शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

किसानलाई अनुदानमा आलुको बीउ

बुधबार, २४ कात्तिक २०७८, ०९ : ५६
बुधबार, २४ कात्तिक २०७८

तनहुँको व्यास नगरपालिकाले कृषकलाई अनुदानमा आलुको बीउ वितरण गर्ने भएको छ । नगरपालिकालाई आलुमा आत्मनिर्भर गराउने ध्येयले बीउ वितरण गर्न लागिएको हो । कृषकको मागअनुसार आलुको बीउ तत्काल खरिद गरी ५० प्रतिशत अनुदानमा उपलब्ध गराउन सम्बन्धित शाखालाई निर्देशन दिने निर्णय भएको नगर प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । नगर कार्यपालिकाको मङ्गलबार बसेको बैठकले आलुको बीउ वितरण गर्ने निर्णय गरेको हो । 

नगरपालिकाले गत वर्ष जिल्लाका विभिन्न कृषक समूहलाई साढे नौ टन आलुको बीउ वितरण गरेको थियो । नगरपालिकामा करिब ६०० रोपनी क्षेत्रफलमा आलुखेती हुने गरेको छ । आलुमा अनुदान दिन थालिएपछि यहाँका कृषक यसतर्फ आकर्षित हुँदै गइरहेका छन् । 

कार्यपालिका बैठकले जलस्रोत कार्यविधि २०७८ पारित गरी नगरप्रमुखको अध्यक्षतामा जलस्रोत समिति गठन गरेको छ । नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयका विद्यार्थीको स्वास्थ्य परीक्षण गर्न आवश्यक व्यवस्थाका लागि स्वास्थ्य तथा जनसङ्ख्या शाखालाई निर्देशन दिने निर्णय भएको छ । 

विगत तीन वर्षको व्यवसाय कर उठाउन बाँकी देखिएकाले आगामी पुस मसान्तभित्र व्यवसाय कर बुझाउने व्यवसायीको आब २०७६÷७७ को व्यवसाय कर छुट दिने निर्णय भएको नगरपालिकाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप