बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

विवाह बन्धनमा बाँधिइन् नोबेल शान्ति पुरस्कार विजेता मलाला

बुधबार, २४ कात्तिक २०७८, ०७ : ४०
बुधबार, २४ कात्तिक २०७८

नोबेल शान्ति पुरस्कार विजेता मलाला यूसुफजईले बेलायतको बर्मिघम सहरमा विवाह गरेकी छन् । २४ वर्षीया मलालाले असर मलिकसँग विवाह गर्दै आफ्नो जीवनको महत्त्वपूर्ण दिन भएको बताएकी छन् । पाकिस्तानकी चर्चित महिला अधिकारकर्मीलाई तालिबान चरमपन्थीहरुले सन् २०१२ मा टाउकोमा गोली प्रहार गरेका थिए । त्यसपछि उनलाई उपचारका लागि बर्मिघम सहर सहर ल्याइएको थियो । 

मलालाले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो विवाहको जानकारी दिएकी हुन् । उनले लेखेकी छन् असर र मैले जीवनसाथी बन्नका लागि डोरी बाँधेका छौँ । उनले मंगलबार दुवैले परिवारको साथ एउटा सानो समारोहबीच विवाह सम्पन्न गरेको पनि जानकारी दिएकी छन् । उनी लेख्छिन्, 'हामी भावी जीवनयात्रामा सँगै यात्रा गर्नका लागि उत्साहित छौँ ।'

मलालाले यसअघि विवाहलाई लिएर सन्देह जताएकी थिइन् । जसको कारण सामाजिक सञ्जालमा उनको व्यापक आलोचना पनि भएको थियो । जुलाईमा फेसन पत्रिका भोगसँगको एक अन्तरवार्तामा उनले भनेकी थिइन्, 'म कुरा बुझ्दिनँ कि मानिसहरु विवाह किन गर्छन् । तपाईंलाई जीवनसाथी चाहिन्छ भने तपाईं कागजमा किन हस्ताक्षर गर्नुहुन्छ ? यो पार्टनरसीप किन हुन सक्दैन ।' उनले थपिन्, 'मेरो आमा भन्छिन्... भुलेर पनि यस्ता कुरा नगर्नु । तिमी विवाह गर्नुपर्छ र विवाह एक सुन्दर चिज हो ।'

मलाला यूसुफजईमाथि पाकिस्तानको खैबर पख्तूनख्वाह प्रान्तको स्वातमा ९ अक्टुबर २०१२ मा घातक हमला भएको थियो । मलाला त्यतिबेला १५ वर्षकी थिइन् । उनले किशोरीहरूको शिक्षाको अधिकारका लागि आवाज उठाउँथिन् । यसबाट रुष्ट तालिबान चरमपन्थीले उनी सवार स्कुल बसमा अन्धाधुन्ध गोली बर्साएका थिए । यसबाट मलाला र उनका दुई साथी घाइते भएका थिए । त्यसपछि उनलाई उपचारका लागि इंग्ल्याण्ड पठाइएको थियो । ठिक भएपछि उनी शिक्षाका लागि त्यही बसिन् । सन् २०१४ मा १७ वर्षको उमेरमा उनलाई नोबेल शान्ति पुरस्कारबाट सम्मानित गरियो । उनी हालसम्म सो पुरस्कार जित्ने सबैभन्दा कम उमेरकी विजेता हुन् । सन् २०२० मा उनले अक्सफोर्ड विश्वविद्यालयबाट दर्शनशास्त्र, राजनीति र अर्थशास्त्रमा डिग्री हासिल गरेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप