शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

छठ पर्वमा चलायमान अर्थतन्त्र, गरिबलाई भने ऋणको बोझ

बुधबार, २४ कात्तिक २०७८, १५ : ५८
बुधबार, २४ कात्तिक २०७८

आज तराई मधेशलगायत देशैभर छठ पर्व मनाइदै छ । साँझमा अस्ताउँदो सूर्यलाई अर्घ दिन ब्रतालुहरू जलाशयमा पुग्न थालेका छन् । छठको तेस्रो दिन साँझमा सूर्य देवताको पूजा गरिन्छ । जलाशय घाटमा ब्रतालुहरू रातभरि जाग्राम बसी विहान उदाउँदो सूर्यको अर्घ्य दिइ छठ पर्व समापन हुन्छ । छठ पर्वको धार्मिक मान्यताअनुसार जेजस्तो महत्व भएपनि यसमा कृषिको पनि निकै महत्व रहेको छ । 

सबै किसिमको कृषि उपजको प्रयोग गरी मनाउन थालिएको पर्वको रूपमा छठ पर्वको विकास भैरहेको छ । छठ पर्वमा पूजाका लागि संकलन गरिने सामग्री हेर्दा यो सहजै पुष्टि हुन्छ । यो पर्व मनाउन षष्ठी तिथिका दिन ६० वस्तुहरूको संख्या पुर्याउनु पर्ने विधान छ । यो संख्या पुगेन भने त्यसको ठाउँमा गम्हरी धानको चामल राखे पुग्ने पनि जनश्रुति विद्यमान छ । यो पर्वमा गहुँको पीठो, नरिवल, किसमिस, दालचिनीजस्ता मसला, घिउ, चिनी, भेलीको सम्मिश्रणबाट बनाइएको ठकुवा, खजुरी आदि बनाइन्छ । त्यस्तै, चामलको पीठोबाट भुसुवा, मैदा सुजीको परिकार बनाइन्छ । 

बाँस र माटोका भाँडोहरूमा यी मिठाइसँगै विभिन्न प्रकारका फलफूल, बेसारको गाँठी, अदुवा, विभिन्न प्रकारका तरकारी, मूला, गाजर, हल्डी, ओल, कागती, उखुलगायत कृषिजन्य वस्तु राखिन्छ । साना, ठूला मझ्यौला खालका माटाका भाँडाहरूमा यी वस्तु राखिन्छ । बाँसको ढकिया, कोनियाँ, नाङ्लो, चलनीमा पनि यी वस्तुहरू राखिन्छ । यसरी यस मौसममा प्राप्त हुने प्रायः सबैजसो कृषिका उपजहरू प्रयोग गरेको पाइन्छ ।

छठ पर्व ग्रामीण अर्थतन्त्रमा आधारित पर्व मानिन्छ । पत्रकार चन्द्रकिशोरका अनुसार नदी वा पोखरी किनारमा समुदायका सबै ब्यक्ति समान रूपमा उपस्थित भई गाउँघरमै अर्थात् आफ्नै खेतबारीबाट उपलब्ध हुने सामग्रीको संयोजन गरी मनाइन्छ यो पर्व । प्रकृतिपुरूष सूर्यप्रति अर्घ दिने अनुष्ठानभित्रको मूलतत्व प्रकृति समक्ष सबै जाति समान हुन् तथा आत्मस्वावलम्बनलाई प्रोत्साहन दिने लोकपर्व हो छठ । छठमा प्रसादका रूपमा चढाइने सामग्री ठकुवा, भुसवा, उखु, माटोको हात्ती, ढकना, कोसिया कुर्वार, केरा, मूला, बेसार, पिंडालु, गेडागुडी, फलफूल आदिले स्थानीयताको उत्कृष्ट र मनोरम चाहना प्रस्तुत गरेको उनले बताए ।

कृषिकार्यका लागि सूर्य र जल अपरिहार्य हो । वरिपरिका उत्पादन जसले पोषण दिन्छ जो श्रम र साधना गर्न सघाउँछ, स्वस्थ्य चिन्तन गर्न बल दिन्छ । डा. राजेन्द्र विमलको ‘मिथिलाको इतिहास, संस्कृति र कला परम्परा’ पुस्तकमा छठ पर्वलाई आर्यहरूको सूर्य उपासना परम्पराको एक अंग भनिएको छ । सो पुस्तकमा यो पर्व अत्रि मुनिकी पत्नी अनुसुयाले व्रत गरेको पनि उल्लेख छ ।

छठमा आर्थिक कारोबार

दशैं तिहारमा आर्थिक कारोवार उच्च भएजस्तै छठमा पनि त्यस्तै कारोवार हुने गर्छ । यो व्यापार काठमाडौं शहरभन्दा तराई मधेशको शहरमा बढी हुने गरेको छ । दशैंपछि सबैभन्दा महत्वपूर्ण र ठूलो पर्व भएको हुनाले यसमा पनि त्यतिकै कारोबार हुने गरेको उद्योग वाणिज्य महासंघ सिरहाका अध्यक्ष अशोक अमात्यले बताए । 

‘कपडालत्ताको व्यापार त्यति नभएपनि अन्य खाद्यान्न, तेल, घिउ, चिनी, सख्खड, आँटा, चामल, फलफूलको व्यापार अत्याधिक हुने गरेको छ,’ अमात्यले भने, ‘सामान्य समयभन्दा छठमा ३० देखि ४० प्रतिशत व्यापार बढी हुन्छ । कतिपय ठाउँमा ५० प्रतिशतभन्दा बढी व्यापार हुन्छ । छठ पर्व नै यस्तो पर्व हो, जसमा हरेक वस्तुको किनमेल हुन्छ ।’ व्रत गर्ने प्रत्येक व्रतालुले एउटा एउटा साडी अवश्य किन्छन् ।

विश्वभरिका मानिसहरूले छठ पर्व मनाउने भएका हुनाले सबै चाडपर्वजस्तै छठ पर्व पनि अर्थतन्त्रको हिस्सा बन्न पुगेको छ । तर दुई वर्षदेखि कोरोनाले व्यापारमा असर गर्दै आएको सिरहा लहानका कपडा व्यापारी राकेश चौधरीले बताए । गत वर्षभन्दा यसपटक व्यापारमा वृद्धि भएपनि पहिलाजस्तो व्यापार नरहेको जनाउँदै उनले भने, ‘अहिले पनि कारोनाको डरले मानिसहरू भीडभाडमा आउँदैनन् । त्यसैले व्यापारमा कमी आएको छ ।’ 

एक अध्ययन अनुसार छठमा मात्र देशभर ५ अर्बभन्दा बढीको कारोबार हुने गरेको अनुमान छ । करिब २५ लाखभन्दा बढी घरपरिवारले यो पर्व मनाउने गरेका छन् । एउटा परिवारले जनही दुई हजारको दर मात्र खर्च गर्यो भने पनि पाँच अर्ब हुन जान्छ । छठमा ६० भन्दा बढी प्रकारका सामग्री प्रसादका रुपमा तयार पारिने भएकाले आर्थिक कारोवार हुने पर्वको रुपमा यस पर्वलाई लिइन्छ । छठ जस्ता पर्वमा अर्थतन्त्रको चलायमनले विपन्न समुदायका लागि आम्दानीको स्रोत बन्न पुग्नु राम्रो पक्ष हो । 

चोखो हुने दिन हजामको परिवारले आआफ्ना यजमानको कपाल दाढी काट्ने, नंग काट्ने गर्छन् । अहिले त्यो मान्यता बिस्तारै हराउँदै गइरहेका छन् । त्यस्तै, मालीले घर घर गएर फूल दिने चलन छ । समाजबाट वस्तु साटफेरको चलन हटेपछि उनीहरूले त्यही अनुसारको नगद पाउने गर्दथे । अहिले यो सबै परिवर्तन भई व्यापारको रूप लिएको छ । यसले अर्थतन्त्र चलायमान हुने गरेको छ । तर यसको दुर्बल पक्ष भनेको गरिबहरूलाई ऋण गरी पर्व मनाउन बाध्यता छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एसके यादव
एसके यादव
लेखकबाट थप