात धमिरा र किराले खाएर नष्ट भएका र केही पढ्न नसकिने अवस्थामा फेला परे ।
केही कागजात मुसाले काटेको, गुँड बनाएको र मुसाको लिँडैलिँड भएको त कतै कच्याक्कुचुक एउटै डल्लो पारेर कुनामा राखी बेहाल स्थितिमा रहेको पनि पाएँ । त्यस्ता नाशिएका, बिग्रिएका, च्यातिएका सामग्रीलाई अभिलेखालयबाट मर्मत गर्न सके पढ्न र अक्षर उतार गर्न सकिने अवस्था थियो ।
एक सरकारी कार्यालयमा ‘कागजात अध्ययन गर्न र प्रकाशित गर्न पाऊँ’ भनी निवेदन लिएर गएँ । महानिर्देशकले निवेदन हेरे र अर्का निर्देशक तथा सम्बन्धित फाँटवालालाई बोलाई छलफल गरे । छलफलमा निष्कर्ष निस्कियो, निवेदनमा लेखिएका कागजात प्रकाशित गर्दा जातीय सद्भाव बिथोलिन्छ । यसरी ती कागजपत्र दिन नसकिने र मन्त्रालयको स्वीकृति चाहिने जवाफ आयो ।
मालपोत कार्यालय डिल्लीबजारको अभिलेख शाखामा सम्बन्धित मन्त्रालयका चिनजानका सचिवको सोर्स लगाएर मात्र कागजात प्राप्त गर्न सकियो । विदेशमा रहेका व्यक्तिबाट सामग्री जुटाइयो । यस्ता सबै बृतान्त लेख्दा निकै पन्ना थपिने भएकाले यहाँ बयान गरिनँ । पुस्तकमा पहिल्यै प्रकाशित नभएका कैयौँ ऐतिहासिक कागजात समेटिएका छन् ।
निवेदनमा ‘पल्लो किरात लिम्बुवान सम्बन्धी कागजात हेर्न र प्रकाशित गर्न पाऊँ’ भन्ने व्यहोरा थियो । यो वाक्य नै निजहरूका लागि जातीय सद्भाव बिथोलिने सवाल भएछ । सौभाग्यवश सोही मन्त्रालयमै एक चिनजानका सचिव थिए । आखिर, उनकै सहयोगले हेर्न र प्रकाशित गर्न पाएँ ।
राष्ट्रिय अभिलेखालयमा भएका कागजातहरू वैज्ञानिक तरिकाले कैयौँ वर्षसम्म सुरक्षित रहने अवस्थामा छ । अभिलेख शाखा डिल्लीबजारको कागजात २०७२ सालभन्दा अघि सुरक्षित भरपर्दाे अवस्थामा थिए । तर, २०७२ को महाभूकम्पले भवन भत्किएपछि ती कागजात भरपर्दो गरी सुरक्षित राखिएको पाइएन । कतिपय पोकाहरू पानीले भिजेर कागजमा प्वाल परेको, असंख्य कागजातहरूको सूची समेत तयार नरहेकाले पोका खोली हेर्नुपर्ने अवस्था रहेको छ ।
२०७५ मङ्सिर २७ गते मेरा लागि एक सुखद् क्षण रह्यो । कागजात खोज गर्दै भतिज टपन इङ्नामसँग धनकुटाको राजारानी केन्द्र बनाई चौबीस थुममा पुगियो । धनकुटा बुढीमोरंगका देव इवाहाङ्सँग कागजात भएको सूचनाका अधारमा फोन गरेँ । इङ्नाम इवाहाङ् एकै बन्धु हुँदा नातामा उनी नाति हुन् । उनीसँग भएको कागजात सुरक्षित राख्न धरानका के.बी. इवाहाङलाई दिएका रहेछन् ।
खोजी गरेको कागजात धरानको एक साइबरमा प्रोसेसिङ गर्दैगर्दा तिनै नातामा भतिज पर्ने के.बी. इवाहाङ केही कागजात लिई साइबरमा आए । कागजात देखाउँदै ‘यो कुन भाषा हो बुझ्नै सकिएको छैन’ भने । यसो नजर लगाएँ । मैथिली अक्षरबाट लेखिएको सम्वत १८१४ को सक्कल स्यामोहर रहेछ । अरे बाफरे ! सक्कल स्याहामोहर ! साथमा संवत् १८५६ को लालमोहर पनि । शाहकालीन लालमोहर अन्य स्थानमा पाइएको भए पनि सक्कल स्याहामोहर कतै पाइएको थिएन । आनन्दले पुलकित भएँ । सो दिन जस्तो खुशी सायदै भएको थिएँ ।
साबिक जैसीकोठा हाल परराष्ट्र मन्त्रालयमा भएका अभिलेखहरू पछिल्लो पटक २०६७ सालमा राष्ट्रिय अभिलेखालयमा बुझाइए पनि औपचारिक हस्तान्तरण भएको छैन । ती सामग्री अध्ययन गर्न परराष्ट्र मन्त्रालयको स्वीकृति चाहिँदो रहेछ । निवेदन लेखेर परराष्ट्र मन्त्रालय गइयो । निवेदनमा स्याहामोहर, लालमोहार, कस्यरुक्का र इस्तिहार भन्ने शब्द परेको थियो । फाँटवालाले अर्थ जान्न चाहे । मौखिक भन्दा नपत्याएपछि भोलिपल्ट १३५० पृष्ठको नेपाल बृहन् शब्दकोष र ५५८ पृष्ठको बाबुराम आचार्यको श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सङ्क्षिप्त जीवनी लगायत पुस्तकका पाना देखाएँ । त्यसपछि मात्र टिप्पणी उठाउने काम भयो ।
मालपोत कार्यालय डिल्लीबजारको अभिलेख शाखामा सम्बन्धित मन्त्रालयका चिनजानका सचिवको सोर्स लगाएर मात्र कागजात प्राप्त गर्न सकियो । विदेशमा रहेका व्यक्तिबाट सामग्री जुटाइयो । यस्ता सबै बृतान्त लेख्दा निकै पन्ना थपिने भएकाले यहाँ बयान गरिनँ । पुस्तकमा पहिल्यै प्रकाशित नभएका कैयौँ ऐतिहासिक कागजात समेटिएका छन् ।
सुब्बाङ्गी पाउने सुब्बाले सरकार र जनताप्रति गर्नुपर्ने कर्तव्य, निर्वाह गर्नुपर्ने उत्तरदायित्व तथा सुब्बालाई प्रदान गरिएका अधिकारहरू उल्लेख गरिएका कागजातहरू पनि समावेश छन् । यो कागजात राज्य, शासक र जनताबीचको दोहोरो इतिहास हो । अतः यस पुस्तकले तथ्यपरक इतिहास लेखनमा सहयोग गर्नेछ भन्ने अपेक्षा गरेको छु ।
पुरस्कार घोषणा
पुस्तक प्रकाशन भयो । मदन पुरस्कार पाउने आश त के, कल्पनासमेत नगरेकाले पुरस्कारका लागि निवेदन दिने सोचै थिएन । शुभेच्छुकको सल्लाह अनुसार मदन पुरस्कार गुठीमा पुस्तक दर्ता गरेँ । उप्रान्त त्यस्तो चासो पनि दिइनँ । किनकि, एकरति पनि यस्तो गहन पुरस्कार पाउने आशै थिएन ।
यो वर्षका २२२ कृतिमध्ये शीर्ष ९ वटामा मेरो पुस्तक समावेश भएको सूचना केही शुभेच्छुक मार्फत् थाहा पाएँ । प्रारम्भिक चरणमा यो कृति पर्नु नै कता हो कता विजय भएको अनुभूत गरेँ । अति प्रफुल्लित भएँ । अग्रज, साथीभाइ, इष्टमित्र चिनजानका मित्रजनले बधाई दिँदै पुरस्कार प्राप्तिको अग्रिम शुभकामना दिए ।
यो पुरस्कारले मलाई हर्षित मात्र तुल्याएको छैन, यसले त अझ गह्रुंगो कर्तव्यबोध पनि भएको छ । पुस्तकको तयारीको उद्देश्यमै दर्शाएको छु कि यहाँ समावेश भएका कागजात पूर्ण छैनन् । बाँकी कागजातहरूको पनि खोजबिन गरी प्रकाशन गर्ने थप दायित्व छ । यसो नगरे हराएर वा नासिएर नष्ट हुने छन् । अब बाँकी समय पनि यसै कार्यमा समर्पित गर्ने अठोट लिएको छु ।
प्रारम्भिक छनोटमा परेका सबै पुस्तक खरिद गरेँ । तिनलाई भाषा र विषयवस्तु उठानको हिसाबले पढेँ । लेखनशैली नदीझैँ बगेका अरू पुस्तक सामु मेरो कृतिको उचाइ नपुग्ने ठहर्याएँ । मेरो कृतिको विषयमा सम्बद्ध छनोट समितिका सदस्यहरूको चित्तमा गढेछ भनेर खुशी भएँ । यद्यपि, विषयवस्तुको दृष्टिले अरूसँग समकक्षी जस्तै १९–२० नै पाएँ ।
सबैभन्दा पहिले एक शुभचिन्तक अन्नपूर्ण पोष्टका संवाददाताले बधाइ दिँदै मेरो कृति पुरस्कृत भएको जानकारी दिए । सुरुमा त पत्याउनै सकिनँ । उनैले, मदन पुरस्कार गुठीको विज्ञप्ति मेसेन्जरमा पठाए । अनिमात्र विश्वस्त भएँ । खुसीको सीमा रहेन । जीवनको अहिलेसम्मकै उत्कृष्ट सफलता प्राप्तिको अनुभूति भयो । बधाईको वर्षा भयो ।
नातागोता, इष्टमित्र, शुभचिन्तक, गुरूजनलगायत मान्यजनहरूबाट समेत बधाई पाउन थालेँ । पत्रकारहरूले पत्रिका, एफएम, टेलिभिजनका लागि अन्तरवार्ता लिए । धेरै अनलाइन माध्यमहरूले वार्ता गरी समाचार छापे । राष्ट्रिय दैनिक कान्तिपुर, गोरखापत्र, अन्नपूर्ण पोष्ट र द काठमाण्डु पोष्ट, हिमालखबर आदिमा समाचार, अन्तरवार्ता र समीक्षा प्रकाशित भए ।
यो पुरस्कारले मलाई हर्षित मात्र तुल्याएको छैन, यसले त अझ गह्रुंगो कर्तव्यबोध पनि भएको छ । पुस्तकको तयारीको उद्देश्यमै दर्शाएको छु कि यहाँ समावेश भएका कागजात पूर्ण छैनन् । बाँकी कागजातहरूको पनि खोजबिन गरी प्रकाशन गर्ने थप दायित्व छ । यसो नगरे हराएर वा नासिएर नष्ट हुने छन् । अब बाँकी समय पनि यसै कार्यमा समर्पित गर्ने अठोट लिएको छु ।
नेपाल एक बहुभाषिक, बहुऐतिहासिक, बहुसांस्कृतिक र बहुपहिचानले भरिएको सुन्दर मुलुक हो । यहाँ हरेकले फुल्न र फल्न पाउनुपर्छ । यहाँका हरेक समुदायमा यस्ता मणितुल्य ऐतिहासिक कागजातहरू हुन सक्ने प्रबल सम्भावना छ । सबै जातजाति तथा समुदाय सिङ्गो देशका जग र जरा हुन् । जग बलियो भए घर बलियो हुन्छ । जरा बलियो भए रूख दह्रिलो हुन्छ ।
यी जगका आधार र जराहरूको नशा खोजी एकीकृत गर्न सके देशको तथ्यपरक इतिहास लेख्न सकिन्छ । यसरी, समाजको जग र जरा मजबुत पार्न सम्बद्ध समुदायको शीर उठाउने अनुष्ठान ‘माङ्गेना’ गर्नुपर्दछ । मलाई विश्वास छ, अरू अध्येयताहरूले पनि सम्बन्धित ठाउँ, क्षेत्रमा रहेका ऐतिहासिक कागजातहरू खोजबिन गर्नुहुनेछ । राज्यले सबै जाति र समुदायको शीर उठाउने पुरोहित, फेदाङ्मा वा साम्बाका रूपमा नेत्तृत्व लिन जरूरी छ । यसले यस्ता इतिहासका जग र जराबाट सिङ्गो देशको माङ्गेना (शीर) उठ्नेछ ।
विसं. २०१२ सालमा स्थापित मदन पुरस्कार गुठीले सुरूमा साहित्यिक क्षेत्रमा मात्र पुरस्कार प्रदान गर्दै आएकोमा २०२४ सालको मदन पुरस्कार ‘नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास’ नामक साहित्येतर कृतिलाई दिई पुरस्कारको क्षेत्र व्यापक बनायो । यसै मेसोमा, २०७७ सालको मदन पुरस्कार मेरो कृति ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्र्रह’लाई प्रदान गरिएको छ । यस्तो गरिमामय पुरस्कारले मलाई सम्मानित गरेकोमा सर्वप्रथम गुठीका श्रद्धेय अध्यक्ष, सञ्चालक समितिका पदाधिकारी तथा मूल्याङ्कन समितिका समग्र सदस्यज्यूहरूमा हार्दिक आभार व्यक्त गर्दछु ।
यतिखेर, मैले भन्नैपर्छ, यो पुरस्कारबाट म मात्र होइन, पुस्तकमा परेका अभिलेखहरू उपलब्ध गराउने समस्त मान्यवरहरू पनि पुरस्कृत हुनुभएको छ । साथै, यसले म जस्ता अन्य ऐतिहासिक कागजात खोज अनुसन्धानकर्तालाई पनि उत्प्रेरणा जगाउने आशा गरेको छु ।
धन्यवाद १ नोगेन, सेवारो ।
(२०७७ सालका मदन पुरस्कार विजेता भगिराज इङ्नामले कात्तिक २४ गते बुधबार पाटनको रातोबंगला स्कुलमा आयोजित पुरस्कार वितरण समारोहमा प्रस्तुत गरेको मन्तव्यको सम्पादित अंश ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिथानोल विषाक्तताका कारण लाओसमा चौथो पर्यटकको मृत्यु
-
सर्वोच्चको आदेशसँगै मापदण्ड भित्रका संरचना तत्काल भत्काउन नपाइने, के हुन्छ अबको प्रक्रिया ?
-
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
-
कांग्रेसले विद्यमान आर्थिक अवस्था र सुधारका उपायबारे छलफल गर्दै
-
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन संशोधन विधेयक फिर्ता
-
सिंहदरवारमा मन्त्रिपरिषद बैठक जारी