छठमय बन्यो काठमाडौँ : छठमा मधेस जानैपर्ने अवस्था अन्त्य
एक दशक पहिले काठमाडौं बस्ने मधेसी समुदाय छठ आउने वित्तिकै आफू बस्ने घर, डेरा कोठामा ताल्चा लगाएर आआफ्नै घर फर्किन्थे । दशैँ तिहारमा समेत घर नजाने मधेसी समुदाय छठमा लगभग सबै घर फर्किन्थे । तर, अहिले परिस्थिति फेरिएको छ ।
काठमाडौंमा पनि धुमधामका साथ छठ मनाउन थालिएपछि अधिकांश मधेसी समुदाय घर जान छाडेका छन् । सिनामंगलमा फर्निचर व्यवसाय गर्दै आएका प्रवीण यादवको चार वर्ष भयो छठमा घर नगएको । उनी भन्छन्, ‘मेरो घरमा छठ मनाइँदैन, तैपनि छठको रौनक हेर्न म सिरहा घर जान्थेँ । तर जबदेखि काठमाडौँमा छठ मनाउन थालियो, प्रायः छठमा म यतै हुन्छु । तराई मधेसमा मनाइने छठजस्तै यहाँ मनाउन थालिएपछि घरकै आभास काठमाडौंमा हुन थालेको छ ।’
कीर्तिपुरमा अध्ययनरत राधेश्याम अधिकारी पनि यसपाली छठ मनाउन घर गएनन् । बल्खुको बागमती किनारमा मनाउने छठमा नै रमाउने उनको योजना छ । राधेश्याम र प्रवीण मात्र होइन, थुप्रै मधेसी समुदाय छठमा घर जान छाडेका छन् ।
जनकपुरका सरोज मिश्रको घरमा छठ हुँदैन । तर, उनी पहिला छठमा जनकपुरस्थित घर नै जान्थे । काठमाडौँमा पनि तराई मधेसमा जस्तै छठ मनाउन थालेपछि छठमा घर जाँदैनन्, बरु हरेक दशैंमा घर जान्छन् । यसपाली त उनले छठका लागि आमाबुबालाई समेत गाउँबाट काठमाडौं नै ल्याएका छन् ।
काठमाडौं उपत्यकामा विगत १३ वर्षदेखि धुमधामका साथ छठ मनाउन थालिएको छ । त्यसअघि खासगरी कालिमाटी, कंलकी क्षेत्रको नदी किनारमा दुईचार घरका मधेसीहरूले छठ मनाउँथे । विस्तारै पहाडी समुदायका व्यक्तिहरू पनि छठ मनाउन थपिदै गए । अहिले त छठको दिन उपत्यकाका प्रायः जलाशय व्रतालु तथा धर्मावलम्बीहरूबाट भरिभराउ हुन्छ ।
काठमाडौंमा छठ पर्वको व्यवस्थापनमा खटिँदै आएका अधिवक्ता आनन्द गुप्ताका अनुसार २०६५–६६ सालदेखि पहाडी समुदायहरूले पनि छठ मनाउन सुरु गरेका हुन् । गुप्ता भन्छन्, ‘सुरुमा तराई मधेसमा घर भएका पहाडी समुदाय जो मधेसमा छठ मनाएको देखेका थिए, उनीहरू काठमाडौ बस्न थालेपछि यहाँ मनाउन सुरु गरेका थिए । त्यसपछि यहाँका रैथाने नेवार समुदायहरूले पनि मनाउन सुरु गरेका छन् ।’
काठमाडाैं उपत्यकामा छठ मनाउनेहरूको संख्या थपिदै गएपछि २०६३ सालदेखि व्यवस्थित ढंगबाट एउटा समिति बनाएर नै छठ पर्व मनाउन सुरु गरिएको थियो । कोभिडका कारण २०७७ सालको छठ काठमाडौंमा खासै भएन । सरकारले नै छठ मनाउन रोक लगाएपछि प्रायःले घरमै टब, स्वीमिङ्ग पुल, सानो पोखरी खनेर पर्व मनाएका थिए । यसपाली कोरोना कम भएकाले काठमाडौंका अधिकांश जलाशयमा छठ पर्व धुमधामका साथ मनाउन थालेका छन् ।
काठमाडौंको छठमा पर्यटकको आकर्षण बढ्न थालेपछि २०७२ सालदेखि काठमाडौं महानगरपालिकाले छठ मनाउन सहयोग गर्यो । रानीपोखरीमा छठ पर्व मनाउने व्यवस्थापन महानगरपालिकाले नै गर्यो । रानीपोखरीको जीर्णोद्वार कार्य हुन थालेपछि त्यहाँ छठ मनाउन रोकिएको छ ।
छठः लोकतान्त्रिक पर्व
पहिला पहिला हिन्दू धर्म मान्नेहरू छठ पर्व मनाउँथे । अहिले दलित, मुस्लिम, थारु, पहाडे सुमदायले पनि यो पर्व मनाउन थालेका छन् । छठमा सबै समुदायको संलग्नता तथा हरेक प्रकारको सामग्री प्रयोग हुने भएकाले यसलाई लोकतान्त्रिक पर्व भन्न थालिएको छ । यो पर्वमा डोम समुदायले बनाउने नाङ्लो, बाँसको टोकरी (ढकिया), कुम्हारले माटोले बनाएको घैंटो (घैला), ढकना, हात्तीजस्ता सामग्री प्रयोग हुन्छ । त्यतिमात्र होइन, किसानको खेतमा उब्जाउ हुने हरेक प्रकारको अन्न, फलफूल पनि यो पर्वमा प्रयोग हुन्छ ।
यसको सबभन्दा महत्वपूर्ण पक्ष भनेको यो पर्व नै एउटा यस्तो पर्व हो, जहाँ अस्ताउँदो सूर्यको पनि पूजा हुन्छ । भनिन्छ, उदाउँदो सूर्यलाई नै सबैले पूजा गर्छन्, अस्ताउँदो सूर्यलाई कसैले पूजा गर्दैनन्, अर्थात् बलेको आगो नै सबैले ताप्छन् । तर छठ पर्व नै यस्तो पर्व हो जहाँ अस्ताउँदो सूर्यको पूजा हुन्छ । त्यसैले यो पर्वलाई लोकतान्त्रिक र समावेशी पर्वको रुपमा पनि व्याख्या गरेको पाइन्छ ।
सूर्यको पूजा
यो पर्वमा मुख्य पूजा भनेको सूर्यको नै हो । विहान उठ्ने वित्तिकै उदाउने सूर्य, झ्यालका कुनाकाप्चावाट छिर्ने तिनका प्रकाश, बोटविरुवालाई हुर्काउने सूर्य, बादल सिर्जना गर्ने सूर्य, न्यानो दिने सूर्य यस पृथ्वीमा त्यसको भूमिका र मानव अनि सूर्यबीचको सम्बन्धलाई जति व्याख्या गरे पनि कम हुन्छ ।
तराई मधेसतिर ‘जिताया दशें दशैं, दशैं बीसे सुकराती (तिहार), सुकराती छवे छठ, छठ नवे पूर्णिमा’ भनि सबै कण्ठ नै गरेका हुन्छन् । जितिया पर्वको ठिक दश दिनपछि दशैं सुरु हुन्छ । दशैं सकिएको ठिक बीस दिनपछि तिहार हुन्छ र त्यसको ठिक छ दिनपछि छठ हुन्छ । छठ सकिएको ठिक नौ दिनपछि पूर्णिमा हुन्छ । पूर्णिमा समापनसँगै वर्षको सम्पूर्ण महत्वपूर्ण पर्वहरू सम्पन्न हुने मान्यता छ ।
षष्ठी तिथिका दिन मनाइने भएकोले यस पर्वको नाम अपभ्रंश हुँदै छठ भएको मानिन्छ । तराईक्षेत्र केन्द्रित मनाइने छठ पर्व अहिले आएर हिमाल, पहाड अनि तराई सर्वत्र प्रचलित हुँदै आएको छ । सद्भाव अनि भातृत्वको प्रतीक यस पर्वलाई बडो हर्ष अनि उल्लासका साथ नदी, तालतलैया या पोखरीको किनारामा श्रृङ्गारिएर तयार पारिएका घाट, केराका थम्बा, झिलिमिली बत्तिबीच अस्ताउँदो र उदाउँदो दुवै सूर्यको लालीकिरणलाई अर्घ्य दिएर यो चाड मनाइन्छ ।
चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिनलाई अरबा अरबनाइन अर्थात् नहाई खाय भनिन्छ । पहिलो दिन नुहाई धुवाई चोखो भएर शुद्ध खाना (अरबा खाना) खान्छन् । छठको सुरुवात मानिने यस दिनलाई ब्रतालुहरू बिहान सबेरै उठेर हात खुट्टाको नङ काट्छन् र चोखो पानीले नुहाई धुवाई गरी सफा कपडा लगाएर पूजा गरी शुद्ध भोजन ग्रहण गर्दछन् । भनिन्छ, यस दिन ब्रतालुहरूले प्रण गर्दछन्, ‘म अब जथाभावी खाँदिन र तन मनले छठी माईको शरणमा बस्नेछु ।’
दोस्रो दिनलाई ‘खर्ना’ भनिन्छ । त्यो दिन छठको व्रतालुहरू नुहाई चोखो भइ एक छाकमात्रै खाने चलन छ । शुद्धताका लागि लिपपोत गरी चोखो बनाएको स्थानमा अरबा चामल र सख्खरको खीर पकाइन्छ । त्यसपछि आँगन अथवा घरको एक कुनामा लिपपोत गरी शुद्ध पारिन्छ । र, त्यहाँ केराको पातमा खीर तथा फलफूल राखेर पूजा गरिन्छ । पूजा गरिएका सामाग्री घरको सदस्यलाई प्रसादको रुपमा बाँडिन्छ । र, ब्रतालुले पनि त्यहीं खानुपर्छ ।
तेस्रो दिनलाई ‘सँझिया घाट’ भनिन्छ । यो दिन विहानैदेखि घीउ, सख्खर, चिनी, नरिवल, ल्वाङ, सुकमेल, छोहाडा, सौंफ लगायत मसलाजन्य वस्तुहरू मिसाएर तयार पारिएको छठ विशेष परिकार ठेकुवा, चामलको पीठोको भुसुवा र फलफूल लगायतका सामग्रीहरू तयार पारिन्छ । त्यसका साथै उखु, केरा, बेसार, अदुवा, नरिवल, जौ लगायतसामग्री पनि तयार पार्नुपर्छ ।
यी सामग्री एक वा दुई दिनमा तयार हुँदैन । तिहार लगत्तै त्यसको तयारीमा जुटेका हुन्छन्, अनि मात्र सम्भव हुन्छ । तयार पारिएका परिकार तथा फलफूल र अन्य सामग्री लिएर साँझपख बाँसको चोयाले बुनेको ढकियामा सजाएर श्रद्धापूर्वक जो कोहीले पनि आफ्नो टाउकोमा बोकेर जलाशय घाटसम्म लैजाने चलन छ । कसै कसैले पूजा सामग्री बोकर घाटसम्म लैजाने भाकल नै गरेका हुन्छन्, त्यस्ताले अनिवार्य रुपमा बोकेर नै लैजान्छन् । त्यहाँ अस्ताउँदो सूर्यलाई अर्घ्य दिन्छन् । अर्घ्य दिइसकेपछि कतिपय ठाउँमा घाटमा ब्रतालुहरूको बस्ने चलन पनि छ भने कतिपय ठाउँमा प्रसाद सामग्री लिएर घर फर्किने चलन पनि छ ।
चौथो दिन विहान उदाउँदो सूर्यलाई अर्घ्य दिइन्छ र छठ पर्व समापन हुन्छ । कार्तिक शुक्ल चतुर्थीबाट सुरु भएको यो पर्वको तेश्रो दिनलाई षष्ठी अर्थात् छठ भनिन्छ र अन्तिम दिन अर्थात् चौथो दिनलाई पारण अर्थात ‘विहनी अर्घ्य’ भनिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँका ३ स्थानमा प्रदर्शन, १ सय १३ स्थानबाट ट्राफिक डाइभर्सन
-
एमाले जग्गा विवाद : न्यायाधीशद्वय चुडाल र सुवेदीको इजलासमा पेसी
-
क्रेडिट रेटिङको नतिजाले सरकार, निजी क्षेत्र र लगानीकर्तामा उत्साह : अर्थ मन्त्रालय
-
यसरी गर्न सकिन्छ कर्णालीमा सडक दुर्घटना न्यूनीकरण
-
अडानीमाथि लागेको आरोपबारे ह्वाइट हाउसले के भन्यो ?
-
झापाबाट एघार करोडको चिया निर्यात