शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सत्यम : ६ करोडमा फिल्म, २ करोड प्रचार !

सोमबार, २२ कात्तिक २०७८, १४ : १८
सोमबार, २२ कात्तिक २०७८

नेपाली फिल्मको बजार अहिले शून्य अवस्थामा छ । कोरोनाको कारण बन्द फिल्महरु खुलेपनि नेपाली फिल्महरु अझै रिलिज हुन सकेको छैन । दर्शक नहुने डरले निर्माण सम्पन्न भएका फिल्म समेत निर्माताले त्यसै थुपारेर राखेका छन् । त्यसरी थुप्रिएर रहेका फिल्ममा ६०,७० लाखदेखि दुई करोड माथिसम्मको लागतमा तयार भएका छन् ।

फिल्म रिलिज कहिले हुन्छ ?, रिलिज भएपनि लगानी सुरक्षित हुन्छ हुँदैन यसै भन्न सक्ने अवस्था छैन । यस्तो अवस्थामा पनि करिब ८ करोड खर्च गरेका फिल्म ‘सत्यम्’ निर्माणमा तम्सिएका छन् निर्देशक शंकर कार्की । कार्कीलाई फिल्म निर्माणमा निर्माताको रुपमा रेशम सापकोटाले सहकार्य गरेका छन् । मंसिरको दोस्रो सातादेखि छायांकनका लागि फ्लोरमा निस्कने तयारीमा रहेको फिल्म ‘सत्यम्’ ठुलो बजेटको फिल्म भएको निर्देशक कार्कीले बताए ।

‘फिल्म निर्माण सुरुको समयदेखि प्रदर्शनसम्म करिब ८ करोड खर्च हुने अनुमान हामीले गरेका छौ’ निर्देशक कार्कीले भने, ‘करिब ५ करोड बढीमा फिल्म निर्माण सकिनेछ । दुई करोड हामीले प्रचार प्रसार लगायत रिलिजको समयका खर्च अनुमान गरेका छौ ।’ फिल्म स्वदेश तथा विदेशमा समेत प्राथमिकतामा पर्ने हिसावले निर्माण गर्न लागेको कार्कीले सुनाए । 

नवयुग सिनेमाको प्रस्तुतिमा बन्न लागेको फिल्मको गणेश पौडेल एशोसिएट निर्माता रहेका छन् भने सह–निर्माताहरुमा श्याम मल्ल, कृष्ण जोशी रहेका छन् ।  फिल्ममा योगेश काजीको संगीत, कुटुम्ब ब्यान्डको शीर्ष गीत र ब्याक राउण्ड म्युजिक, रेशम सापकोटा र बिष्णु निरिशको गीत  र अन्जु पन्त, योगेश काजी, समिक्षा अधिकारी, गणेश पौडेल र राजु महर्जनको गीतमा स्वर रहनेछ । फिल्म विदुर पाण्डेले खिच्नेछन् । करिब ७० दिनको छायाङ्कन सेडुल रहेको फिल्म मुस्ताङ, पोखरा, काठमाडौ, चरिकोट र मधेसको विभिन्न स्थानमा हुनेछ ।

सामान्य मानिसले आफ्नो कामका लागि सिंहदरबारदेखि विभिन्न निकायसम्म चाहर्नुपर्ने र त्यहाँको हुने भ्रष्टाचारको विषयवस्तु फिल्मले कथाको रुपमा उठाएको छ । 

भव्य सेट
फिल्म छायाँकनका लागि पोखरमा भव्य सेट समेत बनाइएको छ । सय मिटर लम्वाई र पचास मिटर चौडाइमा सेट तयार गरिएको छ । सेटमा हेलिकप्टर दुर्घटनाको दृश्यदेखि ठूला भवनहरूको समेत छायाँकन हुनेछ । ४ ठाउँमा आउटडोर दृश्यबाहेक अधिकांश दृश्यको छायाँकन सेटमै हुनेछ । सेटभित्र सिंहदरबार, त्यो भित्रका मन्त्रालयका भवनदेखि हेलिकोप्टर दुर्घटनाका दृश्य समेत छायाँकन हुनेछ ।

‘फिल्ममा ५० प्रतिशत बढी भिएफएक्स दृश्य रहनेछ’ निर्देशक कार्कीले भने ‘सेटभित्र छायाँकन हुने सबै ठुला भवनदेखि पड्काउने हेलिकप्टरसम्म तयार हुनेछन् । सेटमा मात्रै करिब एक करोड लागत लाग्ने कार्कीले सुनाए । ‘हामीले सेटमा जे जति प्रयोग गरेर छायाँकन गर्दछौ । त्यो बाहिर गर्नुपर्यो भने ३ करोड बढी लाग्ने रहेछ’ कार्कीले थपे । 

कलाकारकै खर्च करोड बढी 
फिल्ममा अभिनय गर्ने कलाकारका लागि मात्र निर्माण युनिटले करोड बढी खर्च गरेको छ । अभिनेता राजेश हमाल, पल शाह, अनुप बिक्रम शाही, मलिका महत, मिलन सिजापति, निलम चन्द, अभय बराललगायतका थुप्रै कलाकारको अभिनय रहने फिल्मबाट धेरै नयाँ कलाकार समेत भित्रिनेछन् ।

नयाँ कलाकार विभिन्न चरणको अडिसनबाट छनौट गरिएको हो । कथाले थुप्रै कलाकार मागेको र कथाअनुसार कलाकार छनौटमा मात्र एक करोड बढी लागेको निर्देशक कार्कीले बताए । मोक्तर खान, कैलाश रावल, नेरिस्का स्थापित, प्रिन्स प्रसिद्द सिंह, प्रविन चापागाईं, अन्विशा खड्गी लगायतका कलाकारहरुले यसै फिल्मबाट डेब्यु गर्दैछन् ।

भिलेनमा मिलन सिजापति 

फिल्ममा भिलेका रुपमा मिलन सिजापति देखिँदैछन् । मिलन नेपाली बडी बिल्डिङका प्रख्यात खेलाडी हुन् । उनले वि.सं २०७५ सालमा नेपाल व्यायाम मन्दिरको आयोजनामा भएको पध्रौँ धर्मश्री राष्ट्रव्यापी खुला शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका थिए । उनी ८० केजी तौलमा प्रथम हुँदै फाइनल राउन्डको प्रतिष्पर्धामा पुगेका उनले सबै तौल समूहमा प्रथम हुने ६ जना प्रतियोगीलाई उछिन्दै मिष्टर बुल्समेन च्याम्पियन बनेका थिए ।

शारीरिक सुगठन खेलमा सफलतासँगै उनले नेपाली र भारतीय विभिन्न चलचित्रमा समेत अभिनय गरेका छन् । विभिन्न विज्ञापनहरूमा समेत मोडलिङ गरेका उनले यो फिल्मका लागि मोटो रकम लिएका छन् । फिल्ममा माफियाको कथा समेत रहेको छ । हाम्रो कथाले जुन पात्रको कल्पना गरेको छ, त्यसमा मिलन सुहाउने भएकोले छानिएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप