शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ओलीको बोली र गिनिज बुकको यात्रा

मङ्गलबार, २३ कात्तिक २०७८, ११ : ०८
मङ्गलबार, २३ कात्तिक २०७८

केही समयअघि सार्वजनिक कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले आफू सरकारमा छँदा आफूले गरेका कामहरूको बारेमा ब्याख्या गर्दै गिनिज बुकमा पनि नअटाउने गरी काम गरेको दावी गरे । देशको प्रधानमन्त्री भइसकेको व्यक्तिलाई गिनिज बुकमा नाम कसरी लेख्न पाइन्छ, त्यसका प्रावधानहरू के के छन् ? राम्ररी थाहा होला । 

कि त ओलीले गिनिज बुकमा नाम लेख्नु भनेको बिजुलीका पोल पोलमा आफ्नो फोटो झुण्डयाएर नाम लेखेजस्तो हो ? भन्ने ठानेका होलान् ? कि त माक्र्स, लेनिन, माओका ठाउँमा आफ्नो डमी बनाएर कार्यक्रम स्थलमा राखेर गिनिज बुकमा नाम लेखिन्छ भन्ने सोचेका होलान् ? कि त सबै कार्यकर्ताहरूलाई कमरेड भन्नुको सट्टा “केपी बा” भनेर बा संस्कृतिमा ढाल्न लाएर कम्युनिष्ट पार्टीमा कमरेड शब्दलाई विस्थापित गरेर गिनिज बुकमा नाम लेखाउने योजनामा छन् कि ? 

कि त नेकपा एमालेको भर्खरै गरेको विधान महाधिवेशनभन्दा आउँदै गरेको महाधिवेशनमा आफ्नो स्तुति गाएर काठमाडौंदेखि चितवनका नारायणी नदीदेखि सौराहा–हेटौडासम्म आफ्नो डमी, आफ्नो फोटोहरू पोल–पोलमा, पसल–पसलमा, चौराहा–चौराहामा राख्न लगाएर रेकर्ड कायम गरेर गिनिज बुकमा नाम लेख्ने त हैनन् ? हेरौं नेकपा एमालेको आउँदै गरेको मंसिर १०–१२ सम्मको महाधिवेशनमा ओलीले कस्तो संस्कार देखाउँछन् ? यी माथि उल्लिखित विषयवस्तुहरूलगायत ओलीले उल्टो बाटो समातेर गिनिज बुकमा नाम लेख्न प्रयास गरेका केही विषयवस्तुहरूको यहाँ बुँदागत चर्चा गरिएको छ । 

प्रतिनिधिसभाको विघटन
ओली प्रधानमन्त्री भएको बेला पहिलो पटक संसद विघटन गरे तर अदालतले पुनस्र्थापना गरिदियो । फेरी केही समयपछि दोस्रो पटक संसद विघटन गरे, फेरी अदालतले संसद पुनस्र्थापना गरी शेर बहादुर देउवाको नेतृत्वमा सरकार निर्माण गरी अगाडि बढ भनेर आदेश दियो । यदि अदालतले देउवाको नाम नकिटेको भए तेस्रो पटक पनि ओलीले संसद बिघटन गर्थे । त्यति मात्र हैन, पटक पटक संसद विघटन गरी जनताको जनादेशको अपमान गरेर धेरै पटक संसद बिघटन गर्ने व्यक्ति नेपालको प्रधानमन्त्री केपी ओली हुन् भनेर गिनिज बुकमा नाम लेखाउने तयारीमा जस्तो देखिन्थे । नामै लेख्न सफल नभए पनि नाम लेख्नको लागि प्रयत्नशील ब्यक्ति भनेर गिनिज बुकको कुरा गरेको होलान् । 

नेकपाको विघटन
दुइटा ठूल्ठूला कम्युनिष्ट पार्टी एमाले र तत्कालीन माओवादी केन्द्र एकीकरण भएर नेपालकै ठूलो कम्युनिष्ट पार्टी नेकपा बनेको थियो । एकीकरण गर्नुका पछाडि पनि केही नेताहरूको स्वार्थ लुकेको थियो । ओलीलाई माओवादीसँग चुनावी तालमेल गरेर आफू दुई तिहाईको प्रधानमन्त्री हुनु थियो । उनको योजना ३ बर्ष सम्मका लागि सफल पनि भयो । माधव, झलनाथ, प्रचण्डलाई कार्यकर्ता बनाएर आफूले राज गर्न पाए एकीकरणको सम्पूर्ण काम टुङ्गोमा पुर्याउने, नभए आफ्नो बाटो अघि बढ्ने ओलीको उद्देश्य लुकेको थियो । जनताका बीचमा खाएको कसम, गरेको प्रतिबद्धता जनताको जनादेश, पार्टीको निर्णय, केही पनि वास्ता नगरी पार्टी र सरकार ओलीले एकलौटी ढंगले चलाउन खोजे । आफ्ना गुटका कार्यकर्तालाई मात्र संरक्षण गरी देश कब्जाको नीति लिए । मन्त्री बनाउँदा होस् या राजनीतिक नियुक्ति गर्दा होस् आफ्ना वरिपरिका बाहेक अरुलाई सुँघ्न पनि नदिई गिनिज बुकमा नाम लेख्ने प्रयत्न गरी अन्ततः नेकपाको विघटन गरी छाडे । 

एमालेको विघटन
नेकपाको विघटन त गरे गरे, फेरी नेकपा एमालेको पनि विघटन गरेर आफूलाई विश्वकै महान नेताको दर्जामा राख्न छाडेनन् । सर्वाेच्च अदालतले तत्कालीन नेकपा एमालेलाई २०७५ जेठ २ गते भन्दा अघिको कमिटिमा जाउँ भनेर आदेश गर्दा पनि गिनिज बुकमा नाम लेखाउने रहरले गर्दा अदालतको आदेश पनि आफ्नै बलजफ्तीले एमालेको पनि विघटन गरिदिए । आफ्नो स्तुतिगान गाउने कार्यकर्ताबाहेक अरु नेता कार्यकर्ताहरूलाई एमालेमा बस्नै नदिने ओलीको रणनीतिमध्ये एक हो । माधव, झलनाथ, बामदेवलगायतले आलोचना गर्छन् भनेर एमालेमा कुनै हालतमा बस्न दिने वातावरण बनाएनन् । १० बुँदेको कुरा उठाउनेहरूलाई पनि महाधिवेशनबाट लखेटेर आफ्ना भक्तजनहरूलाई मात्र एमाले पार्टीमा बस्न दिने रणनीति बनाएर गिनिज बुकमा नाम लेख्न सफल हुन्छन् कि त ? 

संघीय सरकारको विघटन
लामो समयको त्याग, तपस्या र बलिदानीबाट निर्मित नेकपाको संघीय सरकार लगभग दुई तिहाइको बहुमतको हाराहारीमा बनेको थियो । नेपाली जनताको चाहना, इच्छा, आकांक्षाको कुनै वास्ता नगरी ओलीले आफ्नै कारणले बहुमत आएको हो भन्ठानेर ओली कम्पनीको सरकार चलाए जस्तो गरे । कुनै कम्पनीको बैठक गर्दा होस् या कम्पनी चलाउँदा होस शेयर होल्डरसँग सल्लाह गर्नुपर्दछ । तर ओलीले त कुनै नेताहरूको सल्लाहको आवश्यक ठानेनन् । आफूलाई तानाशाहजस्तो ठानेर एकलौटी तरिकाले मन्त्री बनाउने, राजनीतिक नियुक्ति गर्ने, सरकारका महत्वपूर्ण निर्णयहरू एकलौटी तरिकाले गर्ने लगायतका विभिन्न विषयमा आफ्नो मनपरी स्वेच्छाचारी तरिकाले अगाडि बढ्दा पार्टीका कुनै निर्णयहरू नमानेर उल्लंघन गर्दा, नेकपालाई टुक्रयाएर आफू पनि सडकमा पुगे । यीलगायत विविध कारणले गर्दा लगभग दुई तिहाईको नजिक नजिक भएको संघीय सरकारबाट बालकोटको बार्दलीमा आइ कराउनुपर्ने अवस्था सिर्जना गरे । बहुदलीय व्यवस्थापछि लगभग यति जनमत पाएको सरकार थिएन । तर यो जनमतको कदर नगर्दा नेकपा पार्टी पनि फुट्यो । सरकार पनि ढल्यो, साथै एमाले पार्टी पनि विघटन भयो । यो सबै कम ओलीले गरेको हुनाले गिनिज बुकमा दरिन्छ भनेका होलान् । 

प्रदेश सरकारको अवस्था
नेकपा हुँदा बहुमतका साथ सातवटा प्रदेशमध्ये ६ वटा प्रदेशमा नेकपाको सरकार थियो । छ प्रदेशमा मुख्यमन्त्रीका साथै मन्त्रीहरूले प्रदेश सरकार सञ्चालन गरेका थिए । यति सुनौलो अवसर सायद कम्युनिष्टहरूका लागि कहिल्यै प्राप्त हुँदैन होला । अझै भन्ने हो भने ओली आफू प्रधानमन्त्री भएको बेला छ वटै प्रदेशमा नेकपाको सरकार नियुक्ति भएर काम गर्न पाउनु ओलीको लागि सौभाग्य थियो । त्यति मात्र हैन, ४ वटा प्रदेशमा त उनकै पकेटका मुख्यमन्त्री थिए । तर ओलीले त प्रदेश सरकारलाई आफ्नो युनिटका रूपमा प्रस्तुत गरे । 

प्रदेश सरकारलाई कुनै महत्व नै नदिएर उल्टो आफूले भनेको नमाने खारेज गरिदिन्छु भनेर धम्की दिए । परिणाम, आजको मितिसम्म आइपुग्दा ओलीको एमाले प्रदेश सरकारबिहिन हुन पुग्यो । संघीय सरकारका साथै ६ वटा ठाउँमा प्रदेश सरकार भएकोमा आज ओली शुन्यमा झर्नुले कतै उल्टोबाट गिनिज बुकमा नाम लेखाउन सफल भए कि ? 

लेखक नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य हुन्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप