शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पार्टी काममा फर्किए झलनाथ खनाल

सोमबार, २२ कात्तिक २०७८, २० : २७
सोमबार, २२ कात्तिक २०७८

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल स्वास्थ्य उपचारपछि आज पार्टी काममा फर्किएका छन् । पार्टी केन्द्रीय कार्यालय, मिनभवन, आलोकनगरमा दिउँसो २ देखि साँझ ५ बजेसम्म उपस्थित भइ उनी प्रमुख रहेको विदेश विभागको पहिलो बैठकमा सहभागी भए ।

उनले विभागका सदस्यसँग विभागका आगामी कामबारे छलफल गरे । पूर्वप्रधानमन्त्री खनालले विदेश विभागको सचिवमा डा.शङ्कर खतिवडालाई मनोनयन गरेका छन् । उनले पार्टी कार्यालयका पदाधिकारी तथा कर्मचारीसँग कार्यालयको अवस्थालगायतका प्राविधिक विषयमा जानकारी लिएका छन् ।

गत साउन २० गते भारत, नयाँ दिल्लीस्थित एपोलो हस्पिटलमा मिर्गौला प्रत्यारोपण गरेपछि चिकित्सकको सल्लाहमा उनी घरमै आराम गरेर बसेका थिए । मिर्गौला उपचारका क्रममा उनले सुरुमा काठमाडौँस्थित नर्भिक अस्पतालमा र त्यहाँका चिकित्सकहरुको रायका आधारमा थप उपचारका निम्ति गत असार २ गते दिल्लीस्थित एपोलो अस्पताल गएका थिए । मिर्गौला प्रत्यारोपणपछि उनी दिल्लीबाट भदौ १४ मा स्वदेश फर्किएका हुन् ।

चिकित्सकहरूले तीन महिना पूर्ण आराम गर्न सल्लाह दिएका कारण त्यस अवधिभर उनी कुनै पनि कार्यक्रममा उपस्थित भएनन् । उक्त समय अवधि सकिए पनि अझै केही समय सार्वजनिक कार्यक्रम (भेला, बैठक, सभा) मा नजाने भएका छन् । पार्टीका आन्तरिक गतिविधिमा भने उनी सहभागी हुने भएका छन् ।

नेकपा (एकीकृत समाजवादी) गठन भएपछि उनी एउटा सचिवालय बैठकमा उपस्थित भएका थिए तर पार्टी कार्यालय स्थापना भएपछि उनी पहिलोपटक कार्यालय आएका हुन् । उनी अब नियमित रुपमा कार्यालयमा रहने भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप