मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

जिल्लामा पनि आन्दोलनका कार्यक्रम ल्याउन बार इकाईको आग्रह

आइतबार, २१ कात्तिक २०७८, २० : ३२
आइतबार, २१ कात्तिक २०७८

नेपाल बार एसोसिएसनका इकाईहरुले जिल्ला जिल्लामा पनि आन्दोलनको कार्यक्रम ल्याउन आग्रह गरेका छन् । आइतबार भर्चुअल विधिबाट छलफलमा जुटेका इकाई बारका पदाधिकारी र सदस्यले नेपाल बार एसोसिएसनसँग यस्तो आग्रह गरेका हुन् ।  

प्रधानन्यायाधीशको राजीनामासहित न्यायालय सुधारको माग गर्दै नेपाल बार एसोसिएसन २ सातादेखि आन्दोलनमा होमिएको छ । बारले तत्कालै गोलाप्रथाबाट पेसी तोक्न र न्यायाधीश हरिकृष्ण फुयाल नेतृत्वको समितिले तयार पारेको प्रतिवेदन तत्काल कार्यान्वयनमा ल्याउन माग गर्दै दुई साताअघि १५ दिनको अल्टिमेटम दिएको थियो । तर सर्वोच्चका न्यायाधीशहरु नै प्रधानन्यायाधीशविरुद्ध इजलास बहिष्कारमा उत्रिएपछि नेपाल बार एसोसिएसनले पनि प्रधानन्यायाधीशको राजीनामा माग गरी आन्दोलनमा होमिएको थियो । 

गएको मंगलबार पहिलो चरणको आन्दोलन सकाएको बारले न्यायालय सुधारको अभियानलाई कसरी अगाडी बढाउने र आगामी दिनको आन्दोलन कस्तो बनाउने भन्ने सन्दर्भमा देशैभरका इकाई बारका पदाधिकारीसँग यतिबेला भर्चुअल छलफल गरिरहेको छ । 

आइतबार २५ वटा इकाई बारका पदाधिकारीले आफ्नो कुरा राखेका नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए । भोलि पनि छलफललाई निरन्तरता दिने उनीहरुको कुरा सुनेर मात्रै आगामी दिनको आन्दोलनबारे छलफल गर्ने अध्यक्ष श्रेष्ठले बताए ।

बारका उपाध्यक्ष रक्षा बस्यालका अनुसार इकाई बारका पदाधिकारीहरुले आन्दोलनलाई निरन्तरता दिनुपर्ने र आन्दोलनका कार्यक्रम स्थानीय तह र जिल्लामा पनि दिनुपर्ने माग गरेका छन् । जिल्ला तहमा पनि भ्रष्टाचार र अनियमितता रहेको भन्दै आन्दोलनलाई जिल्ला वा स्थानीय तहमा पनि सशक्त बनाउनुपर्ने उनीहरुको माग रहेको बस्यालले बताइन् । इकाई बारले आन्दोलनमा ऐक्यबद्धता रहेको र आगामी दिनको आन्दोलन अझै शसक्त बनाउनुपर्ने माग गरेका छन् । 

सोमबार बिहान साढे १० बजे सदाझैँ सर्वोच्च अदालत परिसरमा कालोपट्टी बाँधेर धर्ना दिने र साढे ११ बजेदेखि इकाई बारसँग पुन छलफल गर्ने बारले जनाएको छ । सोमबार दिनभर इकाई बारसँग छलफल गरेपछि सम्भव भएसम्म सोमबार नै नभए मंगलबार आन्दोलनको नयाँ रणनीति सार्वजनिक गर्ने बारले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप