महात्मा गान्धी : के भारतका राष्ट्रपिता नोटमै मात्र सीमित हुँदैछन् ?
भारत स्वतन्त्रतापछि अहिंसा र सत्याग्रहका मसिहा मानिने मोहनदास करमचन्द गान्धी अर्थात् महात्मा गान्धीलाई राष्ट्रपतिको सम्मान दिइयो । तर भारतीय जनता पार्टीको पछिल्लो साढे सात सालको शासनकालका दौरान गान्धीको विचार र उनको आदर्शले कत्तिको महत्व राख्यो, यो सवाल बारम्बार उठ्ने गरेको छ ।
भर्खरै मात्र गान्धीको १ सय ५० औं जन्मजयन्ती साधारण तरिकाले मनाइयो । अर्कोतर्फ, गान्धीका हत्यारा नाथुराम गोड्सेको पूजा र प्रशंसा खुलेयाम गर्ने गरिएको छ । तमाम हिन्दूवादी शक्ति, यहाँसम्म कि भाजपा सांसद् पनि गोड्सेको वन्दना गरिरहेका छन् । बलिउडले पनि यस वर्ष गान्धी जयन्तीका दौरान गोड्सेको बायोपिक बनाउने घोषणा गरेको छ । के मोहनदास करमचन्द गान्धीलाई मिलेको राष्ट्रपिताको पहिचान आजको भारतमा खत्तम हुँदैछ ?
गोड्सेको पूजा
गान्धीका हत्यारा गोड्से हिन्दू महासभाका सदस्य थिए । यो संगठन अहिले मध्य भारतको ग्वालियरमा सक्रिय छ । यस क्षेत्रमा यो संगठनको पकड राम्रो छ । एक वर्ष पहिले ग्वालियरस्थित यस संगठनको कार्यालयमा गान्धीका हत्यारा नाथुराम गोडस्ेको मूर्ति अनावरण गरिएको थियो ।
१५ नोभेम्बर १९४९ मा गान्धी हत्याका आरोपी नारायण आप्टेर नाथुराम गोड्सेलाई अम्बाला सेन्ट्रल जेलमा फाँसी दिइएको थियो । हिन्दू महासभाले हरेक वर्ष यस दिनलाई ‘बलिदान दिवस’ का रुपमा मनाउने गरेको छ । यस अवसरमा मन्दिरमा पूजा पनि गरिन्छ । दुबै मराठी पुरुषहरुको मूर्तिलाई दूध र घिउले धोइन्छ ।
यस दिन हुने विभिन्न गतिविधिबारे मिडियाहरुलाई फोन गरेर जानकारी दिने काम हिन्दू महासभाले गर्दै आएको छ । ‘सहिद’ नारायण आप्टे र ‘सहिद’ नाथुराम गोड्सेप्रति सम्मान प्रकट गर्न मूर्ति बनाएकोमा संगठनलाई गर्व छ ।
भारतमा कुनै देवतालाई पूजा गर्नु दण्डनीय अपराध भने होइन । केही वर्ष अघिसम्म भारतका राष्ट्रपिताका हत्याराहरुमाथि यसरी खुलेयाम श्रद्धान्जली प्रकट गर्ने कल्पनासम्म पनि गर्न सकिदैंन थियो । तर, अहिले यस्ता घटना देशक विभिन्न स्थानमा भइरहेका छन् । गोड्सेले देशलाई कति योगदान गरेका थिए भनेर खुलेर तारिफ गर्ने गरिएको छ ।
भाजपा नेताको प्रमाणपत्र
अघिल्लो आम चुनावका दौरान भोपालबाट भाजपाका उम्मेदवार रहेका प्रज्ञा सिंह ठाकुरले गोड्सेलाई देशभक्त भन्न संकोच मानेनन् ।
चरमपन्थसँग जोडिएको मामिलाका कारण केही समय जेल परेका यी नेता जमानतमा छुटेका थिए । कालान्तरमा उनी सांसद् र रक्षा मामिलाको संसदीय समितिका सदस्य पनि बने । प्रधानमन्त्री नरेन्द्र मोदीले गोड्सेबारे दिएको बयानका लागि प्रज्ञालाई कहिल्यै माफ नगर्ने सार्वजनिक घोषणा एक साक्षात्कार कार्यक्रममा गरेका थिए, यद्यपी अहिलेसम्म उनीविरुद्ध कुनै कारबाही भने भएको छैन ।
गेरुवस्त्र लगाउने साध्वी जो अहिले सांसद् छिन् । उनले संसद्मै खडा भएर गोड्सेलाई देशभक्त करार गरेकी छिन् ।
नाथुराम गोड्सेले कुन तरिकाले अदालत अगाडि ‘गान्धी–वध’ को आरोपमा आफ्नो तर्क राखेका थिए, यससम्बन्धी धेरै पोस्टहरु लगातार फेसबुक, व्हाट्सएप लगायत सामाजिक सञ्जालमा शेयर भइरहेका हुन्छन् ।
र, हिन्दू महासभाका नेता विनायक दामोदर सावरकरलाई भाजपा शासनका दौरान एक राष्ट्रिय नायकको दर्जा दिइएको छ । अटलबिहारी बाजपेयी भाजपाको नेतृत्वमा छँदा अन्डमानस्थित पोर्ट ब्लेयर हवाई अड्डाको नाम बदलेर ‘वीर सावरकर’ राखिएको थियो ।
‘गोड्सेका प्रशंसक मूलधारका मानिस होइनन्’
भाजपाको पोलिसी रिसर्च सेलका सदस्य र नीतिकार अनिर्बान गांगुलीका अनुसार गोड्सेका प्रशंसक र भाजपाको मूलधारबीच कुनै लेनादेना छैन ।
‘गोड्सेको स्वीकार्यता वा आर्कषण सधैं एक वर्गमा रहँदै आएको छ । गान्धीलाई किन मारें भनेर गोड्सेले आफ्नो तर्क राखेका थिए । केही मानिसमा यसमा सहमत हुन सक्छन् । कोही यसको विरोधमा हुनस सक्छन्,’ गांगुलीले भने,‘भाजपाले कहिल्यै गोड्सेको पूजा गरेको छैन । समाज बाहिरका केही मानिसले यस्तो गर्दैछन् र गोड्से आफैले पनि जीवित छँदै हिन्दू महासभा र सावरकरलाई अस्वीकार गरिसकेका थिए ।’
‘भाजपाको डीएनए गोड्से समर्थक’
भारतका पूर्व वरिष्ठ कार्यकर्ता तथा अहिले तृणमूल कांग्रेसका सांसद् जवाहर सरकारका अनुसार भाजपा–आरएसएस, जनसंघ, हिन्दू महासभा र गोड्से–सावरकरको दर्शन एकअर्कामा जोडिएको छ ।
‘गोड्से आफ्नो सुरुवाती जीवनमा आरएसएसका सदस्य थिए । तर, त्यसपछि उनी यसभन्दा चरमपन्थी संगठन हिन्दू महासभामा आबद्ध भए,’ जवाहरले भने,‘त्यस समय सावरकर आफैले हिन्दू महासभाको काम हेर्थे । त्यसैले, गोड्सेमा आरएसएस र हिन्दू महासभाको जीन छ र भाजपाको डीएनए सावरकर समर्थक या गोड्से समर्थक छ भन्नेमा कुनै शंका छैन । यही कारण मोदीले सावरकरको मूर्ति देख्ने बित्तिकै दण्डवत् गर्छन् र पूजा गर्छन् ।’
जवाहर सरकारका अनुसार यदि तपाईंले सावरकरको लेखन बयानलाई पढ्नुभयो भने उनी कति गान्धी विरोधी र शान्ति विरोधी थिए भन्ने बुझ्नुहुन्छ । ‘पहिलो त उनी स्वतन्त्र भारतको राजनीतिक धारमा सहभागी हुन चाँहदैन थिए । दोस्रो, उनले १९५३ मा जनसंघ पार्टी बनाए । र, राजनीतिमा टिक्नका लागि मानिसहरुलाई देखाउन पनि केही परम्परा निभाउनुपर्ने थियो । गान्धी पूजा पनि यस्तै एउटा परम्परा हो ।’
जवाहरले भने,‘फेरि पनि उनले गोड्से या सावरकरका विषयमा लगातार चर्चा गर्दै थिए ।’
किसान आन्दोलनमा गान्धी
नाथुराम गोड्सेको तारिफलाई सामाजिक रुपमा स्वीकार्यता मिल्नुको अर्थ मानिसहरुले गान्धीलाई बिर्सिए भन्ने हो ?
भारतकी चर्चित इतिहासकार तथा नेहरु मेमोरियल म्यूजियमका पूर्व प्रमुख मृदुला मुखर्जीका अनुसार देशमा किसान आन्दोलनले गान्धीको मर्म बोक्छ । ‘यस देशका किसान पछिल्लो एक वर्षदेखि गान्धीले देखाएको सत्याग्रह र अहिंसावादी आन्दोलनको बाटोमा चलिरहेका छन् । उनीहरुले गान्धीलाई भुलेका छैनन् ।’
गान्धीका हत्यारालाई भारतीय समाजमा स्वीकार्यता मिल्नु दुःखद् रहेको मुखर्जीले बताइन् । ‘पुरै घटना दुःखद् र अक्षम्य छ । अदालतले फाँसीको सजाय सुनाएको एउटा हत्याराको पूजा तपाईंले कसरी गर्न सक्नु हुन्छ ? यसो गर्नुको अर्थ गान्धी हत्या सही थियो भन्नु नै थियो नि होइन ? र, के गोड्सेको पूजा गर्नेहरुविरुद्ध भारतमा कुनै कारबाही भयो ?’
भारतमा यसरी गोड्सेको पूजा गर्नेहरुविरुद्ध कहीं कतै पनि एफआईआर दर्ज भएको छैन । गान्धीका पनाति तथा लेखक तुषार गान्धी यसमा अचम्मित हुनु नपर्ने बताउँछन् । ‘जसलाई प्रज्ञा सिंह ठाकुर र नरेन्द्र मोदीको विचार एकै विचारधाराबाट आउँछ भन्ने थाहा छ । उनीहरुलाई अचम्म लाग्दैन । पहिले पनि लुकेर गोड्सेको पूजा गरिन्थ्यो । तर, अहिले जब देशको सरकारले नै उनको विचारधारालाई मान्छ भन्ने उनीहरुले देखेका छन्, तब खुलेर गर्दैछन् । कायरहरुले सधैं यस्तै गर्छन्,’ महात्मा गान्धी फाउन्डेशनका अध्यक्षसमेत रहेका गान्धीले भने ।
गान्धी, गोड्से र बलिउड
गान्धीको १ सय ५० औं जयन्तीमा प्रधानमन्त्री मोदीको आह्वानमा आमिर खान, शाहरुख खानदेखि कंगना रनौत र आलिया भट्टजस्ता बलिउड सेलिब्रेटी एकै छतमुनि जम्मा भएका थिए । कति सेलिब्रेटीहरु गान्धी जयन्तीका सरकारी विज्ञापनमा पनि देखिए । नरेन्द्र मोदीले गान्धीको विचारधाराबारे फिल्म बनाउन बलिउडकर्मीलाई आग्रह गरे । तर कुनै पनि फिल्म बजारमा देखिएन ।
बरु, यस वर्षको गान्धी जयन्तीमा बलिउड निर्माता महेश मान्जरेकरले गोड्सेको जिन्दगीमा आधारित फिल्म बनाउने घोषणा गरे । उनले सावरकरको बायोपिक पनि बनाइसकेका छन् । मान्जरेकरले नाथुराम गोड्सेको सबै कथा आफूलाई रोचक लागेको बताए । गोड्सेलाई न सही, न गलत रुपमा देखाइने उनको दाबी छ । ‘मेरो फिल्म बनाएर दर्शकले फैसला गरुन् कि उनी सही थिए वा गलत,’ मान्जरेकरले भने । गोड्सेको बायोपिक बनाउने विषयमा ट्वीटरमार्फत् घोषणा गरेसँगै मान्जरेकरले गान्धीलाई मनपर्ने ‘रघुपति राघव राजा राम’ भजन पनि पोस्ट गरेका थिए ।
यद्यपी, गान्धी वा गोड्से कसको नजरबाट यो फिल्मको कथा बन्दैछ भनेर बुझ्न कठिन छैन ।
मोदी र गान्धीको गुजराती पहिचान
भारतका पूर्व सांस्कृतिक सचिव र प्रसार भारतीय बोर्डका पूर्व अध्यक्ष जवाहर सरकारका अनुसार नरेन्द्र मोदीलाई खासमा गान्धीको गुजराती पहिचानको परवाह छैन । तर उनी यसको राजनीतिक फाइदा उठाउन चाहन्छन् । ‘देशकै प्र्रधानमन्त्री भएपनि मोदी गुजरातको समर्थकजस्तो रुप देखाउँछन् । मानांै, यस राज्यमा सबै ठिक छ । र, गान्धी पनि गुजराती छन् । त्यस्तोमा गान्धीलाई उनी टाढा पनि राख्न सक्दैनन् । गान्धी गुजराती थिए । र, म पनि गुजराती हुँ भन्छन्,’ जवाहरले भने,‘तर, उनले गान्धीको १ सय ५० औं जयन्ती पनि निकै सादगी रुपमा मनाए । जब म संस्कृति मन्त्रालयमा थिएँ, तब सरकारले रविन्द्रनाथ–विवकेकानन्द जयन्ती भव्य रुपमा मनाएको थियो । गान्धी जयन्तीका सवालमा त्यस्तो एक प्रतिशत पनि भएन ।’
गान्धीलाई सम्मान
तर के पछिल्ला साढे सात वर्षमा मोदी सरकारले गान्धी विचारधारा लागु गर्न केही गरेको छ ?
भाजपाका नेता अनिर्बान गांगुलीका अनुसार कांग्रेस सरकारको तुलनामा भाजपा सरकारले गान्धीप्रति ज्यादा सम्मान देखाएको छ । ‘गान्धी गएका वा उनी बसेका देशमा ती सबै स्थानको संरक्षणका लागि कांग्रेसले के गर्यो ? गान्धी ती नेता हुन्, जसले कांग्रेस पार्टी नै भंग गर्नुपर्ने धारणा राखेका थिए,’ गांगुलीले भने,‘१९१७ मा गान्धीजीले स्वच्छताको कुरा अघि ल्याएका थिए । उनले आफ्नो घर परिसर, गाउँ, शहर सफा नराख्दासम्म स्वराज चलाउन नसकिने बताएका थिए । आज भाजपा सरकारले उनीप्रतिको श्रद्धान्जलीका रुपमा ‘स्वच्छ भारत अभियान’ सुरु गरेको छ । यो कार्यक्रम निकै सफल भइरहेको छ । गान्धीजीको साबरमती आश्रमलाई अहिले अन्तर्राष्ट्रिय मापदण्डअनुसार सजाइदैंछ । ताकि, लाखौं दर्शक यहाँ आउन सकुन् र यस कामको सुरुवात नरेन्द्र मोदी सरकारले नै गरेको हो ।’
अनिर्बान गांगुलीका अनुसार भाजपाले स्वच्छता अभियानअन्तर्गत गाउँमा शौचालय बनाउनेमात्रै नभएर खादी ब्राण्डलाई नयाँ जीवन दिने काम पनि गरेको छ । ‘गान्धीजीले सधैं शौचालयको सफाई आफै गर्नुपर्ने कुरा गरेका थिए । फिनिक्स, साबरमति र वर्धा आश्रममा यही नियम थिए,’ गांगुलीले भने,‘कांग्रेस पार्टीको सभामा शौचालयहरुबाट फोहोर पानी निस्किएको देखेर महात्मा गान्धीले त्यहाँ सफाई प्रथा सुरु गरेका थिए । किन कसैले सोध्दैन कि आफूलाई गान्धीको विचारधाराअनुसार चलेको दाबी गर्ने पार्टीले स्वतन्त्रताको यतिका वर्षसम्म देशका दूरदराजका इलाकामा किन शौचालयसम्म बनाउन सकेनन् ? र, खादीलाई नहेर्नुस् । त्यो खादी जसलाई हाम्रो ‘फेब्रिक अफ फ्रिड’ भनिन्छ, यसलाई प्रयोग गरिदैन थियो । गान्धीजीको पर्याय मानिएको यो खादीको प्रवद्र्धनमा अहिले मोदी सरकारले विशेष ध्यान दिइरहेको छ । हिजो जर्जर भएका खादीका पसलहरुले आज करोडौं रुपैयाँको कारोबार गरिरहेका छन् ।’
यिनको बाटो गान्धी विरोधी छ ?
तुषार गान्धीका अनुसार गान्धीको विकास कार्यक्रम र उनका विचारधारा अलग कुरा हुन् । सबै जाति र धर्मलाई साथ लिएर जाने उनको विचारधाराभन्दा उल्टो दिशामा मोदी शासन चलिरहेको गान्धीले बताए । ‘गान्धीलाई राष्ट्रपिता भनिनु एउटा कुरा हो । तर, खासमा यसलाई अर्थहीन बनाइएको छ । भारतमा निकै कम मानिसले गान्धीलाई राष्ट्रपिताका रुपमा हेर्छन् वा अनुसरण गर्छन् । र, यस्तो पहिलोपटक भएको होइन । तर गान्धीको दर्जा ज्यादा डामाडोल भएको भने पक्का हो,’ तुषार गान्धीले भने,‘ यो साँचो हो कि गान्धीलाई आफ्नो गुजराती पहिचानमा गर्व थियो । तर, उनी पुरा मानवताका लागि थिए । आजका प्रधानमन्त्रीले गर्वसाथ आफू पनि गुजराती र गान्धी पनि गुजराती भन्छन् । अर्कोतिर, उनको सरकार देशका नागरिकहरुको एउटा वर्गलाई च्याप्नमै सीमित भएको छ । योभन्दा ठूलो गान्धी विरोधी कदम नै हुन सक्दैन ।’
भारतमा ‘नर्मदा बचाओ आन्दोलन’ की नेता र गान्धीवादी मेघा पाटकर पनि अहिंसा र सत्याग्रहको बाटोबाट यस सरकार कोशौं टाढा रहेको बताउँछिन् । उनका अनुसार भारतमा सधैं ‘गान्धीविरुद्ध मोदी’ को लडाँइ चलिरहेको छ । ‘आर्थिक, राजनीतिक वा सामाजिक, यो सरकारका सबै मोडल गान्धीको विचारधाराविरुद्ध छ । अहिंसाको साटो हिंसाको बाटो रोज्नेलाई म कसरी गान्धीको समर्थक मानौं । उनी (मोदी) सधैं सत्यको साटो असत्यको आचरण गरिरहेका छन् ।’
गान्धीको धर्मनिरपेक्षतामाथि प्रहार
भाजपा सरकारले धार्मिक साम्प्रदायिकताको राजनीतिमार्फत् गान्धीमाथि सबैभन्दा ठूलो विश्वासघात गरिरहेका जवाहर सरकारको बुझाई छ । धर्मका बाबजुद् पनि देशलाई धर्मनिरपेक्ष राख्ने गान्धीको मन्त्र आज भारतमा कमजोर भइरहेको उनको तर्क छ । ‘यस देशमा कट्टरवादविरुद्ध गान्धीले सबैभन्दा मजबुत अडान लिएकोमा कुनै शंका छैन । नेहरुले धर्मसँग दूरी राखेका थिए । तर, गान्धीले देखाएको धार्मिक हुँदाहुँदै पनि धर्मनिरपेक्ष रहन सकिन्छ । यसलाई एउटा अचम्मको भारतीय चरित्र भन्न सकिन्छ । विदेशमा धर्मनिरपेक्षताको अर्थ धर्म त्याग्नु हो, तर भारतमा यसको अर्थ आफ्नो धर्ममा विश्वास राख्दै अन्य धर्महरुप्रति सहिष्णु हुनु हो,’ जवाहर सरकारले भने,‘नेहरु एक पश्चिमी धर्मनिरपेक्ष, धर्म–विरोधी विचारधाराका व्यक्ति थिए । यस्तो भारतमा चल्न सम्भव छैन । तर, भारतको केन्द्रीयता या केन्द्रीय दर्शन, धार्मिक हुनुका बाबजुद् गैरसाम्प्रदायिक हुनु र सबैलाई साथमा लिएर चल्नु, यसमा गान्धीको योगदान छ ।’
जवाहरले भने,‘भलै उनले रघुपति राघव भजन गाए । तर, उनले कहिल्यै रामको नाममा मस्जिद तोड्ने कुरालाई समर्थन गरेनन् । आज न राम छन्, न पहिलेजस्तो अयोध्या छ ।’
जवाहरका अनुसार भारतको राजनीति, समाज र अर्थव्यवस्थामा गान्धी समग्र रुपमा अप्रासंगिक हुँदै गइरहेका छन् । अर्कोतर्फ, नाथुराम गोड्से र सावरकरका समर्थक बढी खुलिरहेका छन् । ‘सायद त्यो दिन टाढा छैन, जब भारतका राष्ट्रपिता केवल सरकारी कार्यालयका भित्तामा, सरकारी कर्मचारीहरुको कोटको पिन वा पैसाको नोटमात्रै सजिएको देखिनेछन्,’ उनले भने ।