शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

छठ पर्वका लागि माटोका भाँडा बनाउन चटारो

सोमबार, २२ कात्तिक २०७८, ११ : २५
सोमबार, २२ कात्तिक २०७८

सिरहा धनगढीमाई–७, कसहाका ४८ वर्षीय अर्जुन पण्डित (कुम्हाले) लाई अहिले भ्याई–नभ्याई छ । उनीमात्र हैन यहाँका करिव ४० घर परिवार पण्डितहरू छठ पर्वका लागि माटोका भाँडा बनाउन व्यस्त छन् । छठ पर्वका लागि दियो, डिबिया, पाला, धुपैरो, हात्ती, कोसिया, कुर्वार, मट्का (माटोको गाग्री) लगायतका सामग्रीको माग बढेपछि कुम्हाले समुदायलाई चटारो भएको हो ।

तराईको सांस्कृतिक पर्व छठमा पूजाका लागि चाहिने माटाका भाँडाको माग यो समय अत्यधिक बढ्ने गर्छ । अर्जुन भन्छन्, ‘दसैँ बितेसँगै म, कान्छो छोरा रामवृक्ष, बुबा वैजनाथ र मेरी श्रीमती बिहानदेखि बेलुकासम्म माटोका भाँडा बनाउने काममै लागेका हुन्छौं, अहिले राम्रै कमाई हुने भएकाले अरु काम थाँती राखेर यसमा लागेका हौं ।’ दसैँदेखि छठसम्मको अवधिमा माटोका भाँडा बेचेर सबै खर्च कटाउँदा एक लाख रुपैयाँसम्म बचत हुने उनको भनाइ छ ।

धनढीमाई–७ कसहाकै ३१ वर्षीय मूसहरु पण्डितलाई पनि अहिले उस्तै चटारो छ । उनी श्रीमती र आमासहित बिहानैदेखि माटो भिजाउने, मुछ्ने अनि माटाका सामग्री बनाउन व्यस्त छन् । उनले भने, ‘अहिले बिक्री राम्रो हुने समय हो, अरु बेला यस्ता सामग्रीको व्यापार हुँदैन ।’ यो काममा साना बालबालिकादेखि ठूला र बुढापाका सबैको अलग अलग भूमिका हुने उनले बताए । उनका अनुसार माटो ल्याउने, भिजाउने, माटाका सामग्री बनाउने, त्यसलाई सुकाउने, पोल्नेसम्मको काममा सबैले आफ्नो क्षमता अनुसार भूमिका निर्वाह गर्छन् ।

दैनिक प्रयोगका लागि माटोका भाँडालाई प्लाष्टिकका भाँडाले विस्थापित गरे पनि तराईमा धुमधामका साथ मनाइने छठ लगायतका चाडपर्व, विवाह तथा पूजाहरुमा माटाको भाँडा अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने मान्यता छ । प्लास्टिकका सस्ता सामग्रीका कारण आफूहरुले गरेको मेहनत अनुसार माटोका भाँडाको मूल्य नपाउँदा कुम्हाले पेसा नै धरापमा परेको उनीहरु बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप