बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

छठ पर्व : दुलहीझैँ सिँगारिँदै जनकपुरधामका तलाउ (फोटोफिचर)

सोमबार, २२ कात्तिक २०७८, ११ : ५६
सोमबार, २२ कात्तिक २०७८

मिथिलाञ्चल क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठ पर्वको तयारी व्यापक रूपमा भइरहेको छ । दीपावली सकिएलगत्तै तराई–मधेसमा छठ पूजाका सामग्री किनमेलमा व्यस्त छन् भने विभिन्न लातलैयाहरुलाई सोमबारदेखि दुलहीझैँ सजाइँदैछ ।

छठपर्व मनाउन विभिन्न तालतलैया तथा पोखरीको डिल र नदीतटको समेत सरसफाइ गर्दै आ–आफ्ना लागि पूजास्थल सुरक्षित बनाउनमा श्रद्धालु भक्तजनहरु व्यस्त छन् । घाट निर्माणमा लाखौँ रुपैयाँ खर्चेर सरसफाइ, सजावट र व्यवस्थापनका कामहरु धमाधम भइरहेको छ ।

जनकपुरधामको गंगासागर, धनुषसागर, दशरथ सागर, अंगराजसर सागर, अग्निकुण्डलगायतका तलाउजस्ता विभिन्न स्थानमा सूर्य देवता र छठी माताको पूजा आराधनाका लागि विशेष साजसज्जा गरिदैँछ । स्थानीय युवा क्लब र समितिको अग्रसरतामा जनकपुरधामका विभिन्न तलाउ, पोखरी तथा सरोबर सिंगार्नमा व्यस्त देखिएका छन् ।

अहिले जनकपुरधामसहित तराई–मधेसका मुख्य बजारहरुमा किनमेलका लागि निकै चहलपहल बढेको छ । छठ पर्वमा माटोबाट बनेको घैँटो, हात्ती, बाँसबाट बनेको छिट्टी (टोकरी), नाङ्लो, कन्सुपति लगायतको सामग्री प्रयोग हुन्छ । यो समय माटो तथा बाँसका सामग्री अत्याधिक बिक्री भइरहेको छ । छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, नरिवल, उखु, हरियो बोडी, पानी सिंगडा, मुला, अदुवाको बोट पर्छन् । 

छठ पर्व आजदेखि सुरु
यस वर्ष सोमबारबाट छठ पर्व सुरु भएको छ । छठको पहिलो दिन सोमबार नहाय खाय, मंगलबार खरना, बुधबार अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिइन्छ भने बिहिबार उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व सम्पन्न हुनेछ ।


चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरु नुहाएर अरबा अरबाईन भोजन गर्दछन् भने दोश्रो दिन साँझ प्रसादको रुपमा चामल, सक्खर र दुध मिलाएर बनाएको खीर ग्रहण गरी खरना गर्छन् ।
तेश्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गरिन्छ भने चौथो दिन विहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्वको विधिवत समापन हुन्छ ।


छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हाती लगायतको सामग्री चढाइन्छ । त्यस्तै, प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारको मिठाई तथा फलफुल दिनानाथ अर्थात् सूर्यदेवलाई चढाइन्छ । अघ्र्य दिने व्रतालु ४८ घण्टासम्म पानीसमेत नखाई निराहार उपवास बस्ने गर्छन् । छठ पर्वमा सूर्य भगवानलाई अघ्र्य दिनका लागि तयार गरिने विभिन्न परिकारहरु नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्व पनि भनिन्छ ।

छठ पूजाका लागि जनकपुरधामका व्रतालुहरू सूर्यास्तलाई अघ्र्य दिइ राति पूजास्थलमै बस्ने गर्छन् भने त्यसको भोलिपल्ट बिहानै घाटमा उदाउँदो सूर्यलाई अर्घ्य दिने गरिन्छ । विशेषगरी, भाकल गरेकाले यो पर्व मनाउने गर्छन् ।
छठ पर्व मनाउँदा चर्मरोग निको हुने, पुत्र लाभ हुने, आर्थिक समृद्धि तथा सुख, शान्ति प्राप्त हुने धार्मिक विश्वास छ । पछिल्लो समय मधेशमा बस्ने पहाडे समुदाय पनि छठको ब्रत बस्न थालेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप