विद्यार्थी नेता अधिकारीको करेन्ट लागेर मृत्यु
![विद्यार्थी नेता अधिकारीको करेन्ट लागेर मृत्यु](https://rpcdn.ratopati.com/media/albums/girija_adhikari_M88Ehs6Pl4.jpg)
मकवानपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । विद्यार्थी राजनीतिमा सक्रिय रहेका गिरिजा अधिकारीको आज बिहान करेन्ट लागेर उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । नेकपा एकीकृत समाजवादी हेटौंडा उपमहानगरपालिका कमिटीका सचिव रहेका अधिकारीको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
उनलाई आफ्नै वडामा बाटो निर्माणका लागि बिजुलीको तार पन्छाउने क्रममा करेन्ट लागेको थियो । जेसिवीको बकेटमाथि चढेर तार पन्छाउने क्रममा उनले ११ हजार भोल्टेजको तार छुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले बताए ।
करेन्ट लागेर घाइते भएका अधिकारीलाई हेटौंडा अस्पतालमा उपचारका लागि ल्याइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट रामचन्द्र सापकोटाले बताए । मृतक अधिकारीको पोस्टमार्टमको तयारी भइरहेको उनले बताए ।
नेकपा माओवादी केन्द्रबाट विद्यार्थी राजनीतिमा होमिएका अधिकारी हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१७ राजदेवीका स्थायी बासिन्दा हुन् । उनको २८ वर्षको उमेरमा मृत्यु भएको हो । नेकपा माओवादी केन्द्र विभाजनपछि बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालमा रहेर विद्यार्थी राजनीतिमा निरन्तर लागेका उनी नयाँ शक्ति र जसपाको एकीकरण पछि सो पार्टी परित्याग गरी एमाले प्रवेश गरेका थिए ।
गत भदौमा एमाले विभाजनपछि भने उनी माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय सदस्य तथा हेटौंडा उपमहानगरपालिका नगर कमिटीको सचिव रहेर काम गरिरहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
रवि हिरासतमा सुतिरहेको भाइरल तस्बिर रास्वपा समर्थकले नै खिचेको खुलासा
-
चार बजे मन्त्रिपरिषद् बैठक
-
‘घुम्न जाऊँ बर्दिया’अभियान उद्घाटन
-
रियल म्याड्रिडले चुम्यो फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार