शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

छठ पर्वका लागि चाहिने सामग्री बनाएर गुजारा चलाउँछन् डुम समुदाय

आइतबार, २१ कात्तिक २०७८, १८ : १३
आइतबार, २१ कात्तिक २०७८

जनकपुर । अन्न केलाउन प्रयोग गरिने नाङ्लो बाँसको चोयाबाट बन्छ । कहिलेकाहीँ पूजा सामग्री वा चोखोनितोका सामग्री पनि नाङ्लोमै राखिन्छ । तराई मधेसमा नाङ्लो बुन्ने काम मुख्यतया डुम समुदायले गर्दछ ।

मिथिलाञ्चलमा छठको पूर्व सन्ध्यामा बाँसबाट बनेका सामग्रीहरु जोहो गर्न अहिले भ्याइ–नभ्याइ छ । छठ पर्व डुम समुदायका लागि आय आर्जनको अवसर पनि हो । उनीहरुले बनाएको नाङ्लो, डालो, पनपतिया लगायतका बाँसका सामग्री छठमा बढी खपत हुने गर्दछ ।

छठ पर्वमा नाङ्लो, छिटी, डालो, पनपतिया लगायतका भाँडामा अर्घको प्रसाद राख्ने परम्परा छ । चोयाबाट बुनेका यस्ता भाँडामा फूल तथा प्रसाद राख्दा सुसज्जित समेत देखिन्छ । यस्ता सामग्री बनाउने डुम समुदाय जीवन भने कष्टपूर्ण छ । दलित समुदायमा गनिने उनीहरु जातीय छुवाछुतको पीडाबाट अझै मुक्त हुन सकेका छैनन् ।

जनकपुर उपमहानगरपालिका १६ का वडा अध्यक्ष रामअशिष पजियारले पुरानो पुस्ताका व्यक्तिहरुले मात्रै छुवाछुत मान्ने गरेको बताए । नयाँ पुस्तामा छुवाछुतको भावना त्यति नरहेको उनको भनाइ छ । मुलुकमा आएको आमुल परिवर्तनसँगै देश विकासको पथमा अग्रसर भइरहेको अवस्थामा अहिले पनि आफूहरुमाथि छुवाछुत हुनु, हेयको दृष्टिले हेरिनु दुःखको विषय रहेको रेवता मलिक बताउँछन् ।

छठ पर्वको पूर्व सन्ध्यामा निर्मला देवी मलिक बाँसको कलात्मक सामग्री बनाएर बिक्री गर्न व्यस्त छिन् । तर मेहनत गरेर बनाएका सामग्री बिक्री नहुँदा उनी चिन्तित हुने गर्छिन् । ‘अहिले एउटा बाँसको मूल्य २५० रुपैयाँदेखि ३ सय रुपैयाँसम्म पर्छ,’ निर्मलाले भनिन्, ‘एउटा बाँस किनेर ४ वटासम्म नाङ्लो बनाउँछौँ, त्यसरी बनाएको नाङ्लो बिक्री हुन्छ वा हुँदैन भन्ने चिन्ता हुन्छ नै ।’

उनले ४ वटा बाँस किनेर छठका लागि आवश्यक सामग्री बनाएकी छन् । अचेल व्यापार घटेको उनको भनाइ छ । केही वर्षअघि २० वटासम्म बाँस किनेर आफूले त्यस्ता सामग्री बनाएर बेचेको अनुभव उनी सुनाउँछिन् ।

उनका अनुसार पहिले ५ हजारको लगानीमा २० हजारसम्म आय गर्न सकिन्थ्यो भने अहिले त्यस्तो मुनाफा त परै जाओस्, बनाएका सामग्री खपत हुनेमा पनि आशंका छ । अहिले डुम समुदाय बाहेक अन्य समुदाय पनि बाँसका सामग्री निर्माण र बिक्री कार्यमा लागेका कारण आफूहरुको पेसा जोखिममा परेको उनीहरुको भनाइ छ ।

तथापि डुम समुदायले आफ्ना परम्परागत पेसालाई अपनाएर बाँसका सामग्री विभिन्न पर्वमा झैं छठ पर्वमा समेत बनाउने र बिक्री गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप