मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

‘आशा’ले फेरिदिएको जीवन

बुधबार, २४ कात्तिक २०७८, ०९ : ४८
बुधबार, २४ कात्तिक २०७८

आशा फाउण्डेशनले हेटौंडा–७ मा सञ्चालन गरेको आशा विशेष पाठशाला तथा पुनर्स्थापना केन्द्रले धेरै बौद्धिक अपाङ्ग बालबालिकाको जीवन र दैनिकीलाई सहज तुल्याउने काम गरेको छ । जन्मजात बौद्धिक अपाङ्ग भएका बालबालिकाको संरक्षण, हेरचाह, शिक्षा लगायतको काम गदै आएको आशा विद्यालयले त्यस्ता बालबालिकाको दैनिकीमा हेरफेर गरिदिएको छ ।

पहिले हेला र घृणामा बाँच्न बाध्य बालबालिकाहरुको अहिले दैनिकी फेरिएको मात्र होइन, समाज र पारिवारिक माया तथा स्नेह पाउन थालेका छन् । हाल आशा विद्यालयमा ४४ जना विद्यार्थी अध्ययनरत छन् । आवश्यक भवन लगायतका व्यवस्थापन नहुँदा थप एक सयजना विद्यार्थी विद्यालयमा प्रवेशको पर्खाइमा छन् ।

आशा फाउण्डेशनले गत वर्षबाट सानेपा–२ ललितपुरमा आशा विशेष पूर्व व्यवसायिक शिक्षा तथा सिपमुलक तालिम केन्द्र सञ्चालन गरी १८ वर्ष माथिका २४ जना शारीरिक तथा बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई शिक्षा प्रदान गर्दै आएको छ ।

यस पूर्व व्यावसायिक सिपमुलक तालिम केन्द्रको उद्देश्य उनीहरुलाई सिपको पहिचान गरी आत्मनिर्भर बनाउने हो । यसै वर्षबाट प्रदेश नम्बर २ को बर्दिबासमा पनि विद्यालय सञ्चालन गर्ने प्रक्रिया अघि बढाएको छ ।

आशा विद्यालयमा अध्ययन पश्चात् मकवानपुरको सत्यवती अधिकारीको दैनिकी र जीवनमा नसोचेको परिवर्तन आएको उनको परिवारको भनाइ छ । मकवानपुरको बकैया गाउँपालिका छतिवन घर भएकी सत्यवती अधिकारी अहिले १९ वर्षकी भइन् । बाबु श्याम अधिकारी तथा आमा पु्ष्पा अधिकारीको छोरी सत्यवतीमा बौद्धिक अपाङ्गताको समस्या छ ।

उनलाई आफ्नो दैनिक क्रियाकलाप र व्यवहारबारे जानकारी नै थिएन । उनी पहिले मानिसका दैनिकी र व्यावहारिक ज्ञानबाट अन्जान थिइन् । परिवारले सुधार हुने आशा नै मारिसकेको अवस्थामा आशा विद्यालयले त्यसलाई जगाउने काम गरेको सत्यवतीका बाबु श्यामको भनाइ छ ।

सत्यवती बौद्धिक अपाङ्गताका कारण कसैसँग बोल्न पनि डराउने गर्थिन् । पारिवारिक रुपमा सबैको माया पाए पनि सामाजिक रुपमा उनलाई धेरै व्यक्तिले तिरस्कार र घृणा गर्ने गर्थे ।

उनले १० वर्ष गाउँ घरमै बिताइन् । हाल उनको दैनिकी र व्यवहारमा परिवर्तन आएको छ । उनी जो कोहीसँग पनि निर्धक्क बोल्न सक्छिन् । आफ्नो सरसफाइ र दैनिक जीवनका क्रियाकलाप आफै गर्न सक्ने भएकी छन् ।

बौद्धिक अपाङ्गताका कारण जन्मेको १० वर्षसम्म सामाजिक रुपमा विभेद भोगेकी सत्यवतीको जीवनको परिवर्तन गर्ने काम आशा विशेष पाठशालाले गरेको हो । ९ वर्ष आशा स्कुलमा बसेर अध्ययन गरेकी उनी विद्यालयकी नियमित छात्रा हुन् । अहिले उनी आफ्नो दैनिक क्रियापलाप अन्तर्गत खाना खाने, भाँडा माझ्ने, दाँत माझ्ने, नुहाउने, लुगा धुने, हाते सिप शिक्षण र साधारण अक्षरहरु पहिचान गर्न सक्ने भएकी छन् । उनी अहिले आफू र आफ्नो परिवारको बारेमा बताउन सक्ने भएकी छन् ।

किरणको थर नै राखियो आशा

मकवानपुरको राप्ती खोला किनारमा फेला परेका किरण अहिले आशा स्कुलको संरक्षणमा छन् । आफ्नो परिवारको बारेमा कुनै जानकारी नै नभएका किरणलाई बेवारिसे अवस्थामा राप्ती खोलाको बगरमा फेला पारिएको थियो । अहिले किरणको थर नै आशा राखिएको छ ।

बगरमा फेला परेका उनको एक बाल पुनर्स्थापना केन्द्रले उद्धार गरी केही समय हेरचाह तथा संरक्षण गरे पनि उनको शारीरिक समस्याका कारण आशा स्कुलको जिम्मा लगाइएको थियो ।

किरणलाई बाल पुनर्स्थापना केन्द्रले आशा विशेष स्कुललाई हस्तान्तरण गरे पश्चात भने उनको उपचार, संरक्षण र विकासमा महत्त्वपूर्ण परिवर्तन आएको छ ।

बौद्धिक अपाङ्गता तथा हाईड्रोसेफियाको समस्या भोगिरहेका किरणलाई आशा स्कुलले बनेपा लगेर उपचार ग¥यो । उनको शारीरिक समस्याको पहिचान तथा रोकथामका लागि औषधि उपचारको कार्यमा स्कुलले तत्परता देखायो ।

उनको समस्या पूर्ण रुपमा निको नभए पनि धेरै परिवर्तन देखिएको छ । उपचार र निरन्तर विद्यालयमा शिक्षा लिए पश्चात किरणको व्यवहारमा निकै परिवर्तन आएको छ ।

उनी आदर संसकार र सम्मान गर्ने सक्ने भएका छन् । आफ्नो निकटमा रहेका व्यतिmको पहिचान गर्ने, साधारण अक्षर तथा अंक पहिचान गर्ने, सांकेतिक भाषाको माध्यमबाट दैनिक क्रियाकलापको जानकारी दिने र लिने, हाते सिप शिक्षणमा विकास भएको छ ।

श्रीया थापा मगर

सेरेब्रल पाल्सिको समस्याबाट पीडित श्रीया थापा मगर १६ वर्षकी भइन् । हेटौंडा, बस्तीपुर घर भएका चन्द्रकुमारी थापा मगरको छोरी श्रीयाको शरीरको एक भागको कुनै अंग नै चल्दैन । सामान्य हिँडडुल गर्न पनि नसक्ने अवस्थामा ७ वर्ष अघि आशा स्कुलको सम्पर्कमा आएकी श्रीयाको व्यवहारमा विगतको तुलनामा धेरै परिवर्तन देख्न सकिन्छ ।

उनी ९ वर्षको हुँदा विद्यालय भर्ना भएको आशा विद्यालयले जनाएको छ । दैनिक थेरापी र अभ्यासपछि भने उनको समस्यामा निकै सुधार आएको छ । नियमित अभ्यासकै कारण उनको शारीरिकसँगै मानसिक र बौद्धिक विकासमा समेत निकै परिवर्तन आएको विद्यालयकी प्रध्यानाध्यापक रुपा कार्की बताउँछिन् ।

श्रीया अहिले पढाई लेखाई, व्यवहारिक ज्ञान तथा शिक्षामा सक्रिय रुपमा लाग्ने गरेकी छन् । हाते सिप शिक्षणमा राम्रो विकास गरेकी छन् श्रीयाले ।

कोरोनाको समयमा अनलाईनमा कक्षाको माध्यमबाट मोबाईल प्रयोगमा तथा सामाजिक सञ्जाल फेसबुक, टिकटक चलाउन सक्ने भएकी उनमा फिजियोथेरापीको माध्यमबाट शारीरिक रुपमा धेरै परिवर्तन आएको छ ।

हाल उनी कसैको सहायता बिना आफै हिँडडुल गर्न सक्ने भएकी छन् ।

फिरोज कार्की

हेटौंडा–७ कमाने घर भएका श्याम कार्की तथा मालती कार्कीको छोरा फिरोज कार्कीमा जन्मदै बौद्धिक अपाङ्गताको समस्या थियो । बौद्धिक अपाङ्गताको सिकार बनेका फिरोज अहिले १४ वर्षका छन् ।

आफ्नो दैनिकी बारेमा कुनै जानकारीसमेत नरहेका फिरोजको दिनचर्या पारिवारिक सहायताबाट मात्र हुने गरेको थियो । उनी ९ वर्षको उमेरमा आशा विद्यालयको सम्र्पकमा आए ।

शुरुवाती दिनमा विद्यालय आउँदा फिरोजमा व्यावहारिक ज्ञान तथा दैनिक क्रियाकलापको बारेमा जानकारी नै थिएन । ज्ञानको अभाव, शारीरिक अस्थिरताका कारण उनी परिवारका अन्य सदस्यको भरमा दिन बिताउँथे ।

बौद्धिक अपाङ्गतासँगै फिरोजमा हातको पनि समस्या थियो । विविध समस्या भोग्दै आएका फिरोजमा आशा विद्यालयको सम्र्कमा आए पश्चात भने निकै परिवर्तन देखिएका छन् ।

हातको नियमित थेरापी गर्ने, शारीरिक अभ्यास गर्ने उनको दैनिकी बनेको छ अहिले । पढाई लेखाई, व्यावहारिक ज्ञान तथा सिप अभिवृद्धिमा धेरै प्रगति गरेका छन् फिरोजले । हाते सिप शिक्षणमा राम्रो विकास गरेका फिरोज आफ्नो दैनिक क्रियाकलाप आफै गर्ने भएका छन् ।

आशाले उनको क्षमता अभिवृद्धि तथा सुधारका लागि फिजियोथेरापिको माध्यमबाट शारीरिक र बौद्धिक रुपमा निकै बलिया बनेका छन् उनी । अहिले आदर सम्मान गर्ने, आफुभन्दा सानालाई माया गर्दै आफूले जानेको कुरा अरुलाई सिकाउनेसम्म भएका छन् उनी ।

माया नेपाली

माया नेपालीको परिवारका बारेमा कुनै जानकारी छैन । बाल पुनर्स्थापना केन्द्रले मायालाई बेवारिसे अवस्थामा फेला पारी ल्याएको थियो । केही समय पुनर्स्थापना केन्द्रमै राखेर आशा विशेष पाठशाला समक्ष उनलालाई बुझाइएको थियो ।

सेरेब्रल पाल्सिको समस्या भएको मायालाई बनेपा लगेर उपचार गरेपछि उनमा केही सुधारका लक्षण देखिएको विद्यालयले जनाएको छ । तत्पश्चात माया आशा विद्यालयको नियमित छात्रा हुन् । निरन्तर विद्यालयमा शिक्षा लिने, दैनिक क्रियाकलाप गर्ने उनको दिनचर्या हो ।

साधारण अक्षर तथा अंक पहिचान गर्ने, हाते सिप शिक्षण विकासका काम पनि उनी दैनिक रुपमा गर्ने गर्छिन् । माया अहिले टोपी बुन्ने, माला तथा पोते उन्ने, बाला बनाउने, चित्रकला साथै चिया पकाउन सक्ने भएकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप