शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आफ्नाबाटै असुरक्षित : नेपालमा किन बढ्दैछ हाडनाता करणी ?

शनिबार, २० कात्तिक २०७८, ०६ : ३८
शनिबार, २० कात्तिक २०७८

काठमाडौं । नेपालमा पछिल्लो समय हाडनाताभित्र जबरजस्ती करणीका घटना बढ्दै गएको छ । हाडनाता करणीमा कलिला किशोरी समेत सुरक्षित छैनन् । कतिपयले त परिवारको इज्जत जाने डरले पनि यस्ता अपराधलाई दबाएर बस्ने गरेका छन् ।

पर्वतमा करिब ६ महिना अघि आफ्नै छोरीलाई बाध्य बनाएर बलात्कार गरेको अभियोगमा बुबा पक्राउ परे । ६० वर्षीय दामन सार्कीले एक वर्षदेखि किशोरी छोरीलाई जबरजस्ती करणी गर्दै आएका थिए । श्रीमान्को हर्कत थाहा पाएकी उनकी आमाले समेत समाजमा इज्जत जाने डरले जरजस्ती करणीबारे लुकाउन दबाब दिँदै आएकी थिइन् । तर, बाबुको दानवीय शैली पटकपटक दोहोरिन थालेपछि पीडित किशोरीले आफ्नै बुबाविरुद्ध उजुरी दिएकी हुन् ।

यस्तै, काठमाडौंंको एक परिवारभित्र माया गर्ने बाहनामा बुबाले बारम्बार छोरीका समवेदनशील अङ्गमा छुन थाले । छोरीले करिब डेढ महिनापछि बुबाको हर्कत आमालाई सुनाइन् तर ती पुरुषले उल्टै धक्की दिन थाले । उल्टै छोरीलाई यौनसम्बन्ध राख्न कोठामा पठाइदे भनेर श्रीमतीलाई समेत दबाब दिन थाले ।

आमाछोरीले नै समाजमा इज्जत जाने डरले यो घटना प्रकाश ल्याउन सकेनन् । तर, छोरी टोलाउने, नबोल्ने गर्न थालेपछि आमाले तीनकुनेस्थित एक मनोपरामर्श केन्द्रमा लगिन् । बुबाबाट यौन हिंसा खेपेकी ती पीडित लामो समयको मनोपरार्मशपछि हाल अध्ययनका लागि विदेश जाने तयारीमा छन् । यस्ता अमानवीय क्रियाकलापले घर भित्र छोरीहरू के सुरक्षित छन् त ? भन्ने प्रश्न उब्जाइरहन्छ ।

हाडनाता करणी भन्ने बित्तिकै बाबु र आमातर्फ नाताभित्र पर्नेबीचको करणीलाई बुझिन्छ । हाडनाता करणीमा नाबालिका, किशोरीलाई निशाना बनाउनेमा बुबामात्रै नभएर परिवारका अन्य सदस्यसमेत रहेको पाइएको छ ।

नेपाल प्रहरीका एसएसपी तथा प्रवक्ता बसन्त कुँवरका अनुसार हाडनाता करणीमा हजुरबुबा, बुबा र झड्केलो बुबा, काका, मामा, ठुलो बुबा, दाजुभाइ, मामा, ठूलो बुबाको छोरा, देवर, जेठाजुसमेत संलग्न रहेको पाइएको छ ।

नेपाल प्रहरीको तथ्याङ्क अनुसार हाडनाता करणीका घटना पछिल्लो समय तुलनात्मक रुपमा बढेको छ । आर्थिक वर्ष ०७५/०७६ मा हाडनाता करणीमा १६९ जना संलग्न गरेको प्रहरीले जनाएको छ । आर्थिक वर्ष ०७६/०७७ मा हाडनाता करणीमै १९० मुद्दा परेको थियो । यस्तै, आर्थिक वर्ष ०७७/०७८ मा हाडनाता करणीका ३२३ जना संलग्न थिए ।

यस्तै, काठमाडौं उपत्यकामा आर्थिक वर्ष ०७५/०७६ मा हाडनाता करणीका २९ मुद्धा परेका थिए । आर्थिक वर्ष ०७६/०७७ मा २५ र ०७७/०७८ मा २६ मुद्दा परेको थियो । चालु आर्थिक वर्षको भदौ महिनासम्म ६ वटा यस्ता मुद्दा परेको छ ।

हाडनाता करणीका घट्ना अझै आएनन् प्रकाशमा  

मन्जुरी बगेर गरिने करणी नै जबरजस्ती करणी हो । नेपालमा मात्रै नभएर विश्वभर नै हाडनाता करणीको घटना लुकाउने प्रवृत्ति रहेको काठमाडौ स्कुल अफ लका प्राध्यापक अधिवक्ता सुरज बस्नेतको भनाइ छ ।

‘हाडनाता करणी जघन्य कसुर हो,’ उनी भन्छन्, ‘हाडनाता करणी बढिरहँदा पनि प्रतिष्ठाका नाममा र सामाजिक परिवेशभित्र अपराधलाई लुकाउने परिपाटी संसारभर नै छ । अपराधलाई लुकाएर पीडितलाई झन् पीडामा बाच्न बाध्य पारिन्छ ।’

हाडनाता करणीमा लामो समयसम्म पीडित भएपछि मात्रै राष्ट्रिय महिला आयोगमा उजुरी लिएर अभिभावक वा पीडित पक्ष पुग्ने गर्छन् । पुरुषभित्रको यौन उत्तेजना पूरा गर्न कतिपय अवस्थामा हाडनाता करणी हुने गरेको र परिवारले थाहा पाएर पनि लुकाउँदा कलिला बालिकासँगै छोरी, बुहारी, आमा, हजुरआमा समेत पीडित हुने गरेको पाइन्छ । नेपालको कानुनले हाडनाता करणीलाई अपराधको रुपमा लिएको छ ।

बालबालिकालाई यसरी गराउनु पर्छ सचेत 

कानुनले बर्जित गरेको जबरजस्ती करणी र घरभित्रकै सदस्यबाट हुने करणीबारे बालबालिकालाई सानैबाट बुुझाउन आवश्यक हुन्छ । छोराछोरीलाई बालयौन दुरुपयोगबारे घर अनि स्कुलबाटै बुझाउनुपर्ने राष्ट्रिय महिला आयोगका सदस्य कृष्णकुमारी खतिवडा पौडेलले बताइन् ।

जबरजस्तीकरणीसँगै हाडनाता करणीमा पर्ने संकेत पाएमा तत्काल प्रतिकार गर्र्ने र यस्तो जघन्य अपराधमा परेको खण्डमा पीडित भइ नबस्ने र पीडकलाई सजाय दिलाउन संघर्षमा उत्रिनुपर्ने उनको भनाइ छ । देशका हरेका क्षेत्रमा जबरजस्ती करणी, हाडनाता करणी सम्बन्धमा कार्यक्रम नै बनाएर जनचेतना फैलाउन तीनै तहका सरकार अग्रसर हुनुपर्ने उनले बताइन् ।

उनका अनुसार अभिभावकले निम्न कुरामा ध्यान दिनुपर्छ–

–    बालबालिकालाई कसैले अस्वाभाविक रुपमा एकान्तमा लैजान खोजेमा जान हुँदैन भनेर बुझाउनुपर्छ ।

–    नचिनेको मानिसले दिएको खाने कुरा खान हुँदैन भनेर बुझाउनुपर्छ ।

–    घरकै सदस्य वा जो कोहीले पनि यौनसम्बन्धी अङ्ग तथा छातीमा छोए वा समातेमा, पटकपटक माया गरेको बाहनामा म्वाई खाएमा बालबालिकालाई प्रतिकार गर्न र अभिभावकलाई त्यसबारे जानकारी दिनुपर्छ भनेर बुझाउनुपर्छ ।

–    बालबालिकालाई कसैले आफ्नो यौन सम्बन्धी अङ्ग छुन वा समाउन लगाएमा छुन हुँदैन भनेर बुझाउनुपर्छ ।

–    अश्लील, कुनै प्रकारकको शब्द बोेलेर, लेखेर, साङ्केतिक तरिकाले वा विद्युतीय माध्यबाट अश्लील चित्र देखाएमा तत्काल स्कुलका सर, मिस तथा घरमा अन्य सदस्यहरुलाई भन्नुपर्छ भनेर बुझाउनु पर्छ ।

–    बालबालिकालाई मात्रै नभएर जबरजस्ती करणी तथा हाडनाता करणी सम्बन्धमा किशोर छोराछोरीसँगै घरका सबै सदस्यलाई बर्जित कार्यको प्रतिकारका लागि सम्झाउन आवश्यक हुन्छ ।

कलिला नानीहरुलाई हेरचाह अनि माया गर्ने बहानामा हजुरबुबा, बुबा तथा आमा र बुबातिरका नजिकैका आफन्तबाट बढी सङ्ख्यामा करणीमा पर्ने गरेको प्रहरी प्रवक्ता एसएसपी कुँवर बताउँछन् । यस्ता हाडनाता करणीका उजुरी ग्रामीण भेगबाट भन्दा सहरी तथा सहरउन्मुख क्षेत्रबाट बढी आउने उनले सुनाए ।

आपराधिक मनोविज्ञान भएकाबाट यस्ता घटना

जबरजस्ती करणी होस् वा हाडनाता करणी प्रत्यक्ष रुपमा महिलासँग जोडिएको हुन्छ । यस्ता अपराधिक मनोविज्ञान भएका व्यक्तिले घरभित्रै मौकाको फाइदा उठाउने गरेको प्राध्यापक तथा अधिवक्ता सुरज बस्नेतको बुझाइ छ । पारिवारिक सदस्यमा भएको जबरजस्ती करणीका घटना बाहिर कम आउने हुँदा आपराधिक मनोविज्ञान भएका व्यक्ति हौसिने गरेको उनको बुझाइ छ ।  

मनोविश्लेषक बासु आचार्यका अनुसार हाडनाता करणी कसैले जबरजस्ती गर्छन् भने कसैले जबरजस्ती रुपमा स्वीकार गर्न बाध्य बनाएर गरेको पाइन्छ । नातासम्बन्ध, परिवार, इज्जतलाई बेवास्ता गर्दै करणीपछिको आनन्द बाहेक केही पनि नसोच्ने विकृत मनोविज्ञान भएका व्यक्ति यस्ता घटनामा संलग्न हुने मनोविद् आचार्य सुनाउँछन् ।

यस्तो मनोविज्ञान भएका व्यक्तिले यौनका लागि प्रस्ताव पनि गर्न सक्दैनन्, त्यसपछि नजिकैका साना नानीहरुलाई करणी गर्ने गरेको उनको बुझाइ छ । ‘कामावृत्त’ अर्थात् यौन घेरा बढ्न थालेपछि सामाजिक विषयवस्तुसँग लड्न र घुलमिल हुन सक्दैन् र त्यसपछि आफ्नै इच्छा पूरा गर्नतिर लाग्छन् भन्ने मनोविश्लेषक आचार्यको बुझाइ छ ।

अज्ञानताका कारण कतिपयले महिलालाई यौन सम्बन्ध राख्ने बस्तु सम्झने गरेको उनको भनाइ छ । उनी भन्छन्, ‘केही यस्ता प्रवृत्तिका मानिस पनि छन् कि जबरजस्ती करणी गर्न हुँदैन भन्ने थाहा छ, छोरी, आमा, दिदी बहिनीलाई स्वीकार्न बाध्य बनाएर घटना सार्वजनिक नभएका धेरै केस छन् होला ।’

घरभित्रकै सदस्य तथा नजिकैका आफन्तले जबरजस्ती करणी गरेमा वा बाध्य बनाएका कारण जिन्दगीदेखि हार खाएर वा यसबाट मुक्त कसरी हुने भन्दै परामर्शका लागि आइपुग्नेहरु धेरै रहेको उनले सुनाए ।

हाडनाता करणीमा यस्तो छ सजाय

मुलुकी अपराध संहिता २०७४ अनुसार जन्माउने आमाछोरा बीच वा बाबुछोरीका बीच करणी भएमा जन्मकैदको सजाय हुनेछ । यस्तै, सौतेनी आमाछोरा वा बाबुछोरी, सहोदर दिदीभाइ वा दाजुबहिनी, एकै हाँगाको ससुराबुहारी, एकै हाँगाको बाजेनातिनी वा पनातिनी, एकै हाँगाका जेठाजु र भाइबुहारी वा देवरभाउजूबीचको करणीमा चार वर्षदेखि दश वर्षसम्म कैद र चालीस हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना तोकिएको छ ।

यस्तै, एकै हाँगाको तीन पुस्तासम्मको बज्यैनाति वा पनाति, एकै हाँगाको ठूलोबाबु वा काकाभतिजी, एकै हाँगाको भतिजो र ठूली आमा वा काकी, एकै हाँगाको ससुरो भतिजीबुहारी, साख्यै मामाभाञ्जी वा भानिजमाइजु, आमातर्फका ठूली आमा वा सानी आमा र छोरा र आफ्नी श्रीमती तर्फकी सासू र ज्वाँइबीच करणी भएमा तीन वर्षदेखि ६ वर्षसम्म कैद र तीस हजार रुपैयाँदेखि साठी हजार रुपैयाँसम्म जरिवाना कानुनमा तोकिएको छ ।

यीबाहेक आफ्नो वंशका सात पुस्तासम्मका अन्य नातामा करणी भएमा हाँगो, नाता र पुस्तासमेत विचार गरी एक वर्षदेखि तीन वर्षसम्म कैद र दश हजार रुपैयाँदेखि तीस हजार रुपैयाँसम्म जरिवाना हुने करणी सम्बन्धी कसूरमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप