ad

नीतिकथा : सुनको अण्डाको लोभ !

person explore access_timeकात्तिक २१, २०७८ chat_bubble_outline0
सन्दर्भ तस्बिर/pixabay.com

धेरै पहिलेको कुरा हो, एउटा गाउँमा गरीव किसान दम्पती बस्थे । जग्गाजमीन केही थिएन, अरुको ज्याला मजदुरी गरी परिवार पाल्थे । गरीवीका कारण दुई छाक पेटभरी पनि खान पनि धौधौ पथ्र्यो, जसको कारण श्रीमती दुव्ली पातली थिइन् छोराछोरी खियाउटे र मरञ्च्याँसे । किसान प्रत्येक दिन कडा मिहिनेत गर्थे तैपनि खान लगाउनकै लागि मुस्किल । गरीवीले आजित भएपछि एक दिन किसानले कुखुरा पाल्ने निधो गरी पैसा खोज्नतिर लागे । भनिन्छ जहाँ इच्छा त्यहाँ उपाय । किसानलाई पनि त्यस्तै भयो । उनले एक दिन एकजना साहुकहाँ गएर आफ्नो योजना बताए । उनको योजना साहुजीलाई पनि मन परेछ क्यारे ब्याजीमा केही पैसा दिएर पठाए । त्यसपछि किसानले एउटा सानो चिटिक्क परेको कुखुराको खोर बनाए र बजारबाट केही कुखुरा किनेर ल्याई पाल्न थाले ।


केही समयपछि कुखुरीले अन्डा दिन थाले तर आश्चर्य तीमध्ये एउटा कुखुरी चाहिँ सुनको अन्डा दिने खाले रहिछ । उनी हरेक दिन बिहान खोरमा जान्थे र सुनको अन्डा देखेर दङ्ग पर्थे । घरमा कुखुरीले सुनको अन्डा दिन थालेपछि किसान दम्पती खुसीको सीमा रहेन । कुखुरीले प्रत्येक दिन सुनको अन्डा दिन्थी उनी बजारमा बेचेर घरको गर्जो टार्थे । समय बित्दै गयो । उनको गरीवी पनि क्रमशः हट्दै गयो । बिस्तारै उनले साहुको ऋण मात्र तिरेनन् छोराछोरीलाई राम्रो स्कुलमा राखेर पढाउनसमेत थाले । उनीहरू राम्रो ठाउँमा पढ्न र भनेको चीज खान लगाउन पाएर दङ्ग पर्ने गर्थे ।



हेर्दाहेर्दै किसान गाउँको नामूद धनाढ्य बन्न पुगे । एउटी कुखुरीले उनको जीवनचक्र नै बदली दिई तर धनको मुख कालो हुन्छ भन्छन् सायद किसानको श्रीमतीलाई पनि त्यस्तै भएछ कि एक दिन उनले लोग्ने समक्ष गएर भनिन्–



‘सानेको बाबा ! एउटा कुरा गर्नु थियो ।’



‘के कुरा हो भनन ।’



‘गाली त गर्नु हुन्न नि ?’



‘किन गाली गर्ने ? भनन के कुरा हो ।’

‘हाम्रो कुखुरीले दैनिक एउटा सुनको अन्डा दिँदै आएकी छे ।’

‘लौ, के कुरा ग¥या त्यस्तो, मलाई थाहा छैन र ?’

‘थाहा छैन भनेर भनेकी हो त ?’

‘के भन्न खोजेकी त ?’

‘प्रत्येक दिन पाइने एउटा अन्डामा कति दिन चित्त बुझाउने भनेको नि ।’

‘अनि के गर्ने त ? उसले पनि अरुले जस्तै अन्डा दिएकी भए पनि चित्त बुझाउनुपथ्र्यो । धन्य भनन, एउटै भने पनि सुनको दिएकी छ र त घर चलेको छ, ऋण तिरिएको छ । बालबालिकाले पढ्न पाएका छन् । भनेको चीज खान र लगाउन पाएका छन् ।’

‘त्यो त हो तर ...।’

‘तर ? के तर ?’

‘एकैसाथ यस्तै धेरै अन्डा पाउने प्रयास गर्ने हो कि भनेको नि ।’

‘हेर चमसुरी ! एकैसाथ धेरै लोभ गर्नु हुँदैन । एउटैले घर व्यवहार राम्ररी चलेको छ भने एकैसाथ धेरै किन खोज्ने ?’

‘कहाँ त्यसो भनेर हुन्छ ? धनले कसलाई पुग्छ र ? पाइन्छ र सकिन्छ भने बढी धनी बन्ने चाहना कसलाई हुँदैन र ?’

‘कुरा त तिम्रो पनि ठीकै हो तर जे छ त्यसैमा सन्तुष्ट हुने बानी बसाउनुपर्छ भन्छन् । लोभको भाँडो उभिन्डो भन्ने त उखानै छ । बढी लोभ गर्दा भरे पछुताउनुप¥यो भने के गर्ने ? फेरि हामीसँग त्यस्तो उपाय पनि के नै छ र ?’

‘छ नि, किन छैन । बुद्धि लगाउनुपर्छ । सोझो औँलाले घ्यु नआए बाङ्गो पार्न पनि पछि पर्नुहुन्न भन्ने थाहा छैन ?’

‘प्रष्ट भनन के भन्न खोजेकी हो ।’

‘यही कि कुन चाहिँ कुखुरीले सुनको अन्डा दिएकी हो पत्ता लगाउने हो कि भनेको ।’

‘त्यसले के फरक पार्छ र ?’

‘पार्छ नि किन पार्दैन ।’

‘जस्तै ?’

‘के जस्तै नि, त्यस्तो कुखुरी पत्ता लागेपछि उसको पेटबाट एकै साथ उसको पेटमा भएको सुनको सबै अन्डा निकाल्ने नि ।’

स्वास्नीको कुरा किसानलाई पनि ठीकै लाग्यो । उनले रातभर जागा बसेर कुन चाहिँ कुखुरीले सुनको अन्डा दिएकी हो पहिले त्यो पत्ता लगाए । अनि उसलाई छुट्टै खोरमा राखेर परीक्षण गरे । छुट्टै खोरमा बस्दा पनि कुखुरीले पहिले जस्तै दैनिक एक एक सुनको अन्डा दिन छाडिन । त्यसपछि किसानले बजारबाट एउटा धारिलो चक्कु किनेर ल्याए र स्वास्नीको चाहिँको भनाइमा लागेर कुखुरीको पेट चिरे तर बिडम्बना उसको पेट खाली थियो । उनीहरूले एकएक गरी पूरा अङ्ग खोजतलास गरे तर केही पनि फेला परेन ।

विचरा किसान दम्पतीले चाँडै धनी बन्न खोज्दा भएको गुमाए । त्यसपछि उनीहरू पछुतो मान्दै टाउकोमा हात राखेर बस्न थाले । भनाइ नै छ नि लोभले लाभ, लाभले विलाप । किसान दम्पतीलाई पनि त्यस्तै भयो । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।