शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सामूहिक बलात्कारका ३ जना आरोपी पक्राउ

सोमबार, २२ कात्तिक २०७८, २० : ०९
सोमबार, २२ कात्तिक २०७८

सामूहिक बलात्कार गरेर फरार भएका तीनजना आरोपी बीस दिनपछि पक्राउ परेका छन् । यही कात्तिक २ गते एक महिलालाई बलात्कार गरी फरार भएका पुलाचौरका प्रकाश रामदाम, प्रवेश रामदाम र हिट्मेन बानियाँलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले आज सार्वजनिक गरेको हो । 

पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले २२ वर्षीय प्रकाशलाई रुपन्देहीबाट आइतबार, १८ वर्षीय प्रवेश र २४ वर्षीय हिट्मेनलाई आज पोखराबाट पक्राउ गरिएको जानकारी दिनुभयो । “रातको समयमा सुतिरहेको अवस्थामा घरमै आएका तीन जनाले पालैपालो सामूहिक बलात्कार गरेको कात्तिक ४ गते पीडितले जाहेरी दिएपछि आरोपीको खोजी र अनुसन्धान सुरु गरेका थियौँ”, उनले भने, “जिल्ला अदालत म्याग्दीमा सामूहिक बलात्कारसम्बन्धी मुद्दा दर्ता र सात दिनको म्याद थपेर अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।” 

मुद्दा दर्ता नहुँदै अनुसन्धान प्रभावित हुने गरी सामाजिक सञ्जाल फेसबुकमा गरिएका टीकाटिप्पणी, युट्युबर र नाराबाजीका कारण घटना गिजोलिएर आरोपीहरू भागेपछि चुनौती देखिए पनि आधुनिक विधि र प्रविधिको प्रयोग गरेर आरोपी पक्राउ गर्न सफल भएको प्रनाउ राईले बताए ।

मुलुकी अपराधसंहिता २०४७ को परिच्छेद १८ को दफा २१९ बमोजिम अठार वर्ष वा सोभन्दा बढी उमेरकी महिलालाई बलात्कार गरेको कसुर पुष्टि भएमा सातदेखि दस वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ । साथै उपदफा ७ बमोजिम सामूहिक करण गरेमा थप पाँच वर्ष कैद सजाय हुने कानुन छ । 

आरोपितका अभिभावक तथा आफन्तहरुले भने सहमतिमा भएको सम्बन्धलाई राजनीतिकरण र विषयान्तर गरेर फसाउन खोजिएको दाबी गरेका छन् । प्रवेश र प्रकाश सहोदर दाजुभाइ हुन् । प्रवेश भारतमा कक्षा १२ अध्ययन गर्छन् । रुपन्देहीमा बस्दै आएका प्रकाश त्यहाँ सुनचाँदी पसलमा काम गर्छन् । हिट्मेन भने पुलाचौरकै स्थायी बासिन्दा हुन् । प्रवेश र प्रकाश दसैँ मनाउनका लागि अभिभावकसँग पुख्र्यौली घर आएका प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप