शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

को हुन् कर्णालीका नयाँ प्रदेश प्रमुख तिलक परियार ?

मङ्गलबार, २३ कात्तिक २०७८, २२ : ०६
मङ्गलबार, २३ कात्तिक २०७८

कर्णालीको नयाँ प्रदेश प्रमुखमा तिलक परियारलाई नियुक्त गरिएको छ। प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीलाई पदमुक्त गरिएसँगै मंगलबार नयाँ प्रदेश प्रमुखमा परियारलाई नियुक्त गरिएको हो । अघिल्लो पटक पनि कर्णालीमा प्रदेश प्रमुखमा उनको नाम चर्चामा थियो । यद्यपि, उनको नियुक्ति हुन सकेन ।  रोल्पा लिवाङमा विपन्न दलित परिवारमा जन्मेका उनी २०२८ देखि कम्युनिष्ट राजनीतिमा लागेका व्यक्ति हुन्।  उनी यस अघि पहिलोपटक २०७६ कत्तिक १८ मा प्रदेश २ को प्रमुखमा नियुक्त भएका थिए ।

माओवादी केन्द्रबाट परियार प्रदेश प्रमुख भएका थिए। नेकपा विभाजनपछि केपी ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले २०७७ फागुन ७ मा उनलाई पदमुक्त गरेकी थिइन्। उनी बाँके १ बाट तत्कालीन नेकपा माओवादीतर्फका प्रत्यक्ष निर्वाचित संविधानसभा सदस्य हुन्।

​परियार माओवादी निकट दलित मुक्तिमोर्चाका केन्द्रीय अध्यक्ष तथा केन्द्रीय सल्लाहकारसमेत हुन्। स्नातक तहसम्मको औपचारिक अध्ययन गरेका परियारले लामो समय भारतमा बसेर पार्टीको काम गरेका थिए। भारतबाट नेपाल आएपछि बाँकेमै बसाई सरेका परियार माओवादी जनयुद्धको बेला बाँके वरपर नै खटेका व्यक्ति हुन्।

विगतको राजनीति यात्रा

उनले सुरुमा मसाललाई समर्थन गरे पनि त्यसको विभाजनपछि बनेको नेकपा मशाललाई सघाए । त्यही मशाल, चौम र सर्वहारवादी श्रमिक सङ्गठन मिलेर २०४७ सालमा बनेको नेकपा एकताकेन्द्र हुँदै उनी पनि अगाडि बढे । एकता केन्द्रको फुटपछि स्थापना गरिएको नेकपा (माओवादी)मा आबद्ध भएर उनी जनयुद्धमा सहभागी भएका नेताका रुपमा गनिन्छन् ।

१ फागुन २०५२ देखि माओवादीले जनयुद्धको शुरुवात गरेपछि उनले पार्टीको बफादार सिपाहीका रूपमा उभिए । त्यो समयमा उनी पार्टीको वैधानिक मोर्चा  संयुक्त जनमोर्चा नेपालको केन्द्रीय सदस्य भइसकेका थिए । जनमोर्चाले २४ चैत्र २०५४ मा राखेको ‘नेपाल बन्द’को क्रममा कोणसभालाई सम्बोधन गर्दैगर्दा उनी समातिएर बाँकेको कोहलपुरबाट गिरफ्तार गरी उनलाई सिधै जेल चलान समेत गरिएको थियो ।

विभिन्न कारागारमा गरी उनले ३ वर्ष ४ महिनाको जेल जीवन समेत भोगेका छन् । २०६३ सालमा उनी अन्तरिम व्यवस्थापिका संसद सदस्य भए । उनले २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा पनि निरन्तरता पाए ।

संसद्बाट जातीय भेदभाव तथा छुवाछूत कसूर सजाय ऐन, २०६८ निर्माण हुँदा विधायन समितिअन्तर्गत सो विधेयक निर्माण गर्दा उनकै नेतृत्वमा उपसमिति निर्माण भएको थियो । त्यसबेला उनले निकै महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । पार्टी एकता भएर एकीकृत नेकपा–माओवादी बनेपछि मार्क्सवादी विद्वान् कृष्णदास श्रेष्ठलाई केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष बनाइयो भने तिलक परियारलाई सचिवको जिम्मेवारी दिइयो । उनले सो पदमा रहेर पार्टी र जनताको पक्षमा लामो समय काम गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप