सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

राप्रपाले सक्यो ७१ जिल्लाको अधिवेशन, ६ जिल्लाको नेतृत्वमा हानथाप

बुधबार, २४ कात्तिक २०७८, ०९ : ५९
बुधबार, २४ कात्तिक २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को जिल्ला अधिवेशन अन्तिम चरणमा पुगेको छ । ६ जिल्लामा भने नेताहरुबीच नेतृत्वमा हानथाप हुँदा अधिवेशन सम्पन्न हुन सकेको छैन । विवाद रहेको धनुषा जिल्ला कार्यसमितिको मंगलबारमात्रै अधिवेशन सम्पन्न भएको छ । केन्द्रीय नेताहरु समेतको सक्रियतामा विवाद समाधान गरी धनुषामा सर्वसम्मत नेतृत्व चयन गरिएको हो । जसअनुसार धनुषाको नेतृत्वमा रामचन्द्र यादवलाई सर्वसम्मत चयन गरिएको छ । 

यसबाहेक अब भक्तपुर, पाँचथर, डडेलधुरा, पर्वत, धादिङ र सिन्धुपाल्चोक जिल्लामा अधिवेशन सम्पन्न हुन बाँकी रहेको राप्रपाको महाधिवेशन प्रचार प्रसार समितिका सदस्य जनकराज पाठकले रातोपाटीलाई जानकारी दिए । उनले यी ६ जिल्लामा सहमति जुटाउन प्रयास भइरहेको बताउँदै तोकिएकै मितिमा महाधिवेशन सफल पार्न पार्टी पंक्ति जुटेको बताए । 

उनका अनुसार हालसम्म ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये २८० स्थानमा कार्यसमिति चयन भइसकेको छ भने सक्रिय सदस्य १ लाख ३० हजार पुगेको छ । राप्रपाले आगामी मंसिर ११ देखि १३ गतेसम्म काठमाडौँमा एकता महाधिवेशन गर्दैछ भने सोही प्रयोजनका लागि धमाधम अधिवेशन गरिरहेको हो ।

पार्टी एकताको भावना अनुसार सकेसम्म सहमतिको आधारमा अधिवेशनबाट नेतृत्व चयन गर्ने भनिएकाले अधिवेशनको प्रक्रिया सुरु भएको लामो समय बितिसक्दा पनि सम्पन्न भने हुन नसकेको नेताहरुको भनाइ छ ।  समयमा अधिवेशन सम्पन्न हुन नसकेकै कारण राप्रपाले पटक पटक महाधिवेशन सार्दै आएको छ । राप्रपाले महाधिवेशन सर्नुमा कोरोनाको कारण समेत देखाउँदै आएको छ । 

राप्रपाले पछिल्लो पटक जिल्ला अधिवेशन सम्पन्न गर्न कात्तिक २३ गतेसम्मको समय प्रदान गरेको थियो । तर आज २४ गते भइसक्दा पनि अधिवेशन गर्न ६ जिल्ला बाँकी नै रहेको हो । राप्रपाले पहिलो पटक सक्रिय सदस्यबाट प्रतिनिधि छनोट गर्ने व्यवस्था गरेको छ । यसअघि क्षेत्रीय तथा स्थानीय समितिबाट प्रतिनिधि छनोट गर्ने व्यवस्था रहँदै आएको थियो ।

प्रदेश र क्षेत्रीय समितिका अध्यक्ष, महानगर, उपमहानगर, नगर र गाउँपालिकाका अध्यक्ष पदेन सदस्यका रुपमा महाधिवेशन प्रतिनिधि हुन पाउने व्यवस्था गरिएको छ । तर ती सदस्यले मतदान गर्न पाए पनि उम्मेदवार भने हुन पाउने छैनन् ।

यसैगरी राप्रपाले सक्रिय सदस्य बनाउने अवधि कार्तिक १५ गतेसम्म तोकेको थियो भने केन्द्रीय निर्वाचन समितिले कार्तिक २६ भित्र सक्रिय सदस्यहरुको नामावली जिल्लाहरुमा पठाउने गरी निर्णय भएको थियो । यसैगरी सक्रिय सदस्यको दावि विरोध कार्तिक २७, २८ र २९ गते गर्ने तथा अन्तिम नामावली कार्तिक ३० गते प्रकाशन गर्ने निर्णय भएको राप्रपा नेता भास्कर भद्राले जानकारी दिए । 

राप्रपाका अनुसार सातवटै प्रदेशसभाबाट प्रदेश कार्य समितिको निर्वाचन कार्तिक २८ गते भित्र गरिसक्नुपर्नेछ ।  यस्तै सक्रिय सदस्यहरुबाट महाधिवेशन प्रतिनिधिहरुको निर्वाचन मंसिर १, २ र ३  गते गरिनेछ ।  
राप्रपाको नेतृत्वमा हालका तीन अध्यक्ष कमल थापा, पशुपतिशमशेर राणा र डा प्रकाशचन्द्र लोहनीसहित नेताहरु धवल शमशेर राणा र राजेन्द्र लिङ्देन पनि आकांक्षी रहेका छन् । 

 


 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप