बिहीबार, १३ असार २०८१
ताजा लोकप्रिय

विराटनगर महानगरलाई आकाशे पुल निर्माण कार्य घाँडो

पहिले आकाशे पुल बनाइदेऊ भन्दै डेलिगेसन, अहिले बनाउन पाइँदैन भन्दै अवरोध
मङ्गलबार, २३ कात्तिक २०७८, ११ : ३७
मङ्गलबार, २३ कात्तिक २०७८

विराटनगरमा विवादका कारण आकाशे पुल निर्माण कार्य अलपत्र परेको छ। नेताहरुकै अवरोधले आकाशे पुल निर्माण सुरुवाती चरणमा नै रोकिन पुगेको हो । विराटनगर महानगरपालिकाले  कोशी राजमार्गअन्तर्गत पर्ने मुख्य सडक क्षेत्रमा आकाशे पुल निर्माण गर्ने योजना अघि बढाएको थियो । तर स्थानीयले अवरोध गरेपछि आकाशे पुल निर्माण गर्ने योजनाबाट महानगरसमेत पछि हटेको छ।

कोशी राजमार्गको मुख्य सडक क्षेत्रमा यातायात साधनको बढ्दो चापलाई मध्यनजर गर्दै सडक सहजताका लागि तीन आकाशे पुलको संयुक्त रुपमा यसअघि शिलान्यास गरिएको थियो । गत चैत ३ मा विराटनगरस्थित बरगाछीमा एक कार्यक्रमका बीच विराटनगर महानगरका मेयर भीम पराजुलीले पुलको शिलान्यास गरेका थिए । विराटनगरको बरगाछी, कञ्चनवारी र भट्टीभोडको घाँस चौकमा निर्माण गरिने पुल चालु आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । आकाशे पुलको कुल लागत दुई करोड ४७ लाख रहेको छ ।

स्टिल स्टक्चरको आधारमा २५ मिटर लम्वाई, पाँच दशमलव पाँच मिटर उचाईको आकाशे पुल निर्माणको लागि कला विल्डरले बरगाछी र घाँस चोक तथा आरके विल्डर्सले कञ्चनबारीको आकाशे पुल निर्माणको ठेक्का पाएको थियो । तर अहिले कञ्चनबारी, बरगाछी, घाँसचोक र बसपार्क क्षेत्रमा आकाशे पुल बनाउन स्थानीयले अवरोध गर्न थालेपछि महानगरको आकाशे पुल बनाउने योजना नै अलपत्र परेको छ । स्थानीय नेता समेत रहेका उनीहरु नै आफ्नो जग्गामा पुल निर्माणमा अवरोधमा सक्रिय देखिएका छन्।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीका अनुसार  नगरबासीहरुको चौतर्फी दबाब बढेपछि महानगरले आकाशे पुलको आवश्यकता अध्ययन गर्यो । अध्ययनले कम्तीमा चार ठाउँमा आकाशे पुल जरुरी रहेको निष्कर्ष निकाल्यो । त्यसैका आधारमा महानगरपालिकाले आवश्यक स्रोतको व्यवस्थापन गरेर आकाशे पुल बनाउने योजना अगाडि बढाएको थियो ।

कुनैबेला नगरका निश्चित चोकहरुमा आकाशे पुल तुरुन्त बनाउन दबाब दिँदै विराटनगर महानगरपालिकामा दिनहुँजसो दबाब आउँथ्यो। मेयर पराजुली भन्छन्,‘पहिले आकाशे पुल बनाइदेऊ भन्दै डेलिगेसन आउँथे अहिले मेरो घर अगाडि बनाउन पाइँदैन भन्दै अवरोध गरिरहेका छन्।’ अवरोध गर्नेमा पनि स्थानीय नेताहरु नै सक्रिय देखिएका छन्।

स्थानीयको अवरोधका कारण आकाशे पुल निर्माणको काम अघि बढ्न नसकेपछि महानगरलाई त्यही योजना घाँडो बनेको छ ।

आकाशे पुल बनाउन ठेकेदार कम्पनीले बसपार्क दक्षिण पाञ्चाली मोड नजिकै काम सुरु गर्यो । तर, जग्गाधनी नागेश कोइरालाले काममा अवरोध गरे । उनले आवश्यकतै नभएको ठाउँमा आकाशे पुल बनाउन जरुरी छैन भन्दै काम अगाडि बढाउन दिएनन् । कोइराला नेपाली कांग्रेस मोरङका सचिवसमेत हुन् ।

त्यसैगरी आकाशे पुल चाहियो भनेर सबैभन्दा धेरै माग भएमध्येको कञ्चनबारी चोकमा पनि महानगरले काम अगाडि बढाउन सकेन । आकाशे पुलको ‘ड्रोइङ डिजाइन’ चोकको दक्षिणमा बनाउने गरी तयार भएको थियो।

राजमार्ग पूर्व र पश्चिम दुवैतर्फका घरधनीहरुले पुल निर्माण गर्न नदिने भएपछि चोकबाट उत्तरतर्फ सारियो । तर, त्यहाँ पनि आकाशे पुल बन्ने छाँट छैन । प्रदेशसभा सांसद चुमनारायण तवदारले महानगरमा लिखितै उजुरी दिएर आकाशे पुलको विकल्प खोज्न वा त्यहाँबाट अन्यत्र सार्न माग गरेका छन् ।

तवदारले आवश्यक स्थानमा आकाशे पुल बन्नुपर्ने हो, त्यो ठाउँमा नबनेर अन्तै बनाउन लागिएकोले त्यसो नगर्न मात्र आफूले भनेको बताए । उनले आफू विकास विरोधी नभएको पनि अभिव्यक्ति दिए ।

दक्षिणतर्फ बनाउँदा महानगर ४ का वडाध्यक्ष देवेन्द्रराज पोखरेलको घर छेकिने भएकोले पहिल्यै सारिएको थियो । उत्तरमा सांसदकै घर परेपछि कञ्चनबारी चोकमा बन्ने भनिएको आकाशे पुलको योजना तुहिने अवस्थामा पुगेको छ ।

वडाध्यक्ष पोखरेलले आकाशे पुल बनाउन आफूले अवरोध नगरेको बताए । उनले भने, ‘मेरै घर अगाडिबाट बनाए पनि हुन्छ । पहिले पनि मेरो कारणले नभएर छिमेकीहरुका कारणले सरेको हो ।’ यस विषयमा छलफल गरेर निष्कर्षमा पुग्ने सकिने उनले बताए ।

बरगाछीमा पनि स्थानीय गणेश थापाले आफ्नो घर अगाडि आकाशे पुल नबनाउन दबाब दिँदै आएका छन् । उनले पनि दायाँबायाँ सारेर पुल बनाउन आग्रह गर्दै आफ्नो घर अगाडि भने बनाउन नमिल्ने भन्दै काम गर्न नदिने चेतावनी दिइरहेका छन् । सबैतिरबाट अवरोध भएपछि महानगर योजना कार्यान्वयन गर्न नसक्ने अवस्थामा पुगेको छ ।

काममा अवरोध गरेको आरोप खेपेका नेपाली कांग्रेस मोरङका सचिव नागेश कोइरालाले भीडभाड हुने ठाउँमा नबनाएर आफनो खाली जग्गामै लगेर बनाउनुको अर्थ के हो ? जबरजस्ती विकास विरोधी देखाउन यस्तो गरिएको अनुभूति भएको बताए । उनले विराटनगरको विकासमा जस्तोसुकै सहयोग गर्न आफू तयार रहेको भन्दै ‘जुन ठाउँमा आवश्यक छ, त्यस ठाउँमा पूर्वाधार बन्नुपर्छ । कलेज रोडको त्यस ठाउँमा तत्काल पुल आवश्यक छैन भनेर मैले केही समय काम नगर्न भनेको हुँ ।’

विराटनगर महानगरपालिकाले प्रदेश सरकारसमेतको सहयोगमा घाँसेचोकमा लिफ्ट, शौचालय, सूचना केन्द्रसहितको आकाशे पुल बनाउने योजना अघि सारेको थियो । बाँकी पुलहरुमध्ये दुईवटामा दुवै तर्फबाट चढ्न मिल्ने र एउटामा भने एकातर्फबाट चढ्न मिल्ने गरी बनाउनका लागि महानगरले झण्डै ८ करोड रुपैयाँ खर्च गर्ने योजना रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप