शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

आज छठ पर्वको दोस्रो दिन : रौतहटमा बढ्यो चहलपहल

मङ्गलबार, २३ कात्तिक २०७८, ०८ : १३
मङ्गलबार, २३ कात्तिक २०७८

हिन्दुहरुको लोकपर्व छठ अर्थात  सूर्य षष्ठी पूजाको दोस्रो दिन आज  व्रतालुहरू ​ खरना गरिरहेका छन्  । धार्मिक नियमपूर्वक जनविश्वासका साथ मनाइने चार दिवसीय आस्थाको पर्व छठ सोमबारदेखि   शुरु भएको हो ।

हिन्दु धार्मिक मान्यता अनुसार छठ वर्षमा दुई पटक कात्तिक र चैत्रमा अत्यन्तै  निष्ठापूर्वक मनाइन्छ । कात्तिक शुक्ल चतुर्दशीका दिनदेखि शुरु हुने सूर्य उपासनाको पर्व छठलाई तराई मधेस तथा  मिथिलाञ्चलको महान पर्व पनि भनिन्छ । 

लोकपर्व छठको आज दोस्रो  दिन व्रतालुहरू नुहाइ धुवाइ गरी शुद्ध भई पूजाका सामग्री तयार गरी रहेका छन् । छठ व्रत गर्ने व्रतालु महिला तथा पुरुषहरूले हिजो चोखो अरवा चामलको भात, चना, रहरको दाल, फर्सी, लौकाको तरकारी खाएर छठ पर्व सुरु गरेका हुन् ।

छठ पर्वको पहिलो दिनलाई नहाए खाए भनिन्छ । पर्वको दोश्रो दिन  मंगलवार व्रतालुहरूले खरना मनाइरहेका छन । खरनाको दिन व्रतालुहरू बिहानैदेखि  निर्जला रही बेलुका नयाँ माटोको चुल्होमा प्रासादको रुपमा साठी धानको चामल र गाई, भैंसीको दुधको खीर र गहुँको पिठोको रोटी पकाई छठी मातालाई  चढाउँछन् । त्यही प्रसाद खाने गर्दछन् । त्यसछि ब्रतालुहरु ३६ घण्टा पानीसमेत नखाएर  निराहार व्रत शुरु हुनेछ ।

लोकपर्व छठ अन्तर्गत भोलि बुधवार बेलुका अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइने र पर्सिपल्ट बिहीवार बिहान उदाउँदो  सूर्यलाई विधि पूर्वक अर्घ दिएपछि छठ विधिवत रुपमा सकिन्छ ।

अहिले  रौतहटको सदरमुकाम गौरदेखि  ग्रामिण बजारहरुमा छठ पर्वको चहलपहल बढेको छ । छठ पर्वमा नयाँ कपडा लगाउने चलन  छ । हाल कपडा, खाद्यान्न तथा फलफुलका पसलहरूमा किनमेल गर्ने ग्राहकको भीड देखिन्छ । 

गौर, चन्द्रनिगाहपुर, गरुडा, कटहरिया, शिवनगरका साथै सिमावर्ती भारतीय बजार बैरगनिया,कुण्डवा चैनपुर,घोडाशहनमा पूजा सामग्री, किराना सामान तथा कपडा किनमेल गर्नेहरुको चहलपहल निकै बढेको छ ।

यसपटक  पूजा सामग्रीहरु,फलफूल मिठाइ, छठ पर्वमा प्रयोग हुने बाँसको दौरा, सुपली, नाङलो, माटोको बर्तन, हाथी, कलश, ढकनाको भाउ  आकासिएको छ । त्यसैगरी  हरिया तरकारीको मूल्य निकै बढेको छ ।

छठपर्व मनाउन रौतहटको सबै स्थानका नदी, पोखरी, तलाउ किनारमा पंडाल सजावट सुरु भएको छ । छठ सुरु भएपछि छठी मैयाँसँग सम्बन्धित भोजपुरी, हिन्दी गीत तथा  भजन कीर्तनले शहरदेखि गाउँसम्मको वातावरण भक्तिमय बनेको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप