बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय जनगणनाको सबै तयारी पूरा, लिपुलेक र कालापानीमा पनि जनगणना हुने

बुधबार, २४ कात्तिक २०७८, २२ : ०७
बुधबार, २४ कात्तिक २०७८

१२ औं राष्ट्रिय जनगणनाको मुलगणना बिहीबारदेखि देशभर सुरु हुने भएको छ । त्यसका लागि सबै तयारी पुरा भएको केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । 
उनले पहिलो चरणको सूचीकरण कार्यक्रम सम्पन्न भइसकेको र भोलिदेखि पहिलो चरणबाट छुटेका घर परिवारलाई समेत समावेश गरेर जनगणनाको मुलगणना कार्य सुरु गरिने बताए । उनकाअनुसार जनगणनाका लागि ४० हजार हारहारीमा गणक खटिनेछन् भने ८ हजार ५०० सुरपरीक्षेक पनि संलग्न हुनेछन् । 

जनगणनाका लागि सातै प्रदेशका साथै जिल्लास्तरका ८७ स्थानमा जनगणना कार्यालय स्थापना भएका छन् भने स्थानीय स्तरमा पनि ३४९ कार्यालय स्थापना भएको श्रेष्ठले जानकारी दिए । उनका अनुसार जनगणना भोलि बिहानदेखि सुरु भएर मंसिर ९ गतेसम्म सञ्चालन हुनेछ । 

महानिर्देशक पछिल्लो समय जन्मदर कम देखिएको, अन्तर्राष्ट्रिय बसाइँ सराइलगायतका कारण अहिले ३ करोड जनसंख्या भनिएपनि त्यो संख्या नपुग्ने देखिएको  बताए । जनगणनाबाट आउने विवरणबाट नै जनसंख्याको वास्तविक आकार, प्रकार र संरचना थाहा हुने भएकाले सबै पक्षबाट जनगणनालाई सफल बनाउन सकारात्मक भूमिका आवश्यक रहेको उनको भनाइ छ । 

‘हाम्रो आर्थिक क्रियाकलापदेखि लिएर सामाजिक, विभिन्न, जाती, भाषा, धर्म, क्षेत्र, वर्ग, लिंग, उमेर समूह र समग्रतामा हामी कुन अवस्थामा छौँ भन्ने कुरा जनगणनाबाट थाहा हुन्छ’, उनले भने, ‘आज भाग नलिएको खण्डमा यसको प्रभाव पर्छ नै । गणना सकिसकेपछि भाग लिन पाइएन भन्ने गुनासो नआओस् भन्नका लागि यसमा अहिले नै भाग लिन निकै जरुरी छ ।’ उनले एक जना गणकले सरदर १५ दिनमा १७५ घरपरिवारको गणना गर्नुपर्ने पनि बताए । 
उनले १५ दिनभित्र कुनै पनि हालतमा जनगणना गरिसक्ने पनि बताए । उनले जनगणनाका तथ्यांकको दुरुपयोग हुन नदिन आफूहरु सचेत रहेको र सबै तथ्यांक गोप्य रहने पनि बताए । 

महानिर्देशक श्रेष्ठले नेपालको नक्सामा समेटिएको भूगोल लिपुलेक, लिम्पियाधुरा र कालापानीमा भारत सरकारले सहज रुपमा आवत् जावत् गर्न दिएमा भौतिक रुपमा उपस्थित भएर जनगणना गरिने बताए ।  त्यसरी आवत् जावत् गर्न नदिएमा अन्य स्रोतहरुको प्रयोग गरेर जनगणना गरी सो क्षेत्रको अनुमानित विवरण प्रकाशन गरिने उनको भनाइ छ । 

‘भारतीय सरकारबाट सहज आवत् जावत् दिने र जनगणना गराउने अवस्था रह्यो भने हामी फिजिकली गएर त्यहाँ जनगणना गर्छौ । कारणवश गर्न नसकेको अवस्था रह्यो भने त्यत्तिकै छोड्ने हुँदैन । कालापानि, लिपुलेक, लिम्पियाधुरा क्षेत्रको इन्फरमेशन हामीले अरु स्रोतहरुबाट र त्यहाँसँग सम्बन्धित अरु व्यक्तिहरुबाट या नजिक हाम्रो एक्सेस भएको ठाउँबाट लिदाखेरी लगभग ७०० देखि ८०० सम्मको हाराहारीमा जनसंख्या त्यहाँ रहेको छ भन्ने प्रारम्भिक कुरा हामीले प्राप्त गरेका छौँ ’, उनले भने, ‘अहिले प्रविधिको विकास साह्रै राम्रो भएको छ । स्याटेलाइटहरु प्रयोग गरिकन ती क्षेत्रहरुमा कति घर छ भन्ने त सजिलैसँग काउन्ट गर्न सक्छौँ । एउटा घरमा एभरेज परिवार कति बस्दो रहेछ भन्ने ती विवरणहरु लिनपनि हामीलाई गाह्रो हुँदैन । यसरी त्यहाँको केही अनुमानहरु हामी निकाल्न सक्छौँ । त्यो अनुमान सहितको रिपोर्ट हामी प्रकाशन गर्नेछौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप