बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पाँच दलीय गठबन्धन लोकतन्त्रको भक्षक : केपी ओली

आइतबार, २१ कात्तिक २०७८, १५ : २७
आइतबार, २१ कात्तिक २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ ५ दलीय गठबन्धन लोकतन्त्रको नास गर्ने भक्षकहरुको समूह भएको आरोप लगाएका छन् । आइतबार काठमाडौंमा कर्णाली प्रदेश कमिटीले आयोजना गरेको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ५ दलीय सत्तारुढ गठबन्धन लोकतन्त्रको रक्षक नभई भक्षक भएको आरोप लगाएका हुन् ।

‘अहिले यो ५ दलीय गठबन्धन छ नि ! बर्का राधे राधे लगाएका हुन् कि ? राम राम लगाका हुन् कि कृष्ण कृष्ण । यी सबै लोकतन्त्रका भक्षकहरु हुन् ।भक्षीहरु हुन्’, ओलीले भने, ‘यिनीहरुलाई लोकतन्त्रका मूल्य मान्यता होइन, सत्ता चाहिएको छ, स्वार्थ पूरा गर्नुछ ।’

गठबन्धनलाई देश र संविधान समेत नचाहिएको ओलीको भनाइ छ । ओलीले देश, लोकतन्त्र र संविधानको रक्षा एमालेले मात्रै गर्ने भन्दै एमाले नभएको भए यसअघि नै १७ साल दोहोरिने पक्का रहेको बताए । ‘हामी हुँदैनथियौ भने १७ साल अस्ति नै आइसक्थ्यो, यहाँ एमाले छ त्यसकारण १७ साल आउन सक्दैन’, ओलीको भनाइ छ ।

अध्यक्ष ओलीले संविधान एउटा पुस्तक भएको भन्दै त्यो  पुस्तक च्यात्न कुनै समय नलाग्ने बताए  । एमाले सरकार छोड्न तयार भएको छ तर संविधान च्यात्न र लोकतन्त्र तलमाथि हुन नदिने ओलीले बताए । उनले भने, ‘नेकपा एमाले यो अठोटमा रहेकाले नै लोकतन्त्र अडिएको हो ।’

उनले एमाले विरुद्ध अन्तराष्ट्रिय शक्ति समेत लागेको भन्दै एमाले विरुद्धका भ्रम तोड्न कार्यकर्ताहरूलाई निर्देशन दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप