शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

स्टेफेन जेरार्डलाई प्रशिक्षक बनाउने एस्टन भिल्लाको योजना

बुधबार, २४ कात्तिक २०७८, १५ : १२
बुधबार, २४ कात्तिक २०७८

इंलिस प्रिमियर लिग क्लब एस्टन भिल्ला लिभरपुलका पूर्व मिडफिल्डर स्टेफेन जेरार्डलाई प्रशिक्षक नियुक्त गर्ने योजना बनाएको छ । फुटबल सम्बन्धी वेवसाइट गोलडटकमका अनुसार भिल्लाको पहिलो प्राथमिकतामा जेरार्ड छन् । यसअघि आइतबारमात्रै भिल्लाले प्रशिक्षक डिन स्मिथलाई बर्खास्त गरेको थियो । 

प्रिमियर लिगमा आउने विषयमा जेरार्ड खुला देखिएका छन् । र, भिल्लाका कार्यकारी प्रमुख क्रिष्ट्रियन पुरस्लोसँग उनको व्यक्तिगत सम्बन्ध पहिल्यैदेखि राम्रो छ । पुरस्लो कुनै समय लिभरपुलका म्यानेजिङ डाइरेक्टर थिए । 
जेरार्ड अहिले स्कटिस क्लब रेन्जर्समा आबद्ध छन् र २०२४ सम्म उनले क्लबमै बस्ने सम्झौता गरेका छन् । जेरार्डको प्रशिक्षणमा गत सिजन यस क्लबले स्टकिस लिग जितेको थियो र यस सिजन पनि अंक तालिकामा पहिलो स्थानमा छ । त्यसैले, उसले मध्य सिजनमा जेरार्डलाई अन्यत्र पठाउन पक्कै पनि चाहेको छैन ।

यद्यपी, क्षतिपुर्ति रकमस्वरुप क्लबलाई २ दशमलव ५ मिलियन पाउन्ड बुझाउने हो भने जेरार्डले सम्झौता टुंग्याउन पनि सक्छन् । प्रिमियर लिगकै ठूला क्लबबाट प्रस्ताव आउँदा जेरार्डले स्विकार्ने संभावना धेरै भएकाले उनलाई सधैं रोकेर राख्न सकिन्न भन्ने पनि रेन्जर्सलाई थाहा छ । खासमा, जेरार्डलाई लिभरपुलका भावी प्रशिक्षकको रुपमा हेरिएको छ । तर, लिभरपुलका वर्तमान प्रशिक्षक योर्गान क्लोपले २०२४ सम्मका लागि क्लबसँग सम्झौता गरेका छन् । र, क्लब इतिहासकै उत्कृष्ट प्रशिक्षकमध्ये एक मानिएका क्लोपल त्यसअघि क्लब छाड्ने संभावना पनि देखिदैंन । त्यहीकारण, प्रिमियर लिगमा फर्कने हो भने तत्कालका लागि अन्य क्लबलाई प्रशिक्षण दिनुको विकल्प पनि जेरार्डसँग छैन ।
साउथह्याम्पटनका राल्फ हसेनहुट, बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेज, ब्रिगटनका ग्राहम पोटर, भिल्लाका पूर्व सहायक प्रशिक्षक जोन टेरीलगायतको नाम पनि भिल्लाका सम्भावित प्रशिक्षकको सुचीमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप