बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

बारको बटमलाइन प्रधानन्यायाधीशको राजीनामा : आन्दोलनबारे थप रणनीति बनाउन भर्चुअल बैठक सुरु

आइतबार, २१ कात्तिक २०७८, १२ : ३०
आइतबार, २१ कात्तिक २०७८

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै २ सातायता आन्दोलनरत नेपाल बार एसोसिएसनले आगामी रणनीति तयार गर्न इकाई बारसँग छलफल थालेको छ । आइतबार देशैभरका ९० वटा इकाई बारका पदाधिकारीसँग छलफल सुरु गरिएको नेपाल बारकी उपाध्यक्ष रक्षा बस्यालले बताइन् । 

न्यायालय सुधारको माग गर्दै आन्दोलनमा होमिएको नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीशको राजीनामाबाट मात्रै न्यायालयको सुधार सम्भव भएको यसअघि नै निष्कर्ष निकालिसकेको छ । गत बुधबारसम्म सर्वोच्च अदालत परिसरमै धर्ना दिएका बारका सदस्यहरु आन्दोलनलाई कसरी अगाडि लैजाने भन्दै देशैभरका इकाई बारसँग छलफल गर्न लागेका हुन् ।

नेपाल बार एसोसिएसनकी उपाध्यक्ष रक्षा बस्यालका अनुसार यतिबेला देशैभर रहेका ९० वटा इकाई बारमध्ये ६० वटा इकाई बारका पदाधिकारीहरु भर्चुअल मिटिङमा जोडिएका छन् । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ लगायतका पदाधिकारी र सदस्यहरु यतिबेला इकाई बारसँग छलफलमा जुटेका हुन् । अहिले इकाई बारका अध्यक्ष वा पदाधिकारीले आ–आफ्ना धारणा राखिरहेका छन् । 

बिहान साढे १० बजेदेखि सुरु भएको भर्चुअल मिटिङमा सहभागीहरुले आन्दोलनलाई थप शसक्त बनाएर लैजानुपर्ने र नेपाल बार एसोसिएसनले गरिरहेको आन्दोलनमा साथ रहेको प्रतिवद्धता समेत जनाएको उपाध्यक्ष बस्यालले बताइन् । आवश्यक पर्दा उच्च र जिल्ला अदालतमा समेत बहस बहिष्कार गर्नेसम्मका सुझाव आएको बस्यालले बताइन् ।

सम्भव भएसम्म आज नै सबै इकाइका अध्यक्ष वा पदाधिकारीसँग छलफल गर्ने तयारी भएको बारले जनाएको छ । आजै सबै इकाइसँग छलफल नसकिएमा भोलि बिहानदेखि पनि फेरि छलफल गर्ने र भोलि नै आगामी बाटोबारे निर्णय हुने बस्यालले बताइन् । 

भोलि पनि बिहान साढे ११ बजेबाट सर्वोच्च अदालत परिसरमा हातमा कालोपट्टी बाँधेर धर्ना दिने कार्यक्रम यथावत रहेको बस्यालले बताइन् । सबै इकाइसँग छलफल गरी सोमबार साँझसम्म बारले आन्दोलनको आगामी बाटोबारे आफ्नो धारणा सार्वजनिक गर्ने तयारी गरेको उनले बताइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप