अझै कति दिन जोगिएलान् सोल्कसायर ?
अझै कति लामो समय ओले गनर सोल्कसायर म्यानचेस्टर युनाइटेडको म्यानेजर रहन सक्छन् ? शनिबार म्यानचेस्टर सिटीविरुद्धको प्रदर्शनपछि के नर्वेजियन प्रशिक्षकको अन्त्य नजिकिँदै छ ? अहिले सबैले यो प्रश्न गरिरहेका छन् । किनभने यो कुनै दुर्भाग्यपूर्ण नतिजा थिएन । बरु चौतर्फीरुपमा फैलिएको समस्या थियो जसलाई चाँडोभन्दा चाँडो समाधान गर्न जरुरी छ, जसमा साेल्कसायर असफल देखिएका छन् ।
त्यो दिन क्रिस्टियानो रोनाल्डोले पनि जादु देखाउन सकेनन् जसको कारण युनाइटेड घरेलु मैदानमै चिर प्रतिद्वन्द्वीसँग दुई हप्तामा दोस्रो पटक लज्जास्पद हार बेहोर्नु बाध्य बन्यो । यसअघि लिभरपुलसँग भोगेको ५–० को पराजयभन्दा शनिबार सिटीविरुद्धको २–० को स्कोरलाइन खराब त थिएन । तर, युनाइटेड आफ्नै मैदानमा लिभरपुलभन्दा पनि सिटीसामु निरीह देखिएको थियो । गत हप्ता टोटनह्यामविरुद्धको जीत पनि युनाइटेडको पुनरागमन थिएन । किनभने त्यो टोली युनाइटेडभन्दा पनि खराब फर्ममा थियो ।
युनाइटेडको टोलीमा देखिएको प्रणालीगत समस्याहरूको जिम्मेवार आखिर को त ? यसअघि सोल्कसायरले खराब प्रदर्शनको जिम्मेवार आफू भएको बताउँदै आएका थिए, अब त त्यो कुरा नकार्न नसक्ने अवस्था पुगेको छ । उनी यो लडाइँमा निरीह देखिएका छन् । सिटीका फ्यानहरूले युनाइटेडको टोलीलाई गिज्याइरहँदा सोल्कसायरले कुनै जवाफ फर्काउन सकेनन् । युनाइटेडको टोली एकीकृत भएर खेल्नै सकिरहेका थिएनन् ।
रक्षात्मक रुपमा युनाइटेड फेरि कमजोर देखियो । स्पर्सविरुद्ध राम्रो प्रदर्शन गरेको ‘ब्याक थ्री’ सिटीको चालाकीपूर्ण क्रस र उत्कृष्ट पासको अगाडि नतमस्तक देखियो । मिडफिल्डमा टोलीले कुनै नियन्त्रण बनाउन सकेन । पहिलो १५ मिनेटमा पाहुना टोलीको ७४ प्रतिशत बलमा नियन्त्रण थियो ।
युनाइटेडका खेलाडीहरू डराएका देखिन्थे र मात्र सिटीको दबाबलाई रोक्न मात्र तल्लीन देखिन्थे । जुन सिटीजस्तो टोलीविरुद्ध ठुलो गल्ती थियो । ब्याक लाइनमा पाँच जनाको सिस्टमले काम गर्न सबै खेलाडी एकजुट भएर खेल्न पर्ने हुन्छ । जोआ क्यान्सलोले बक्समा उत्कृष्ट क्रस गरे जसलाई एरिक बेलीले आफ्नै पोस्टमा छिराए । त्यसपछि युनाइटेडको सबै आत्मविश्वास गुमेको देखियो । मात्र ८ मिनेटको खेलपछि नै युनाइटेडले हार स्वीकार गरेको देखिन्थ्यो ।
खेलअघि सोल्कसायरले अझै पनि युनाइटेड नै म्यानचेस्टरको सबैभन्दा ठुलो टोली रहेको दाबी गरे पनि वर्तमान अवस्थामा युनाइटेड सिटीको तहभन्दा निकै तल रहेको प्रष्ट छ । व्यंग्यात्मक रुपमा सिटीका समर्थकहरुले यतिबेला सोल्कसायरलाई अझै पाँच वर्ष युनाइटेडको नेतृत्व दिनुपर्ने माग गरिरहेका छन् । नमागुन् पनि किन ? उनी रहुन्जेलसम्म सिटी सधैँ माथि नै रहने स्पष्ट देखिन्छ ।
रोनाल्डो सिटीको हाफमा एक्लै यता उता कुदिरहेका थिए । तर उनलाई पास दिने कोही थिएन । सिजन अघि सायद रातो जर्सीको साटो निलो जर्सी लगाएका भए उनले युनाइटेडको यो कमजोर डिफेन्सविरुद्ध कति गोल गर्ने थिए होला । के उनले गलत निर्णय लिए ? यदि उनले केही जित्ने सोच राखेका थिए भने पक्कै पनि किनभने यो व्यवस्थापनको नेतृत्वमा युनाइटेड कहीँ अघि बढ्ने देखिँदैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दलित समुदायको अधिकारसम्बन्धी विधेयक संसदमा पेस गर्न सरकारलाई निर्देशन
-
पुस ८ गतेदेखि ब्याडमिन्टन प्रतियोगिता हुने
-
जब विमानस्थलमा विराट कोहली महिला पत्रकारसँग विवादमा ओर्लिए !
-
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँच जनाको मृत्यु
-
पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनु पर्छ : पूर्वराष्ट्रपति भण्डारी
-
रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई प्रहरीले कारबाही गर्ने