आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

बन्ने भयो शिक्षक अस्पताल, जग्गा खोज्न समिति

मङ्गलबार, २३ कात्तिक २०७८, १२ : ३२
मङ्गलबार, २३ कात्तिक २०७८

शिक्षकहरुका लागि शिक्षक अस्पताल बन्ने भएको छ । सोमबार मन्त्रिस्तरीय बैठकले शिक्षक अस्पतालका लागि उपयुक्त ठाउँ खोज्न समिति गठन गर्ने निर्णय गरेको हो । 
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाका अनुसार उपयुक्त जग्गा व्यवस्थापनका लागि डा. विमल चालिसेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको हो ।

समितिमा शिक्षक तथा मन्त्रालयका कर्मचारी रहेका छन् ।  समितिलाई २ महिनाभित्र उपयुक्त जग्गा खोज्न कार्यअवधि तोकिएको सचिव थपलियाले जानकारी दिए ।  
‘शिक्षक अस्पतालका लागि दुई महिनाको समयअवधि दिइएको छ,’ सचिव थपलियाले भने, ‘उपयुक्त जग्गा व्यवस्थापन हुनेबित्तिकै काम शुरु हुन्छ ।’ 

समितिले देशका मुख्य शहरमा जग्गा हेर्न र त्यसको विवरण मन्त्रालयलाई बुझाउने भएको छ । 
‘अस्पतालका लागि कस्तो जग्गा चाहिन्छ भनेर हामीले डा. विमल चालिसेको संयोजकत्वको समिति बनाएका छौं,’ सचिव थपलियाले भने,‘ काठमाडौं, चितवनलगायतका शहरमा जग्गा खोज्ने काम हुन्छ ।’

शिक्षक अस्पताल बन्ने भएपछि देशभरका करिब ३ लाख बढी शिक्षकहरु लाभान्वित हुने भएका छन् ।  अर्थमन्त्री जनार्दन शर्माले बजेट अध्यादेशको प्रतिस्थापन विधेयक मार्फत शिक्षक अस्पताल बनाउन बजेटको व्यवस्था गरेका थिए ।

यस्तै सोमबार मन्त्रिस्तरीय बैठकले प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम परिषद् अन्तर्गत कर्णाली प्रदेश कार्यालयका लागि जग्गा व्यवस्थापन गरिएको छ । कार्यालयको भवन निर्माणका लागि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५ कालिका प्रावि र नेपाल राष्ट्रिय मावि चिसापानीमा मर्ज भइ खाली भएको कित्ता नम्बर ८६७ को १०३४ व.मी क्षेत्रफल भएको जग्गा व्यवस्थापन गरिएको हो ।

सो ऐलानी जग्गा लिजमा उपलब्ध गराउने कार्यनीति २०७१ अनुसार आवश्यक पक्रिया पूरा गरि कार्यालयको भवन बनाउन दिने निर्णय भएको प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम परिषद्का सदस्य सचिव जीवनरायण काफ्लेले जानकारी दिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप