बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

पाँच दलीय संयन्त्र होइन, समन्वय समिति हो : जनमोर्चा

मङ्गलबार, २३ कात्तिक २०७८, २० : ३३
मङ्गलबार, २३ कात्तिक २०७८

पाँच दलीय गठबन्धनले सरकारको सञ्चालनको लागि कुनै संयन्त्र नभएर एउटा समन्वय समिति मात्र बनाउने निर्णय गरेको राष्ट्रिय जनमोर्चाले जनाएको छ । सामाजिक सञ्जाल, पत्र–पत्रिका र कतिपय व्यक्तिहरूले त्यो समितिलाई सरकारको सञ्चालन सम्बन्धी संयन्त्र नै भएको बताइरहेकोमा पार्टीले एक विज्ञप्ति नै जारी गरेर आपत्ति जनाएको हो ।

पार्टीकी उपाध्यक्ष, प्रवक्ता तथा सांसद दुर्गा पौडेलले विज्ञप्तिमा भनेकी छन्, 'पहिले सरकारको सञ्चालनको लागि पाँच दलीय संयन्त्र बनाउने कुरा उठेको थियो । तर हाम्रो पार्टी सरकारमा सामेल नभएको हुनाले हामीले त्यस प्रकारको संयन्त्रमा नबस्ने कुरा स्पष्ट गरेका थियौँ । तर अहिले बनेको समिति सरकारको सञ्चालन सम्बन्धी संयन्त्र नभएको कुरा हामीले स्पष्ट गर्न चाहान्छौँ ।  आज बिहान कान्तिपुरको अन्तवार्तामा माओवादी नेता का. नारायणकाजी श्रेष्ठ (प्रकाश) ले पनि त्यो विषयमा प्रकाश हाल्दै त्यो समिति सरकारको संचालन सम्बन्धी संयन्त्र नभएको कुरा प्रष्ट गर्नु भएको छ ।' 

अहिले बनेको समन्वय समिति सरकारको सञ्चालनको संयन्त्र नभएपनि त्यसले आपसी छलफल र विचार विमर्शद्वारा सरकारलाई सहयोग पुर्‍याउन सक्नेछ पार्टीले विश्वास लिएको छ । हिजो बसेको पाँच दलीय बैठकमा उपनिर्वाचन वा राष्ट्रिय सभाका चुनावहरूमा मिलेर जाने सहमति भएको पार्टीले जनाएको छ । त्यसरी नै प्रतिगमनलाई पराजित गर्नु सम्भव हुने पार्टीको स्पष्ट मत रहेको बताइएको छ ।

पार्टीले केपी शर्मा ओलीले अहिले पनि संसदलाई असफल पार्न पूरै प्रयत्न गरिरहेको आरोप पनि लगाएको छ । उनको योजना चुनावमा गएर दुई तिहाई बहुमत प्राप्त गर्ने र त्यसपछि संसदमा संविधान संशोधनका लागि प्रयत्न गर्ने नै रहेको छ । 'उनको कार्यशैलीमाथि विचार गर्दा उनले प्रतिगमनलाई मदत पुग्ने, राष्ट्रियतामाथि आघात पु¥याउने तथा देशलाई अधिनायकवादतिर लैजाने दृष्टिकोणले नै संविधानमा संशोधन गर्न प्रयत्न गर्ने नै बढी सम्भावना देखिन्छ । त्यसैले त्यस प्रकारको खतराबाट देशलाई बचाउन चुनावसम्म नै अहिलेको गठबन्धनको एकतालाई कायम राख्नुपर्ने आवश्यकता छ,' विज्ञप्तिमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप