शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रेखादेखि कामेश्वरसम्मले यसरी मनाउँदैछन् छठ

अभिनेता प्रमोद अग्रहरिले छठमा नवलपरासीका सबै ब्रतालुलाई मिठाइ खुवाउने
बुधबार, २४ कात्तिक २०७८, १३ : २४
बुधबार, २४ कात्तिक २०७८

देशका विभिन्न भागमा धुमधामका साथ छठ पर्व मनाइँदैछ । बिशेष गरेर सूर्यदेवको उपासना गरिने छठ कात्तिक शुक्ल चतुर्थीमा सुरु भई कात्तिक शुक्ल सप्तमीमा सम्पन्न हुन्छ । सुख, समृद्धि, रोगमुक्तलगायत विभिन्न फल प्राप्तीको आकांक्षा राखिने छठ सर्वसाधारणझैं नेपाली कलाक्षेत्रका विभिन्न सेलिब्रेटीले पनि धुमधामका साथ मनाउने गर्दछन् । अभिनेत्री रेखा थापादेखि हास्यकलाकार शिवशंकर रिजालसम्म यसरी मनाउँदैछन् छठ ।

रेखा थापा (अभिनेत्री) 
अभिनेत्री रेखा थापा गत वर्षझैं यो बर्ष पनि काठमाडौंमै छठ मनाइरहेकी छन् । विगतका वर्षमा पशुपतिस्थित गौरीघाटमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिएर, ब्रत बसेर छठ मनाएको रेखाको यो बर्षको सेड्युल पनि त्यस्तै रहेको छ । गत बर्षभन्दा यो बर्ष छठमा अलि जाडो महशुस गरेकी रेखाले विशेष तवरबाट छठी माईको पूजा गर्ने बताइन् । 

सञ्चिता लुईटेल (अभिनेत्री) 
अभिनेत्री सञ्चिता लुईटेल कोरोनाको कारण गत बर्षदेखि छठ आफ्नै घरको छतमा मनाउन थालेकी छन् । छतमा बाटाभरि पानी राखेर त्यसलाई नै नदी मानेर उनी छठको परम्परा पूरा गर्दछिन् । छठी माईको पूजा गर्ने, ब्रत बस्ने सबै गर्ने उनले छठ हिजोबाट सुरु गरिसकेकी छन् । ‘मेरो घरको कुलदेवता पनि सूर्य नारायण हुन् । छठमा पनि सूर्य पूजा गर्ने भएकाले विशेष तरिकाले पूजा गरेर मनाउने गरेकी छु,’ सञ्चिताले भनिन्, ‘सूर्य भगवान भनेको प्रत्यक्ष देखिने भगवान् हुन्, जसलाई हामीले देख्न र महसुस गर्न पाएका छाैँ । उसैको पूजा गर्ने छठ बिशेष मनपर्छ ।’ सूर्यको किरणले मानिसको शरीरमा धेरै कुराको प्रभाव पार्ने सञ्चिताको भनाई छ । 

शिवशंकर रिजाल (हास्य कलाकार) 
हास्य कलाकार शिवशंकर रिजाललाई छठ निकै मनपर्ने पर्व हो । छठकै लागि उनी आजै (बुधबार) काठमाडौबाट सर्लाही पुगेका छन् ।  आज साँझ सन्ध्याघाटमा छठी माइैको बिशेष पूजामा उनी सहभागी हँुदैछन् । ‘आज अस्ताउँदो सूर्यलाई अर्घ दिदै विभिन्न मिठाई, फलफूललगायत चढाउनेछु,’ रिजालले भने, ‘रातभर सूर्यको जप गर्दै भोलि बिहान उदाउँदो सूर्यको समेत पूजा गर्नेछु ।’ नेपालका चाडपर्वमध्ये छठ पनि एक महत्वपूर्ण साझा पर्व भएको उनी बताउँछन् ।
   
सन्दीप क्षेत्री (अभिनेता)
अभिनेता सन्दीप क्षेत्री पहिले पहिले बिशेष पूजाको साथ छठ बीरगञ्जमा मनाउँथे । यो बर्ष भने उनी बीरगञ्ज जान पाएका छैनन् । त्यसैले काठमाडौंको घरमै मनाइरहेका छन् । सानैदेखि छठ देख्दै र मनाउँदै आएकाले छठको महिमाप्रति विश्वास लाग्ने उनी बताउँछन् । घरमै सकेको बिधि अपनाएर छठ मनाउँदै गरेको सन्दीपले सुनाए ।

रविन्द्र झा (अभिनेता)
अभिनेता रविन्द्र झा अहिले छठ आफ्नो गृह जिल्ला जनकपुरमा रमाइलोसँग मनाइरहेका छन् । कोरोनाले गर्दा गत बर्ष सामूहिक रुपमा मनाउन नपाएका उनले यो पटक समूहमा मनाइरहेका छन् । उनको छठको रमझम र सुरुवात मंगलबारबाटै भएको छ । उनी जनकपुरको राममन्दिर छेउको धनुष सागर पोखरीमा छठको उत्सव मनाउँछन् । ‘हाम्रो लागि छठ एकदमै ठूलो पर्व हो । यो बर्ष कोरोना सामान्य भएकोले पनि छठ मनाउन सहज भएको छ,’ अभिनेता झाले भने, ‘मंगलबार खर्ना पूजा गरेर छठको सुरुवात गरेको थिएँ । आज घरमा पाकेका परिकार, फलफूल पोखरीमा चढाएर, रातभर त्यही बसेर रमाइलो गर्ने हो ।’  भोलि बिहान सूर्य उदय भएपछि फेरि पूजा गरेर घर फर्किने उनले सुनाए ।

निखिल उप्रेती  (अभिनेता) 
अभिनेता निखिल उप्रेतीको पनि छठ धेरै मनपर्ने पर्व हो । उनी केही बर्षदेखि छठ काठमाडांैमै मनाउदै आएका छन् । यो बर्षको छठ पनि उनले विगतको बर्षझैं काठमाडौंको घरमा मनाइरहेका छन् । ‘छठमा गर्ने हरेक परम्परा पालना गर्छु । छठ पर्व आफैमा ठूलो विज्ञान हो,’ निखिलले भने ‘अहिले हामी धर्म बुझ्नभन्दा पनि निन्दा गर्नतिर लागेका छौ । धर्म जोगाउनेलाई मतलब गर्दैनन्, बरु धर्मबारे गलत टिप्पणी गर्दा आहा भन्न थालेका छन् । यो दुःखलाग्दो कुरो हो ।’ ‘अस्ताउन लागेको सूर्यलाई नमस्ते गर्नु हँुदैन भनेर हाम्रो परम्पराले भन्छ,’ निखिलले थपे, ‘छठले सूर्य अस्ताएको उदाउन हो भन्छ ।’ सूर्यलाई सम्मान गर्नु, पूजा गर्नु छठ पर्व भएको बताउने निखिल आज साँझ सूर्य अस्ताएदेखि भोलि बिहान उदयसम्म सूर्यको अराधना र जप गर्दछन् । सूर्यको आधारसँग हाम्रो जीवन सञ्चालित छ भनेर उनी सूर्यप्रति आभार प्रकट गर्दै छठमा रमाउँछन् ।

दीपाश्री निरौला (अभिनेत्री) 
छठकै लागि भनेर दीपाश्री निरौला केही दिन पहिले बिराटनगर पुगेकी छन् । हिजो मंगलबारको दिन खर्ना छठ मनाउन सुरु गरेकी उनले आज खोलामा गएर छठी माईलाई अर्घ दिएर, सूर्य भगवान्को अराधना गरेर मनाउनेछिन् । हरेक बर्ष छठको लागि बिराटनगर पुग्ने गरेकी दीपाले छठ मनाउँदा जीवनमा नयाँ उर्जाको विकास भएको महसुस हुने बताउँछिन् । उनी छठमा ब्रत बस्ने ब्रतालुहरुसँग समेत आर्शिवाद लिन्छिन् । भन्छिन् ‘उहाँहरुको आर्शिवादले मलाई भगवान्को आर्शिवादझैैं महसुस हुन्छ ।’  

प्रमोद अग्रहरि (अभिनेता)
छठकै लागि अभिनेता प्रमोद अग्रहरि पनि केही दिन पहिले गृह जिल्ला नवलपरासी पुगेका छन् । छठ उनको मनपर्ने चाड हो । छठको करिब ७ दशकको इतिहास रहेको नवलपरासीमा छठ पर्वको सुरुवात आफ्नै आमाले गरेको अग्रहरि बताउँछन् । त्यसैले पनि अहिले उनको दाजुहरूको नेतृत्वमा लाखौ मानिसले नवलपरासीमा छठ मनाउने गर्दछन् । 

‘नवलपरासी क्षेत्रकै भव्य उत्सव हो छठ । छठका लागि मेरो दिदी, भिनाजुलगायत सबै आफन्त मंगलबार नै आइसक्नु भएको छ,’ अभिनेता अग्रहरिले भने, ‘आज मासी भर्नेदेखि पूजासम्म सबैसँग मनाउदैछु ।’ हालै नवलपरासीमा एउटा मिठाइ पसल खोलेका अग्रहरिले छठमा नवलपरासी भरिका ब्रतालुका लागि मिठाइ खुवाउने कार्यक्रमसमेत बनाएका छन् ।

कामेश्वर चौरसिया (अभिनेता)
अभिनेता कामेश्वर चौरसिया छठका लागि केही अगाडि गृह जिल्ला बारा पुगेका छन् । त्यहाँको सिरिसिया नदीमा उनले छठ मनाइरहेका छन् । बर्षाैदेखि सोही नदी घाटमा छठीमाईको पूजा गर्दै आएका उनले आज पनि त्यही मनाउँदै गरेको जनाए । ‘नोकरी, काम लगायतको सिलसिलामा अन्य समय बाहिर रहेका आफन्त, घरपरिवारसमेत छठका लागि भेला हुने गर्दछन्,’ कामेश्वरले भने, ‘यो हामी तराईवासीको महापर्व हो ।’  साँझ अस्ताउँदो सूर्यको पूजा, बिहान उदाउदो सूर्यको पूजाको अलावा छठमा गर्नुपर्ने सबै परम्परा आफूले गर्ने कामश्वेरले सुनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप