बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

शङ्खधर साख्वाःको ऐतिहासिक योगदान छ : प्रधानमन्त्री देउवा

शुक्रबार, १९ कात्तिक २०७८, १६ : ५७
शुक्रबार, १९ कात्तिक २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल संवतको प्रवर्तक राष्ट्रिय विभूति शङ्खधर साख्वाःको ऐतिहासिक योगदान रहेको बताएका छन् । साख्वाःले नेपालको मौलिक एवं राष्ट्रिय संवतको प्रचलन तथा गरिबी उन्मूलनको अभियान थालनी गरेबाट समाजमा शान्ति स्थापना, नेपाली जनताको स्वतन्त्रता र स्वाभिमान बढाउन गरेको योगदानले राष्ट्रको गौरव बढाएको उनले उल्लेख गरे ।

नेपाल संवत् ११४२ न्हुदँ राष्ट्रिय समारोह समितिद्वारा आज यहाँ आयोजित समारोहमा प्रधानमन्त्री देउवाले साख्वाःले ऋणमा डुबेका नेपाली जनतालाई ऋण र दासत्वबाट मुक्त गराई स्वाभिमान र स्वतन्त्रतापूर्वक बाँच्ने अवस्था सिर्जना गर्नुभएको बताए । राष्ट्रिय विभूति साख्वाःको अतुलनीय योगदानलाई जनस्तरमा प्रचार–प्रसार गर्ने र नेपाल संवतको ऐतिहासिकता, व्यवहारिकता एवं सांस्कृतिक महत्वका विविध पक्षबारे आम नागरिकलाई जानकारी गराउन जरुरी भएको उनको भनाइ थियो । 

प्रधानमन्त्री देउवाले साख्वाःको योगदान जनतासम्म पुग्ने मात्र होइन धार्मिक एवं सांस्कृतिक धरोहरको संरक्षण भई हाम्रा सांस्कृतिक परम्पराको महत्व पनि प्रष्ट हुने विश्वास व्यक्त गरे । नेपाल संवत् ११४२ न्हुदँको उपलक्ष्यमा साख्वाःको मानव सेवाभावप्रतिको भावनालाई उच्च सम्मानका साथ कदर गर्दै उहाँको अनुकरणीय योगदानलाई प्रचार प्रसार गरी स्वदेश तथा विदेशका नागरिक माझ पुर्याएर सकारात्मक सन्देशको प्रवाह गर्नुपर्नेमा देउवाले जोड दिए ।

यस कार्यमा क्रियाशील विभिन्न सामाजिक सङ्घसंस्थाका प्रतिनिधि, अभियानमा योगदान पुर्याउने व्यक्तित्वसहित समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा उनले सुख, शान्ति, समृद्धि र प्रगतिको शुभकामना व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप